• २०८१ बैशाख १३ बिहीबार

भित्री महानगरमा चारपाङ्ग्रेमाथिको प्रतिबन्धलाई स्थानीयको ‘पूर्ण सहयोग’ 

kharibot

काठमाडौं । काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौँ महानगरपालिकाका भित्री सडकमा चारपाङ्ग्रे सवारी प्रवेश निषेध गरिएको छ । यस कार्यलाई महानगरवासीले समेत राम्रो कामको थालनी भएको बताउँदै पूर्ण सहयोग गर्ने बताएका छन् । 

गत २ गतेदेखि भित्री सडकमा चारपांग्रे सवारीसाधनमाथि प्रतिबन्ध लगाइएको थियो । असनमा बसोवास गर्ने स्थानीय व्यापारी समेत रहेका सूर्य श्रेष्ठले ट्राफिक प्रहरीले ल्याएको यो काम एकदमै राम्रो भएको बताए । यसमा आफुहरु पूर्ण सहमत भएको उनी बताउँछन् । व्यस्त ठाउँमा चारपाङ्ग्रे सवारी साधन प्रवेशले धेरै जाम हुने गरेको कारण पनि श्रेष्ठजस्ता गरी खानेहरुका लागि चारपाङ्ग्रे सवारी प्रवेशमा लागेको रोकले उत्साहित बनाएको छ ।

व्यस्त ठाउँ असनमा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध कार्यक्रमलाई व्यवस्थित गर्नको लागि स्थानीयहरुले समेत ट्राफीक प्रहरीलाई सकेको सहयोग गर्ने बताएका छन् । भित्री सडकमा चारपांग्रेमाथि प्रतिबन्ध लगाइनुअघि ठमेलमा यस्तो गरिएको थियो ।

ठमेलमा लगाइएको प्रतिबन्धपछि सकारात्मक प्रतिक्रिया पाएपछि ट्राफिक र महानगरले व्यस्त चोकहरु पुग्ने महानगरका असन, इन्द्रचोक, महाबौद्ध जस्ता गल्लीहरुमा चारपांग्रे सवारीमाथि प्रतिबन्ध लगाएका हुन् ।  पैदल यात्रु कुन्तनदेवीले खरीबोटसँग कुरा गर्दै भनिन्, ‘चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाएसँगै सबैभन्दा धेरै पैदल यात्रुलाई सहज भएको छ ।’ 

त्यस्तै, स्थानीय व्यापारी रमा उप्रेती बिहान ७ बजेभन्दा अघि र पछि सामान ल्याउँदा आफूलाई कुनै अप्ठ्यारो नभएको बताउँछिन् । उता ट्राफीक प्रहरी उपरीक्षक डम्बर बहादुर बिक असन क्षेत्रमा धेरै जाम भएको र स्थानीय तथा पैदल यात्रुलाई असहज भएको र सहज वाताबरण ल्याउनको लागी आफुहरु लागि परिरहेको बताउँछन् । चारपाङ्ग्रे सवारीसाधन प्रवेश रोक्नको लागि भित्री सडकमा ट्राफिक संकेतका पोलहरु धमाधम गाड्ने काम भएको बताएका बिकले आफूहरुले गर्न लागेको काम सबैले राम्रो मानेको बताउँछन् ।

उनले चारपाङ्ग्रे सवारीसाधन चलाउन बानी परेकालाई व्यस्त बनाउन आफूहरु लागिपरेको बताए । त्यसको लागि पार्किङको लागि व्यवस्था गर्ने काम गर्न समेत लागिपरेको उनले बताए । आफूहरुले सुरु गरेको काममा सबैले साथ दिने र कार्यान्वयन भएरै छाड्ने उनको विश्वास छ । काठमाडौँ महानगर र ट्राफीक प्रहरीको सहकार्यमा माघ २ बाट कार्यान्वयनमा आएको चारपाङ्ग्रे सवारी साधन प्रवेश रोक्ने सूचनाहरु ट्राफिक प्रहरीले ट्राफिक संकेत सँगसँगै सञ्चारमाध्यमहरुबाट समेत सूचना प्रवाह गरिरहेको छ ।

चारपाङ्ग्रे सवारीसाधन पूर्ण निषेध हुने स्थानमध्ये महानगरका १७, १८ , १९, २२ , २४, २५ र २७ गरी  सात वडा रहेका छन् । जहाँ  भोटाहिटीबाट असन चोकसम्म दुईतर्फी, चारपाङ्ग्रे सवारी साधन एकतर्फी निषेध हुने स्थान नरदेवीबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म जान मात्र पाउने, टेङ्गलबाट बांगेमुढा हुँदै भेडासिङ्ग, इन्द्रचोकसम्म जान मात्र पाउने, क्षेत्रपाटीबाट ठहिटी हुँदै नघल बांङ्गेमुढा भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म मात्र जान पाउने र चारपाङ्ग्रे सवारीसाधन जान निषेध गरिएका स्थान इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट इन्द्रचोकबाट वंटुसम्म निषेध गरेको छ ।  

यदि कसैले नियमको उल्लङ्घन गरेमा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लाग्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै