• २०८१ बैशाख ८ शनिबार

ब्रेललिपिमा भविष्य कोर्दै चन्द्रा

kharibot

काठमाडौँ । पुष्पलाल मेमोरियल कलेजमा कक्षा १२ मा अध्ययनरत चन्द्रा कार्की ब्रेललिपिमा आफ्नो भविष्य खोजिरहेकी छिन् । जन्मजात दृष्टि गुमाएकी चन्द्रा ब्रेललिपिको सहारामा पढाइलाई निरन्तरता दिइरहेकी छिन् । रेडियोबाट प्रसारण हुने अपाङ्गता सम्बन्धी कार्यक्रम सुनेपछि मात्रै चन्द्रालाई आफू पनि पढ्न सक्ने जानकारी मिलेको हो ।  सोही कार्यक्रम नै चन्द्राको जिन्दगीको टर्निङ प्वाइन्ट बनेको उनी बताउँछिन् । भन्छिन्, ‘रेडियोबाट त्यो कार्यक्रम नसुनेको भए मैले पढ्न सक्छु भन्ने लाग्दैन थियो, आज म यो अवस्थासम्म आइपुग्ने नै थिइनँ ।’

उनको पढाइलाई यहाँसम्म आइपुग्न उनकी माइली दिदीले ठूलो सहयोग गरेकी छिन् । दिदीको साथ र सहयोग मिलेपछि चन्द्राले अध्ययनमा सफलता हात पार्दै गएकी छिन् । सुरुवाती समयदेखि नै उनको पढाइलाई अगाडि बढाउनको लागि उनकी दिदीले ठूलो सहयोग गरेकी छिन् । आफू अनपढ भए पनि आफ्नी बहिनीले पढे लेखे र ठूलो मान्छे बनेको हेर्र्ने दिदीको इच्छा बहिनीले पूरा गर्नेछिन् ।

भोजपुर, पात्लेपानी ४ मा जन्मिएकी चन्द्रा आमा, बाबुकी साइली छोरी हुन् । घरमा ४ दाजुभाइ र चार दिदी बहिनीमा चन्द्रा र उनकी कान्छी बहिनीमा पनि दृष्टिविहीनको समस्या छ । सानै उमेरमा बाबु गुमाएकी चन्द्राको पारिवारिक आर्थिक अवस्था दयनीय नै छ । घरमा कमाउने मान्छे कोही नभएको र दुई जना दिदीबहिनी दृष्टिविहीन भएकाले घरमा झन् समस्या थपिएको बताउँछिन् । चन्द्रा भन्छिन्, “आफ्नो खेतमा फलेको अन्नले छ महिना मात्र खान पुग्छ, बाँकी छ महिना टार्न ठूलो समस्या छ घरमा ।” दिदीको बिहे भइसकेको र भाइहरु सानै भएकाले घरमा झन् समस्या थपिएको छ ।

मनमा चिसो पस्छ

सानैदेखि आँखा देख्न नसक्ने चन्द्रालाई जब उनलाई आँखा देख्न सक्दिन भन्ने लाग्यो, त्यतिबेला धेरै मन रोयो । तर उपचार गर्दा ठीक हुन्छ भन्ने आशा पनि थियो । तर धेरै अस्पतालको जँचाइपछि जब उनको आँखा ठीक नहुने भन्ने निश्चित भयो, त्यो क्षण उनको जीवनकै दुःख लाग्दो भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अरुले आँखा दिँदा त ठीक हुन्छु भन्ने लागेको थियो तर आँखाको नशा सुक्दै गएको र रेटिनामा समस्या भएकाले लेन्सले काम नगर्ने थाहा पाएँ, धेरै नै दुःख लाग्यो ।’ अन्य साथीहरुसरह सँगै हाँस्दै, रमाउँदै जिन्दगी जिउने उनको रहर पूरा हुनसकेन ।
अब आँखा नै नदेख्ने भएपछि जिन्दगी जसोतसो चलाउनु बाध्यता बनेको उनी बताउँछिन् । कतिपय अवस्थामा आफन्त र साथीहरुले नराम्रो सोचिदिँदा उनलाई निराश बनाइदिन्छ । आफूलाई ‘अन्धी’ भनेको सुन्दा साह्रै दुःख लाग्ने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘आँखा नदेख्ने भन्दा वास्तै लाग्दैन जब अन्धा भन्छन् मनमा चिसो पस्छ ।’

आँखाले हैन मनले हेर्छिन् संसार

चन्द्रा हाम्रो समाजकी एक प्रतिनिधि पात्रमात्र हुन् । उनीजस्ता धेरै व्यक्तिहरु आँखाले हैन मनमस्तिष्कले संसार अवलोकन गरिरहेका छन् । चन्द्रा आँखा देख्न सक्दिनन् त के भयो, सानैदेखि आफ्ना सम्पूर्ण काम आफैँ गर्दै आइरहेकी छिन् । खाना पकाउने, लुगा धुनेदेखि घाँस काट्नेसम्मका सम्पूर्ण काम चन्द्रा आफैँ गर्नसक्छिन् । उनलाई लाग्छ इच्छाशक्ति नै साहस हो । उनलाई आफूले गर्न नसक्ने काम केही छ जस्तो लाग्दैन रे ! भन्छिन्, “सबै काम गर्नसक्छु, गर्दै पनि आएकी छु । मैले गर्न नसक्ने काम केही छ जस्तो नै लाग्दैन ।” आवाजले हरेक कुरा पत्ता लाग्ने उनको ठम्याइ छ । आफू जाने ठाउँ पत्ता लाउन नसकेर  उनी धेरै पटक कलेज भनेर मन्दिरमा छिरेकी छिन् । धेरै पटक हिँडेको बाटो पत्ता लगाउन समस्या नहुने तर भर्खर भर्खर हिँड्न थालेका नयाँ बाटो हिँड्दा झुक्किने गरेको उनलाई याद छ ।

कलेजमा नियमित जान्छिन्

चन्द्राले सानै उमेरदेखि आँखा देख्न नसके पनि हिम्मतका साथ आफ्नो अध्ययनलाई निरन्तरता दिँदै यहाँसम्म आइपुगेकी छिन् । यस चरणमा उनले २÷३ वटा स्कुल ÷कलेज पढिसकिन् तर आफूलाई केयर गर्ने शिक्षक उनले पुष्पलाल कलेजमा मात्र पाएको उनी बताउँछिन् । चन्द्रालाई पढाउने शिक्षक हरिशरण ढुङ्गाना भन्छन्, “एकदमै मिलनसार, प्रष्टवक्ता, कक्षामा नियमित रुपमा कक्षा १२ मा चन्द्रा हाजिर हुँदै आएकी छिन् ।’ उनको इच्छाशक्ति र निरन्तरताको प्रयत्नलाई देख्दा मानिसलाई हेर्नै धारणा नै परिवर्तन भएको शिक्षक ढुंगाना बताउँछन् । अरु विद्यार्थीलाई भन्दा असहाय विद्यार्थीहरुलाई सहयोग गरेको बताउने पुष्पलाल कलेजका डाइरेक्टर केदारराज पुडासैनी अपवादबाहेक दृष्टिविहीन विद्यार्थीहरु फेल नभएको बताउँछन् ।

जीवनको लक्ष्य

चाहेको काम सहज रुपमा गर्न नसक्दा दुःख लाग्ने गरेको बताउने चन्द्रा स्वयं पनि भविष्यमा शिक्षक बन्न चाहन्छिन् । अन्धकारलाई चिरेर उज्यालो छर्न शिक्षाले सहयोग गर्ने भएकाले आफूले भोलिका दिनमा शिक्षक बनेर सेवा गर्ने धोको पालेको उनी बताउँछिन् ।

अपिल

अरु आँखा देख्ने व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्दा उनलाई धेरै चित्त दुःखेको छ । लोकसेवा आयोग होस् वा अरु कुनै परीक्षा आँखा देख्ने र नदेख्ने दुवैलाई समान रुपमा लिइन्छ । जुन स्वतः आखा देख्नेले जित्छ । अनि आँखा नदेख्नेहरु पछाडि पर्छन् । त्यो आँखा नदेख्ने विद्यार्थीमाथि भएको ठूलो अन्याय हो । दृष्टिविहीनको दृष्टिविहीनसँग नै प्रतिस्पर्धा गराउन उनले आग्रह समेत गरेकी छिन् । भन्छिन्, ‘दृष्टिविहीनले अरुसँग हैन दृष्टिविहीनसँग नै प्रतिस्पर्धा गर्ने वातावरण हुनुपर्छ ।’ अझ थोरै आँखा देख्ने र आँखा देख्दै नदेख्नेको छुट्टै परीक्षा लिन समेत आग्रह गर्छिन् उनी । आफूजस्ता दृष्टिविहीनहरुको लागि सरकारले नै केही भरपर्दो सहयोग गरोस् भन्ने उनको चाहना छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै