• २०८१ बैशाख ४ मंगलबार

महानगरको धूलो सोहोर्ने ‘ब्रूमर’ अझै तीन महिना नआउने 

kharibot

काठमाडौं । देशकै पहिलो महानगरलाई धूलोमुक्त पार्ने भनी महानगरले केही समयअघि चर्को हल्ला गरेर केही स्थानका चिल्ला सडक धुन थाल्दा साँच्चै अब उपत्यकाका सडक सफा हुने भयो भनेर मानिसहरु ढुक्क थिए । तर महानगरले लामो समयदेखि ल्याउने भनेर हल्ला गरेको सडकको धूलो सोहोर्ने ब्रुमर मेसिन आउन अझै तीन महिना लाग्ने भएको छ । 

धेरै पहिलेदेखि ल्याउने भनिएको धूलो सफा गर्ने ब्रुमर र ढल सफा गने जेट मेसिन आउन अझै जेठसम्म कुर्नुपर्ने काठमाडौँ महानगरका सहप्रवक्ता नमराज ढकालले खरीबोटलाई जानकारी दिए । उनले ब्रुमर र जेट मेसिन आएपछि आगामी जेठबाट महानगरको धूलो नियन्त्रण आउने दाबी गरेका हुन् ।   

महानगरले केही अघि पानीले पखाल्ने र धूलो उठाउने काम गरेको बताउँदै उनले मुख्य मुख्य ठाउँमा धूलो निकै कमी आएको उनको भनाइ थियो । उनले निजी क्षेत्रबाट पनि धूलो नियन्त्रणको लागि सहयोग भएको जानकारी दिए । 

काठमाडौँ महानगरको सफाइको लागि  पाँचवटा ब्रुमर र पाँचवटा जेट मेसिन महानगरले ल्याउनलागेको हो । जसमा जेट मेसिन तीन करोड ५० लाख र ब्रुमर मेसिन नौ करोडमा ल्याउन लागिएको ढकालले जानकारी दिए ।

उक्त कार्यका लागि सम्झौता हुनलागेको उनले बताए । त्यसको लागि दुई पटकसम्मको टेण्डर रद्द भएपछि तेस्रो पटक टेण्डर आह्वान गरिएको समेत ढकालले जानकारी दिए । त्यस्तै धूलो नियन्त्रणको लागि सडक तथा सडकपेटीहरु राम्रो हुनुपर्ने उनको भनाइ छ । 

मेलम्ची खानेपानी आयोजनाको पाइप पूरै नबिछ्याइसकेका कारण महानगरभित्रका धेरै ठाउँमा अझै पनि पिच भत्काउने र पाइप गाड्ने काम जारी छ । सोही कारण पनि सडक धूलाम्य हुँदा पैदलयात्रुको स्वास्थ्यमा धूलोले प्रतिकूल असर पारिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै