• २०८१ बैशाख ७ शुक्रबार

लोकसेवालाई गुमराहमा राखेर आफ्नालाई जागिर खुवाउन षड्यन्त्र !

kharibot

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा आफन्तलाई जागिर खुवाउने चलखेल गरिएको पाइएको छ । स्रोतका अनुसार प्रज्ञा प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको आँखामा छारो हाल्दै यसअघिका परीक्षामा असफल भएर करारमा राखिएका कर्मचारीलाई नियुक्ति दिने षड्यन्त्र गरेको हो । 

प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं हालका सदस्यसचिव जीवेन्द्र देव गिरीका निकट सनत रेग्मीका भाञ्जा पर्ने त्यहाँ करारमा कार्यरत रञ्जन घिमिरेलाई जागिर खुवाउन चलखेल भइरहेको स्रोतले बतायो । अन्तर्वार्तामा धेरै नम्बर दिएर जागिर खुवाउने प्रपञ्च भएको हो । घिमिरे यसअघि प्रतिष्ठानभित्रको आवश्यक स्थायी कर्मचारीको लागि लिइएको परीक्षामा दुईपटक फेल भइसकेका छन् । फेल भएपछि करारमा जागिर नदिई अवकाश दिनुपर्नेमा त्यसो नगरी घिमिरेलाई हालका सदस्यसचिव गिरीले करार थप्दै राख्दै आएका थिए ।

उक्त परीक्षाको लागि सिलेबस (पाठ्यक्रम) बनाउन प्रतिष्ठानका तर्फबाट सहप्राध्यापक हेमनाथ पौडेललाई लगाएको थियो । सहप्राध्यापक पौडेल गिरीनिकटस्थ मानिन्छन् । लोकसेवा आयोगले समेत परीक्षाको पाठ्यक्रम तयार गर्ने काम समेत पाएका उनै पौडेललाई परीक्षाको कापी जाँच्ने काम समेत दिएको स्रोतको दाबी छ । यसरी संयोगवश एकै व्यक्तिले पाठ्यक्रम तयार गर्ने र कापी समेत जाँच्ने जिम्मेवारी पाउनुलाई समेत सेटिङका रुपमा हेरिएको छ । 

दुवै पदमा नाम निकाल्न सफल घिमिरे दुवै पदका लागि अन्तर्वार्तामा छनोट भइसकेका छन् । एक न एकतर्फ जागिर खुवाउने गरी अब घिमिरेलाई उच्च अंक दिएर जागिर खुवाउन लागिएको प्रज्ञानिकट स्रोतले दाबी गरेको हो । अन्तर्वार्तामा प्रतिष्ठानका सदस्यसचिव गिरी, प्राज्ञसभाका एक सदस्य, एक विज्ञ र लोकसेवा आयोगका प्रतिनिधि सदस्यको उपस्थिति हुन्छ । जुन भनेको प्रतिष्ठानकै कर्मचारीको हालीमुहाली हो र यसमा गिरीले घनिष्ट घिमिरेलाई जागिर खुवाउन सेटिंग मिलाइसकेको स्रोतको भनाइ छ । 

घिमिरे हाल कम्प्यूटर अपरेटरमा करारमा कार्यरत छन् । फेल भए पनि उनको म्याद थप्दै यसअघि उनलाई प्रतिष्ठानमै राखिँदै आएको थियो । उनको स्थानमा पदपूर्ति यसअघि नै भइसके पनि आफन्त भएकै कारण राखिँदै आएको छ । यो परीक्षामा आफू पनि परीक्षार्थी भए पनि घिमिरेले नै परीक्षाको पाठ्यक्रम बाँड्ने जिम्मेवारी पाएका थिए । सोही कारण पनि अन्य नाम निकालेकाहरु समेत आश्चर्यमा परेका छन् । 

प्रतिष्ठानले गत भदौ २२ गते एक जना नासु र दुई जना अधिकृतको लागि विज्ञापन गरेको थियो । सोहीअन्तर्गत प्रतिष्ठानले लोकसेवा आयोगसँगको समन्वयमा गत कात्तिक २६ र २७ गते अधिकृत तथा २९ र ३० गते नासुको परीक्षा लिएको थियो । त्यसमा घिमिरेले दुवै पदको परीक्षा दिएका थिए । गत पुस २० मा गोरखापत्रमा नतिजा प्रकाशित भएको थियो जसमा तीन पदको लागि ११ जनाले नाम निकालेका थिए । 

लोकसेवाले परीक्षा लिए पनि अन्तर्वार्तामा सम्बन्धित संस्थाले नाम निकालेकालाई अन्तर्वार्तामा ४० पूर्णांकमा अंक दिने अधिकार पाउनेछ । सोही आधारमा प्रतिष्ठानले घिमिरेलाई बढी अंक दिलाउने चलखेल गर्ने सम्भावना रहेको एक परीक्षार्थीले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै