• २०८१ बैशाख १३ बिहीबार

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई बचाउन लागिपरेका यी अन्तरिक्ष यात्री 

kharibot

मानिसले यो संसारमा थुप्रै आश्चर्यजनक काम गरिसकेको छ । आफ्नो बुद्धिले भ्याएसम्म मानिसले विभिन्न आविष्कारजन्य काम गरेको छ । कतिपय मानिसले गरेका यी कामको एकीन गर्नसमेत मुस्किल हुन्छ । इन्जिनियरिंगसँग सम्बन्धित थुप्रै अचम्म लाग्दा काम मानिसले गरेको छ।  अन्तरिक्षमा मानिसको घर बनाउने काम साँच्चै इन्जिनियरिंगको अचम्मको उपलब्धि हो । अन्तरिक्षमा बनाएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई मानिसको घरका रुपमा चिनिन्छ । यहाँ रहेर वैज्ञानिकहरुले विभिन्न अन्तरिक्षसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका छन् । पछिल्ला धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ ।  

सबैभन्दा बढी अन्तरिक्षमा हिँड्ने कीर्तिमान 

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा मुख्य गरी अमेरिका र रुसी अन्तरिक्ष संस्था मिलेर चलाउँछन् । यद्यपि यसमा जापान, बेलायत, फ्रान्स र क्यानडाजस्ता देशको पनि उल्लेखनीय सहभागिता रहेका छन् । यहाँ रहने अन्तरिक्षयात्री प्रायः अन्तरिक्षबाहिर पनि निस्किएर हिँड्छन् । उनीहरु धेरैपटक दूरबीन, सोलार प्यानल वा अन्तरिक्षको दोस्रो मेसिनमा आएका गडबडी र समस्याको निराकरण गर्छन् । डाक्टर माइकल फोल यिनैमध्येका एक अन्तरिक्ष यात्री हुन् जसको नाम सबैभन्दा धेरै स्पेसवाक गर्ने कीर्तिमान राख्ने अन्तरिक्षयात्रीका रुपमा चर्चित छ । उनी अन्तरिक्ष वैज्ञानिक हुन् । उनले अमेरिकी अन्तरिक्ष संस्था नासासँग धेरै वर्षसम्म काम गरेका छन् ।  

आठ घण्टाको स्पेसवाक 

माइकल फोलको नाम नै कीर्तिमान हो । उनी ६ पटक स्पेस मिसनमा गएका छन् । उनी अमेरिकी स्पेस शटलबाट पनि अन्तरिक्षमा गएका छन् भने रुसको सोयुज रकेटबाट पनि सवार भइसकेका छन् । डा. माइकल सोभियत संघको स्पेस स्टेसन मीरमा पनि बसिसकेका छन् । स्पेस स्टेसनमा रहँदा माइकल फोलले चारपटक स्पेसवाक गरे । उनले खुल्ला अन्तरिक्षमा करिब २३ घण्टा बताउने रेकर्ड बनाए । उनी रुस र अमेरिकी दुवै अन्तरिक्षयात्रीले पहिरिने स्पेसुट समेत पहिरिने व्यक्ति बनेका छन् । एक पटक अमेरिकाको स्पेस दूरबिन हबलमा समस्या आएको कारण र त्यसको कम्प्यूटर अपग्रेड गर्नका लागि फोलले ८ घण्टासम्म स्पेस वाक गरेका थिए ।

माइकलको सुझबुझ  

फोल आफ्नो रोचक समय सम्झिन्छन् । सन् १९९७ मा सोभियत संघको जमानाको स्पेस स्टेसन मीरमा उनी काम गरिरहेका थिए । रुसको सप्लाई रकेट आएर मीरसँग ठोक्कियो । सोही कारण मीरको सोलार प्यानल टुट्न पुग्यो । मीर स्टेसनको बत्ती पनि गयो । टक्कर डरलाग्दो थियो । मीर अन्तरिक्षमा तीव्रसँग घुम्न थाल्यो । त्यतिबेला फोलले दुई रुसी अन्तरिक्षयात्रीको मद्दतमा सोयुज रकेट तयार गरे ताकि हालत बिग्रियो भने उनीहरु त्यहाँबाट सकुशल फर्किन पाऊन् । त्यसपछि उनले मीरलाई ठूलो दुर्घटना हुनबाट जोगाए । माइकलको सुझबुझबाट मीर पुनः आफ्नो कक्षमा पुर्याइयो । उनले यसको मर्मतसम्भार गरे । यही कारण मीर त्यसपछिका कयौँ दिनसम्म काम गरिरहेको थियो । 

२० वर्ष पुरानो उक्त घटना सम्झिँदै माइकल भन्छन्, उनलाई दुर्घटनाका बेलासमेत डर लागेको थिएन । उनले त्यतिबेला १० सेकेन्डमै अब के गर्ने भन्ने सोचिसकेका थिए । आफ्नो सुझबुझबाट उनले केवल आफ्नो मात्रै ज्यान बचाएनन्, मीर स्टेसनलाई नै विनाशबाट जोगाए ।  

दुई दशकदेखि चलिरहेको छ इन्टरनेशनल स्टेसन 

२० वर्षपहिले एउटा स्पेस स्टेसन बचाउने डाक्टर फोल अब एउटा अर्को स्टेसन पनि बचाउन चाहन्छन् । त्यो भनेको आजको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् २००० देखि लगातार रुपमा काम गरिरहेको छ । सन् १९९८ मा जब यसलाई बनाउन सुरु गरिएको थियो, त्यतिबेला यसको खुबै विरोध भएको थियो । सोही कारण योजना गरिएभन्दा निकै पछि यसको काम चलिरहेको थियो । तर आज यो अन्तरिक्ष स्टेसनमा आफ्नो जिन्दगीको करिब दुई दशक बितिसकेको छ । यसमा रहेर मानिसले धेरै खोज गर्न सफल भएका छन् । त्यहीकारण पनि यसमा बनाउन लागेको १०० अर्ब डलर बेकार खर्च गरिएको हैन भन्ने प्रमाणित हुन्छ । यसले मानिस लामो समय अन्तरिक्षमा रहनसक्ने पनि प्रमाणित भएको छ भने विज्ञानका कैयौँ योजना समेत पूरा गर्न सकिएको छ । 

पृथ्वीमा नमिलेका मानिस पनि अन्तरिक्षमा मिलेर काम गरिरहेका छन् । यो स्टेसन रुस र अमेरिकाले मिलेर बनाएका हुन् । पछिल्लो दुई दशक यो साझा स्टेसनका रुपमा रहेको छ । 
तर अब दिनगन्ती सुरु

फोल यो स्पेस स्टेसनको कामको निगरानी गर्ने अन्तर्राष्ट्रिय आयोगका सदस्य समेत हुन् । उनी आजकल धेरै चिन्तित छन् । किनकि यो स्टेसनको अब दिनगन्ती सुरु भइसकेको छ । यसलाई सञ्चालन गर्ने नासा, रुस र युरोपेली अन्तरिक्ष आयोगले सन् २०२४ पछि यसलाई चलाउन खर्च नगर्ने बताएका छन् । यो भनेको अबको ६ वषृपछि दुनियाँकै सबैभन्दा महंगो अन्तरिक्ष योजना बन्द हुनेछ । त्यसपछि यसलाई रुसको प्रोग्रेस रकेटले धकेलेर प्रशान्त महासागरमा खसालिदिनेछ ।  फोलका अनुसार रुसले हरेक वर्ष यसको सर्भिस मोडलमा इन्धन भरिरहेको छ । ताकि समय आउनासाथ यसलाई बाहिर धकेल्नसकियोस् । फोल भन्छन्, यो एकदमै खराब योजना हो । पैसा, मिहिनेत र समयको बर्बादी गर्ने योजना हो यो । जसलाई अहिले नै रोक्नु आवश्यक छ । सबै देश मिलेर २०२४ पछि पनि अन्तरिक्ष स्टेसन चलाउनुपर्ने फोलको चाहना छ । 

देशहरुको एजेन्डा बदलियो 

समयक्रमसँगै देशहरुको अन्तरिक्ष मिसन नै बदलिन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नासा फेरि दोस्रो पटक चन्द्रमाको मिसनमा लागोस् । यसका लागि नासाले ध्यान दिनुपर्ने उनको भनाइ रहँदै आएको छ । यसको लागि चन्द्रमाको कक्षमा एउटा स्पेस स्टेसन बनाउने उनको संकेत छ । ताकि अन्तरिक्षयात्री पहिले यो स्टेसनमा जान सकून् । त्यसपछि उनीहरु चन्द्रमामा जान सकून् र त्यहाँ मानिस बस्ने ठेगान बनाउन सकून् ।  

युरोपेली अन्तरिक्ष एजेन्सी पनि यो मिसनमा अमेरिकाकै साथमा रहेको छ र रुस पनि यसमा सहमत भइसकेको छ । उता चीनले पनि चन्द्रमामा मिसन पठाउने योजनामा काम गरिरहेको छ । नासा र दोस्रो अन्तरिक्ष संस्थाहरु ऋब आफ्नो सारा पैसा नयाँ मिसनमा लगाउन चाहन्छन् । यसका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसन चलाउन पैसा खर्च नगरिने भएको हो । 

किन देशहरु स्पेस स्टेसनमा खर्च गर्दैनन् ? 

अब यदि अमेरिकी संसद्ले नासालाई अरु पैसा दिँदैनन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रकम खर्च गर्ने स्रोत नै हुँदैन । यसकै लागि भनेर नासाले आफ्नो दोस्रो योजना कटौती गर्न पनि सक्दैन । सोही कारण पनि अब आईएसएसमा खर्च नगरिने भएको हो । फोल भन्छन्, नासाले चन्द्रमा र मंगलग्रहमा पनि मिसन पठाउनुपर्छ । साथसाथै आईएसएसमा पनि अन्तरिक्षयात्री, खानपान र अन्य सामान पठाउनुपर्छ, तर यो अब सम्भव छैन । 

नासा छोडेपछि फोल अहिले निजी कम्पनीहरुसँग काम गरिरहेका छन् । फोल अब निजी कम्पनीहरुले खर्च गरेर भए पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन बचाउनुपर्ने बताउँछन् । अहिले पनि केही कम्पनीहरु आईएसएसमा आफ्नो प्रयोग गरिरहेका छन् । न्यानोरक्स नामको कम्पनी अहिले पनि आईएसएसमा काम गरिरहेको छ । 

आईएसएसको भविष्य कस्तो छ त ? 

यो स्टेसनबाट कैयौँ ससाना स्याटेलाइट पनि लन्च गरिसकिएको छ । यी स्याटेलाइटलाई स्पेस एक्स कम्पनीको ड्रागन रकेटको मद्दतबाट पठाइएको थियो । पैसा कमाउनको लागि रुसी स्पेस एजेन्सीले अन्य केहीलाई पनि स्टेसनमा शयर गराएको थियो । रुसले आईएसएसलाई स्पेस होटलमा परिवर्तन गर्न समेत सुझाव दिएको छ । अमेजन, स्पेसएक्स र भर्जिन ग्यालेक्टिक जस्ता केही यस्ता मिसन छन्, जुन निजी कम्पनीले अगाडि बढाइरहेका छन् । सोही कारण फोललाई आईएसएस जोगिने आशा जागेको छ । आईएसएसलाई बचाउन फोल एउटा वेबसाइट लन्च गर्नेवाला छन् । 

उनी सरकारमाथि यसलाई लिएर दबाब बनाउन चाहन्छन् । जसले गर्दा स्पेस स्टेसनको खर्च उठाउनसकियोस् । इन्जिनियरिंगको यो फाइदा आउँदो पुस्ताले समेत लिनसकोस् भन्ने उनको चाहना छ । 

बीबीसी हिन्दीबाट अनुदित ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै