उत्तर अमेरिका । शनिबार बिहानै अमेरिकाको हवाई राज्यमा ब्यालिष्टिक मिसाइल आइरहेको गलत सन्देश राज्यका अधिकारीले दिएपछि अमेरिकी राज्य आतंकित बन्नपुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
हवाई राज्यका एक जना अधिकारीले भूलवश गलत बटन थिच्दा क्षेप्यास्त्र प्रहार भएको र केही बेरमै राज्यमा खस्ने हुँदा सुरक्षित स्थानमा आश्रय लिनु भन्ने चेतावनीसहितको अलार्म मोबाइलमा प्रवाह भएपछि मानिसहरुमा सन्त्रास छाएको थियो ।
पछि यो झूटो थाहा भएपछि मात्रैै मानिसहरुले लामो श्वास फेरेका थिए । हवाई राज्यका गभर्नर डेभिड इगेले यसका लागि माफी मागेका थिए । उनका अनुसार एक जना अधिकारीले मिसाइल अलार्म (चेतावनी)को बटन थिच्दा सम्पूर्ण राज्य ने आतंकित बनेको थियो ।
हवाई अमेरिकाको सैन्य आधारशिविर रहेको राज्य हो, जुन उत्तर कोरियाको पहिलो निशाना बन्न पनि सक्छ । सोही कारण हवाईमा मिसाइल प्रतिरोधप्रणाली जडान गरिनुका साथै अमेरिकाले विभिन्न प्रतिरोधात्मक परीक्षणहरुसमेत यही राज्यबाट गर्दै आएको छ ।
अमेरिकी सरकारले यसको पूर्ण जाँच गर्ने भएको छ । गलत बटन थिचिएसँगै मानिसहरुको मोबाइलमा सन्देश गएको थियो भने टेलिभिजन र रेडियो स्टेसनहरुले समेत मिसाइल आइरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन लगाएका थिए ।
सन्देश आएको २० मिनेटसम्म साँच्चै क्षेप्यास्त्र प्रहार गरिएको भए मानिसहरु लुक्ने समय थियो । सोही कारण मानिसहरु अतालिन पुगेका थिए ।
पछिल्ला दिनमा उत्तर कोरियाको मिसाइल परीक्षणले अमेरिकाको गुआम, हवाई जस्ता टापु राज्यलाई आतंकित बनाएको छ ।