• २०८१ बैशाख ११ मंगलबार

अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आयो – अध्यक्ष दाहाल

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रतिफलस्वरुप नै महिला, आदिवासी, जनजाती, अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा आउन सफल भएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नवनिर्वाचित प्रदेशसभाका समानुपातिकतर्फका सांसदलाई बधाई दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षको प्रतिफलस्वरुप नै राज्यको आँखा पुग्न नसकेको क्षेत्र तथा वर्ग अगाडि आएको बताए । 

राज्यको नजरमा नै नपरेका समुदाय अगाडि आउनु आफूहरुका लागि खुशीको कुरा भएको स्पष्ट पार्दै उनले नेपाली काँग्रेस तथा नेकपा एमालेका तर्फबाट सांसद भएकासमेत आफ्नै जस्तो लाग्ने उल्लेख गरे । 

उनले भने, ‘जनयुद्ध र जनआन्दोलनको पहलस्वरुप नै अल्पसंख्यक समुदाय राज्यको मूल प्रवाहमा जोडिन आएको छ । त्यो वर्ग तथा समुदाय नीति निर्माणका तहमा पुगेको छ । यसले नेपालको राजनीतिक, सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण स्थान राखेको छ ।’ 

संघर्षको स्वरुप बद्लिएको भए पनि अझै अल्पसंख्यक, महिला, जनजाति, आदिवासी समुदायलाई अधिकार दिलाउन बाँकी नै रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बदलिएको अवस्थामा प्रदेशसभा, संसद्मा विशिष्ठ भूमिका निर्वाह गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरे । 

अध्यक्ष दाहालले भने, ‘आज मलाइ प्रदेशसभाको सदस्यलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ, विशेष हर्ष र गर्भको महसुस भएको छ । हामीले परिकल्पना गरेको समावेशी लोकतन्त्र विस्तारै समृद्ध हुँदैछ ।’ 

राज्यले बेवास्था गरेका समुदाय राज्य सञ्चालनमा आउनु सुखद भएको उनको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसार्इंलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीमार्फत विजयी भएका ३५ प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै