• २०८१ बैशाख १२ बुधबार

राष्ट्रपति ट्रम्पले पोर्न स्टारसँगको सम्बन्ध लुकाउन पैसा दिएको दाबी 

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी नयाँ विवादमा परेका छन् । अमेरिकाबाट प्रकाशित हुने वाल स्ट्रिट जर्नलले राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्री (पोर्न स्टार) सँग सम्बन्ध राखेको समाचार प्रकाशित गरेर फेरी तरंगित बनाइदिएको छ । 

ट्रम्पले सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग सम्बन्ध कायम गरेको दाबी वाल स्ट्रीटले गरेको छ ।

सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार प्रकाशित गरेको छ । ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलको दाबी छ ।

कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । ट्रम्पको सन् २००५ मा मिलानियासँग विवाह भएको थियो । विवाहपछि पछि ट्रम्पले स्टेफानीसँग सम्बन्ध कायम गरेकाले मिलानियालाई धोका दिएको ट्रम्पमाथि आरोप लागेको छ । ट्रम्प र स्टेफानीबिच सन् २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

सन् २०१६ मा स्टेफानीले आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र तर ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ । चुनाव हुनुभन्दा झण्डै एक महिनाअघि मात्रै वकिल कोहेनले स्टेफानीसँग सहमति गरेको दाबी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै