काठमाडौँ । अफगानिस्तानले भारतसँग आफ्नो पहिलो टेस्ट क्रिकेट खेल्ने भएको छ ।
मंगलबार दुवै देशका क्रिकेट अधिकारीहरुको बैठकले आगामी जुन १४ देखि १८ सम्म भारतको बैंगलोरमा सो टेस्ट खेल हुने तय भएको हो । गत डिसेम्बरमा भारतले अफगानिस्तानको पहिलो टेस्टको आयोजना आफुले गर्ने बताएको थियो ।
आयरल्याण्डसँग गत जुनमा टेस्ट मान्यता पाएको अफगानिस्तानले एक बर्षपछि टेस्ट क्रिकेटमा डेभ्यु गर्ने भएको हो । टेस्ट खेल अघि एउटा वार्मअप खेल हुने बताइएको छ । तीन दिवसीय सो खेलको मिति पछि तय गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
द्वन्दमा रहेपनि अफगानिस्तानले क्रिकेटमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो एकदिवसीय विश्वकपमा २०१५ मा सहभागिता जनाएको अफगानिस्तान २०१९ को विश्वकपको पनि प्रबल दाबेदारको रुपमा देखिएको छ । गएको आइपिएलमा अफगानिस्तानबाट दुई खेलाडीले खेलेर निकै राम्रो प्रदर्शन गरेका थिए । रशिद खान र मोहमद नाबी गत आइपिएलका विशेष आकर्षण नै थिए ।
अफगानिस्तानले भारतको नयाँ दिल्ली र युएईमा आफ्नो प्रशिक्षण क्याम्प बनाएर क्रिकेटको प्रशिक्षण लिइरहेको छ । साथै भारतमा अर्को प्रशिक्षण केन्द्र बनाउने विषयमा पनि दुई देशबीच सहमति भएको बताइएको छ ।
यसअघि भारतसँग यस अघि पाकिस्तान, जिम्बाबे र बंगलादेशले टेस्टको डेभ्यु खेल खेलेका थिए ।