• २०८१ बैशाख ६ बिहीबार

माघ २ बाट महानगरका भित्री सडकमा चारपाङ्ग्रे सवारीसाधन निषेध 

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १७, १८, १९, २२, २४, २५, र २७ वडामा माघ २ गतेबाट लागू हुने गरी चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा रोक लगाउने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगर र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान लागू गर्नलागेको सर्वसाधारणलाई जानकारी गराएका हुन् । 

भित्री सहर व्यवस्थित गर्न, अन्य संरचनाका साथै ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी माघ २ गतेबाट बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म व्यस्त सहरमा आकस्मिक सेवाका साधनबाहेक अन्य चार पाङ्ग्रे सवारीसाधनलाई भोटाहिटीबाट असन चोकसम्म दुईतर्फी पूर्ण निषेध गरिएको हो ।

यस्तै, चारपांग्रे सवारीसाधनहरु एकतर्फी रुपमा नरदेवीबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म मात्र जान पाउनेछन् । त्यसैगरी, टेङ्गलबाट बाङ्गेमुढा हुँदै भेडासिङ्ग, इन्द्रचोकसम्म जान पाउने, क्षेत्रपाटीबाट ठहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा मात्र जान पाउनेछन् । 

यस्तै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारीसाधन प्रवेशलाई निषेध गरिएको छ । नियम उल्लङ्घन गर्ने सवारी साधनलाई रु ५०० देखि एक हजारसम्म जरिवाना समेत तोकिएको छ । 

काठमाडौँ महानगरभित्रका १७, १८, १९, २२, २४, २५, र २७ वडा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक विश्वसम्पदाले भरिपूर्ण भएकाले यहाँको मौलिकता एवं पहिचानलाई जीवन्तता दिन र बाहिरी पर्यटकलाई यी सम्पदाहरुको अवलोकन गर्न आउँदा पर्ने अप्ठ्यारो तथा स्थानीय व्यापार गर्न तथा पैदलयात्रुलाई पर्न गएको असुविधालाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी तथा महानगरले यो अभियान ल्याएको हो । आकस्मिक अवस्थामा भने चारपाङ्ग्रे सवारीसाधन प्रवेश गर्न दिइनेछ । एम्बुलेन्स, दमकल, वृद्धवृद्धा तथा बालबालिकाको हकमा भने यो नियम लागू हुनेछैन । 

कार्यक्रममा महानगरका कार्यकारी प्रमुख धनीराम शर्माले महानगरको सांस्कृतीक एवं पुरातात्विक सम्पदाको संरक्षणको लागी चारपाङ्गे सवारीसाधन आगमनमा रोक लगाउन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रहरी निरीक्षक विदुर कुमार शर्माले भित्री सडकमा हिँड्ने पैदल यात्रुको असहजा हटाउन चारपाङ्गे सवारीसाधन प्रवेश हटाउन आवश्यक रहेको बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै