• २०८१ बैशाख ८ शनिबार

विमानस्थलमा ओलीका तीन निशाना :  डा.गोविन्द केसी, काँग्रेस महामन्त्री र निर्वाचन आयोग

kharibot

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै गर्दा व्यक्त गरेका विचारले अहिले सामाजिक सञ्जाल देखि मिडियासम्म तरंगित बनेका छन्  । 

विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले काँग्रेस महामन्त्री शशांक कोइराला, निर्वाचन आयोग र गोविन्द केसीप्रति पनि व्यंग्य गरेका छन् ।

डा गोविन्द केसीप्रति :

स्वास्थ्य परीक्षणका लागि बैंकक जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै ओलीले निर्वाचन आयोगलाई कानुनको विषयमा थाहा नभए गोविन्द केसीलाई सोध्नु भन्दै व्यंग्य गरे ।

ओलीले भने, ‘निर्वाचन आयोग सुनिन्छ, विभिन्न प्रकारका ब्ल्याकमेलिङको सिकारसमेत भको छ भन्ने, कति साँचो हो उहाँहरु जान्नुहोला अथवा यदि उहाँहरुलाई अब कानुनी कुरामा नै त्यसमा अप्ठ्यारो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले त धेरैवटा कुरा त फटाफट भनिराख्नु भको छ । केके भनेको हो त्यो अदालतले पनि त्यसमा अब बुझ्ला त्यो जाला ।’

निर्वाचन आयोगप्रति :

एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनमा देउवा सरकारले अलमल्याइरहेको पनि उल्लेख गरे । उनले भने, ‘नेपाल सानो देश भए पनि राजनीतिको परिवेशमा ठूला ठूला तरंगहरु आउने गरेको छ ।’

समानुपातिकतर्फको नतिजा आउन ढिलाई भएकोमा निर्वाचन आयोगप्रति कटाक्ष गर्दै उनले भने, ‘तपाईँहरु सबैलाई सम्झना होला नि ! प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भाको थियो । चुनाव भाको थियो जे का लागि त्यसलाई रोकेर राख्ने काम भएको छ । जनमतको अनादर गर्ने काम भएको छ ।’

उनले अहिलेको सरकार कामचलाउ भएको र उसले नगर्नु पर्ने काम गरेर सरकार गठनमा वाधा पुर्याएको पनि बताए । अर्को प्रसंगमा पार्टी एकता निकट भविष्यमै हुने भएकाले यसमा शंका नगर्न उनको आग्रह थियो । 

काँग्रेस महामन्त्री शशांकप्रति :

एमाले-माओवादी केन्द्रको पार्टी एकता भाँड्न केही व्यक्ति सक्रिय रहेको बताउँदै भने, ‘यसमा कतिपय खुरापाती विषयमा पिएचडी गरेका विद्वानहरु पनि लागेका छन् । पिएचडी जेमा पनि हुन्छ, खुरापातमा पनि हुन्छ । खुरापाती डाक्टरको बुद्धीले यसपल्ट घाम ताप्छ ।’

काँग्रेस महामन्त्री शशांक कोइरालाले मेलमिलाप दिवसको एक कार्यक्रममा पोखरामा बाम गठबन्धनलाई फुटाउनु पर्ने बताएका थिए । वाम गठबन्धन फुटाउनु काँग्रेसको मुख्य रणनिति हुने बताएका थिए । त्यसको जवाफ ओलीले आज विमानस्थलमा दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै