• २०८१ बैशाख ६ बिहीबार

अमेरिकाले रोक्यो प्यालेस्टिनीलाई दिदै आएको सहयोग, लाखौँ मानिसलाई असर गर्ने

kharibot

वासिङ्टन (रासस/एएफपी) / संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो । 

अमेरिकाको यस्तो कदमले सङ्कटमा रहेका भनिएका लाखौँ मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन् । अमेरिकाले प्यालेस्टिनलाई सहयोग गरी आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने ६ करोड ५० लाख अमेरिकी डलर रोक्ने निर्णय गरिएको जनाएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिँइदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए । उनले प्यालेस्टिनीहरूले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा प्यालेस्टिनीलाई दिइँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने जानकारी दिएका थिए । 

उनको सोही प्रस्तावअनुसार अहिले यो रकम कटौतीको निर्णय आएको हो । आइतवार गरिइएको यस निर्णयपछि प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना पनि गरेका थिए । 

गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टिनीहरु सो निर्णयको विरुद्धमा आएका हुन् । राष्ट्रपति अब्बासले गत वर्षको अमेरिकाको सो निर्णयपछि नै अमेरिकाको कुनै पनि शान्ति योजनालाई आफूहरुले स्वीकार नगर्ने घोषणा गर्दै आएका हुन् । 

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाहरुले प्यालेस्टाइनी शरणार्थीहरूलाई सहायता गर्दै आएका छन् । ती संस्था तथा राष्ट्रसंघीय निकायहरुले पनि प्यालेस्टाइनी नागरिकहरुलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् । 

अब यो सहायता अमेरिकाले एकतर्फी रुपमा रोकेपछि ती कार्यक्रमहरुमा असर पर्ने बताइएको छ । यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट कुनै आधिकारिक धारणा भने आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै