• २०८१ बैशाख ६ बिहीबार

ला लिगामा बार्सिलोनाको विजयी यात्रा कायमै, मेसीले बनाए नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ । गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीयडाडलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा २-० ले पछि परेको बार्सिलोनाले खेलमा कमब्याक गर्दै खेलमा जित हासिल गरेको थियो ।

सोसीयडाडका लागि विलियन जोसेले खेलको ११औ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता लिएका थिए भने ३४औ मिनेटमा जुआनमीले गोल गर्दै बार्सिलोनामाथि २-० को अग्रता लिएका थिए ।

तर खेलको ३९औ मिनेटमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । बार्सिलोनाका लागि दोस्रो र तेस्रो गोल लुइस स्वरेजले खेलको ५०औ र ७१औ मिनेटमा गरेका थिए भने चौथो गोल लिओनेल मेसीले ८५औ मिनेटमा फ्री किक मार्फत गरेका थिए ।

जितसँगै बार्सिलोना १९ खेलमा ५१ अंक सहित लिगको शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिड भन्दा ९ अंकले अगाडी छ भने १८ खेल खेलेको रियल म्याड्रिड भन्दा १९ अंकले अगाडी रहेको छ ।

मेसीको नयाँ रेकर्ड :

खेलको ८५औ मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरेका मेसीले नयाँ रेकर्ड बनाएका छन् । मेसी युरोपका लिगमा एकै क्लबका लागि धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले ला लिगामा ३६६ गोल गर्दै यस अघि बायर्न म्युनिखका जेर्ड मुलरको ३६५ गोलको रेकर्डलाई तोडेका हुन् । मुलरले सन् १९६४ देखि १९७९ सम्म १५ बर्ष बायर्नमा खेल्दै ४२७ खेलमा ३६५ गोल गर्दै सो रेकर्ड बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै