• २०८१ बैशाख १३ बिहीबार

आधुनिक प्रविधिले उत्पादन बढ्यो

kharibot

तस्बिर : Wikipedia

रत्ननगर / रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । 

विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउछन् । 

यो प्रविधि काठमाडौँबाट ल्याएर रत्ननगर महोत्सवको कृषि परिसरमा प्रदर्शन भइरहेको छ । पानीको तहमा मिल्ने गरी यन्त्र जडान हुन्छ । त्यो पानीको बहावले चक्का घुम्न थाल्छ । चक्कामा पंखा (पाटा) जडान भएको हुन्छ । त्यसले पानीलाई जोहो गरी पाइपको माध्यमबाट माथि फाल्न मद्दत गर्छ । 

मुख्य गरी विद्युत् सुविधा नभएका ठाउँका लागि उपयोगी उक्त प्रविधितर्फ पछिल्लो केही समयदेखि किसानको आकर्षण बढ्दै गएको छ । सरकारले अनुदान दिने गरेकाले किसानको लागत कम लाग्छ । दिनमा यसले २० हजारदेखि ४० हजार लिटरसम्म पानी तान्ने गर्छ । 

कृषिको अर्को नयाँ प्रविधि ट्रे अर्थात् थालीमा धानको बीउ हो । यहाँ थालीमा धानको बीउ उत्पादन गरेर प्रदर्शन गरिएको छ । त्यसतर्फ समेत किसान आकर्षित भएका छन् । यसले समय र लागतको समेत बचत हुन्छ । चितवनमा केही सहकारीले यसको सफल परीक्षण गरेका जिल्ला कृषि विकास कार्यालयका नायव प्राविधिक सहायक गोविन्दबहादुर मल्ल बताउछन् । 

रत्ननगरको विशेष कृषि परिसरमा प्रदर्शन गरिएकाले अन्य किसानलाई पनि सिक्न मद्दत गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । उनी भन्छन, 'आधुनिक प्राविधिको प्रयोगले लागत कम र उत्पादनमा वृद्धि हुन्छ ।” 

यस्तै, अग्र्यानिक च्याउको बीउ राख्नेदेखि उत्पादन गर्ने तरिकासमेत रत्ननगर महोत्सवमा सिकाइन्छ । आधुनिकखालको माछा पोखरी, लिंफ्ट र थोपा सिँचाइ, निःशुल्क माटो परीक्षण सेवासमेत यहाँ छ । नयाँ प्रविधिको पोली हाउस र नेट हाउस प्रविधिको प्रदर्शनी छ । 

रत्ननगर माटो परीक्षण प्रयोगशालाका प्रमुख जीवन पौडेल किसानलाई निःशुल्क माटो परीक्षणको सुविधासमेत रहेको बताउछन् । छुट्टै कक्षमा उत्पादिन सामग्रीको कृषि उपज प्रदर्शनी तथा दूधका परिकारको प्रदर्शनी महोत्सवका थप आकर्षण हुन् । 

चितवनको रत्ननगर कृषि र पर्यटनमा निर्भर छ । यहाँको कृषि उत्पादन धेरै जिल्लामा पुग्छ । त्यसैले चितवनमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिंँदै महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक राजाराम रेग्मी बताउछन् । 

महोत्सव माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावि क्षेत्रीय रंगशालामा चल्ने छ । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै