• २०८१ बैशाख ५ बुधबार

रियल म्याड्रिडमा ‘धोका’ भएको रोनाल्डोको ठहर, म्यान्चेस्टर युनाइटेड फर्किने चाहना !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किने चाहना व्यक्त गरेको स्पेनिस मिडियामा अहिले चर्चाको विषय बनेको छ । 

सोमबार स्पेनको पत्रिका एएसले आफ्नो पहिलो पृष्ठमा रोनाल्डोले रियल म्याड्रिडमा आफुलाई धोका भएको भन्दै युनाइटेडमा फर्किने चाहना आफ्ना साथीहरुसँग व्यक्त गरेको उल्लेख गरेको छ ।

२००३ देखि २००९ सम्म युनाइटेडमा खेलेका रोनाल्डोले म्यान्चेस्टर युनाइटेड अहिले पनि आफ्नो उत्तिकै मनपर्ने क्लब रहेको बेला बेलामा बताउदै आएका छन् ।

एएस पत्रिकाका अनुसार गएको च्याम्पियन्स लिग फाइनलमा युभेन्टसलाई ४-१ ले पराजित गर्दा रोनाल्डोले २ गोल गरेपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोको पारिश्रमिक बढाउने प्रतिबद्धता व्यक्त गरेको तर अहिलेसम्म नगरेकाले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ । रोनाल्डोले यसलाई आफुप्रति क्लबले धोका दिएको रुपमा हेरेको बताइएको छ । 
क्लबका अध्यक्ष पेरेजसँग यस विषयमा अहिलेसम्म कुनै कुरा नभएकाले पनि रोनाल्डोले रियल छोड्ने मन बनाएको पत्रिकाको दाबि रहेको छ । सार्वजनिक रुपमा रोनाल्डोले रियलमै बस्ने बताएपनि उनि निजी रुपमा म्यानचेस्टर फर्किन लागिरहेको पत्रिकाले दाबि गरेको छ । 

यस सिजन प्रदर्शन गर्न संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिडमा रोनाल्डोले अहिलेसम्म ४१८ खेलमा ४२२ गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडमा रोनाल्डोले २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

रोनाल्डोले रियल म्याड्रिडमा दुई ला लिगाको उपाधि, तीन च्याम्पियन्स लिग उपाधि र दुई स्पेनिस कपको उपाधि जितेका छन् । 

बार्सिलोनाका लियोनेल मेसीसँग बराबरी गर्दै ५ पटक बेलुन डो अर जितेका रोनाल्डोले अहिले रियलमा प्रतिसाता ३ लाख ६५ हजार पाउण्ड पारिश्रमिक पाउछन जुन मेसी र नेइमारले पाउने भन्दा कम हो ।

यता म्यानचेस्टर युनाइटेडमा भने जोसे मोरिन्होले मोर्चा सम्हाले पनि त्यति राम्रो प्रदर्शन भने गर्न सकिरहेको छैन । पाउल पोग्वा, लुकाकुजस्ता खेलाडीलाई ल्याउदा पनि प्रदर्शनमा सुधार नआएपछि युनाइटेड अहिले आर्सनलका एलेक्सिस सान्चेज, एथलेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यान, रियल म्याड्रिडकै ग्यारेथ बेललाई भित्राउने सोच बनाएको रिपोर्ट बाहिरिएको छ ।

केहि महिना अघि रोनाल्डोलाई युनाइटेडमा भित्राउने बारे म्यानेजर जोसे मोरिन्होले यो धेरै गाह्रो काम भएको प्रतिक्रिया दिएका थिए । बेलायती मिडियाले मोरिन्हो रियलमा हुदा रोनाल्डोसँगको सम्बन्ध राम्रो नभएको बताएका छन् । त्यति बेला दुवै पोर्चुगल कै भएपनि उनीहरुबीच रियल म्याड्रिडमा राम्रो सम्बन्ध नभएको रिपोर्ट आएका थिए ।

अहिले रोनाल्डो युनाइटेड आउने विषयमा मोरिन्हो बाधक हुनसक्ने भएपनि म्यान्चेस्टर युनाइटेडका प्रमुख कार्यकारी र सर एलेक्स फर्गुसनसँग अहिले पनि रोनाल्डोको राम्रो सम्बन्ध भएका कारण पनि रोनाल्डो युनाइटेड आउने कुरामा विस्वास गर्न सकिने आधार देखिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

केहि दिन देखि रोनाल्डोले रियल म्याड्रिड छोड्ने विषयमा अनेकौ रिपोर्ट स्पेनिस मिडियाले सार्वजनिक गरिरहेका छन् । रोनाल्डोलाई दिए नेइमारलाई ल्याउने, पैसा घटाएर आफुलाई बेच्न रोनाल्डोले क्लबलाई आग्रह गरेको जस्ता रिपोर्ट सार्वजनिक भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै