• २०८१ बैशाख ७ शुक्रबार

चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

kharibot

नुवाकोट । चिसो बढेर त्रिशूली नदीको पानीको वहाव घटेपछि त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । 

वायुमण्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ । तापक्रमको दर निरन्तर घट्दै हिउँ पग्लेर बनेको त्रिशूलीमा पानीको सतहमा आएको गिरावटले केन्द्रको विद्युत् उत्पादन घटेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

पानीको वहाव कम हुँदा केन्द्रका सातमध्ये हाल पाँच मात्र टर्वाइन सञ्चालनमा छ । पुस शुरु भएसँगै बढेको चिसाले हिमताल तथा हिमाल पग्लने दर कम भएर त्रिशूलीमा पानीको मात्रा घटेकाले अघिल्लो साता केन्द्रको विद्युत् उत्पादन १८ मेवामा ओर्लिएको थियो । 

हिमनदी त्रिशूलीको वहाव माघ–फागुनमा कम हुने र चैतको न्यानो मौसम लागेसँगै वृद्धि हुने गरेको छ । अघिल्लो वर्षमा माघको अन्तिमदेखि फागुन पहिलो साता पानीको वहाव कम भएर विद्युत् उत्पादन १४ मेगावाटसम्म गिरावट हुने गरेकामा यस वर्ष पुस अन्तिम सातामा नै अघिल्लो वर्षभन्दा कममा उत्पादन झरेको हो । 

नदीमा पानीको वहाव कम भएपछि त्रिशूली केन्द्रको पानीको निकासबाट विद्युत् उत्पादन गर्दै आएको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन क्षमता ११ मेगावाट मात्र छ । देवीघाट केन्द्रको पूर्ण क्षमता १४ मेवाट हो । 

त्रिशूली केन्द्र प्रमुख भट्टका अनुसार अघिल्ला वर्षभन्दा यस वर्ष चिसो मौसम चाँडै आएको र तापक्रमसमेतमा निकै गिरावट भएकाले पानीको वहावमा भएको गिरावटले विद्युत् उत्पादन दर अझै घट्दै जाने देखिएको छ । त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रले वैशाखदेखि मंसिरसम्म उत्पादन क्षमतानुसार शतप्रतिशत विद्युत् उत्पादन दिँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै