• २०८१ बैशाख ७ शुक्रबार

अस्पतालले फरक समूहको रगत दिंदा दुवै मिर्गौला फेल

kharibot

नेपालगन्ज । भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुको दुवै मृगौलाले काम गर्न छोडेको छ ।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विपरित समूहको रगत चढाएकै कारण उनी जीवन मरणको दोसाँधमा छिन् । अहिले उनी आइसियू कक्षको एक नं. बेडमा छट्पटाई रहेकी छन् । ‘ओ पोजिटिभ’ रगत दिनुपर्नेमा भेरी अंचल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ‘बी पोजिटिभ’ समूहको रगत दिएपछि रुमाको दुवै मृगौलाले एकैसाथ काम गर्न छोडेको हो । 

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरि पेट दुख्न थालेको छ भने शरिरका अन्य भागमा पनि दुखाई भएको छ। ‘शुक्रबार बिहान देखि रुमाको स्वास्थ्य अवस्था झनै जटिल भएको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले भने।

‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिन प्रतिदिन जटिल बन्दै गएको छ,’ उनले भने। आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च अहिलेसम्म अस्पतालले नै ब्यहोरिरहेको छ।

यहाँ थप उपचार सम्भव नहुने भन्दै चिकित्सकले रिफर गर्ने तयारी गरेको छ । तर, केही आशा अझैँ बाँकी रहेकोले उनको शरिरको डाइग्नोसिस भइरहेको डा. आचार्यले बताए । रुमालाई काठमाडौँस्थित बीर अस्पतालमा रिफर गर्ने तयारी भइरहेको उनले बताए । 

अस्पतालका कर्मचारीको लापरवाहीले रुमाको स्वास्थ्य बिग्रिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकार गरेका छन् ।

चिकित्सकले दिएको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत रगत चढाउने भेरी अंचल अस्पतालका स्टाफ नर्स कल्पना विकलाई अस्पतालले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले जानकारी दिए।

डा. आचार्यले बिरामीले पाएको दुखको क्षतिपूर्ती भर्न नसकिए पनि बिरामीको निशुल्क उपचार अस्पताल प्रशासनले गर्ने बताए। ‘बिरामीको उपचार गरेर पूरानै अवस्थामा फर्काउन हामी हरसम्भव प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘बिरामीले पाएको दुख र उनको बिग्रेको स्वास्थ्यको क्षतिपूर्ती दिन नसके पनि उपचार अस्पतालले नै गर्ने छ।’

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीले स्वास्थ्य बिग्रिए पनि अस्पताल प्रशासनले उनका बाबु, आमालाई रुमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएको थिएन। गाइनालोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो भन्ने जानकारी नदिएको रुमाका बाबु राजुले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले पनि अहिलेसम्म घटना गोप्य राखेको बताए। उनले स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने आशाले घटनालाई गोप्य राखेको बताउँदै अब भने घटना लुकाउन नसकिने अवस्था आइसकेको बताए। ‘अहिलेसम्म घटना गोप्य राखेका थियौँ, अब गोप्य राख्न सक्ने अवस्था नै रहेन,’ डा. आचार्यले भने।

सुपरिटेन्डेन्ट सहितलाई कारवाही माग

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, बार बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी, शिक्षक प्रभु थारु लगायतको टोलीले रुमाको स्वास्थ्य अवस्था बुझेको छ। विपरित ग्रुपको रगत दिएकै कारण रुमाको दुबै मृगौला बिग्रिएको भन्ने सूचना पाएपछि आपूmहरु आएको बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरीले बताए।

उनीसहितको टोलीले बिहीवार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरेको छ। छलफलका क्रममा अस्पतालकै लापरवाहीले रुमाको दुवै मृगौलाले काम गर्न छोडेको निष्कर्ष निस्केको प्रमुख चौधरीले बताए।

रगत दिने ब्लड बैंकका कर्मचारी, बिरामीको शरिरमा रगत चढाउने स्टाफ नर्स, गाइनोलोजी विभागका प्रमुख, सुपरिटेन्डेन्टलाई कारवाही र बिरामीको निशुल्क उपचार तथा परिवारजनलाई क्षतिपूर्ती दिनुपर्ने माग गरेको उनले बताए। ‘बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेलाई हामीले कदापी उन्मुक्ति दिने पक्षमा छैनौँ,’ उनले भने, ‘कारवाही भएन भने हामी पछि हट्ने छैनौँ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै