• २०८१ बैशाख १३ बिहीबार

बोर्डले नक्कली शेयर खरीद बिक्री प्रकरणमा दलाल कम्पनिलाई जरिवाना र कारवाही गर्यो  

kharibot

काठमाडौ । नेपाल धितोपत्र बोर्डले चिलिमे हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो  पावर कम्पनी र सानिमामाई हाईड्रो पावर कम्पनीको सेयर खरिदमा गलत कार्य गर्नेलाई कारवाही गरेको छ । 

बोर्डले चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डका अनुसन्धान अधिकारीबाट गोविन्द घिमिरेविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

साथै बोर्डको निर्णयले केही धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही  गरिएको जानकारी बोर्डले दिएको छ । 

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरीद बिक्री भएको सम्बन्धमा बोर्डको अनुसन्धान अधिकारीको प्रतिवेदन बमोजिम शेयर कारोबारको शिलशिलामा कुनै व्यक्ति वा संस्थासंग व्यवसायिक सम्बन्ध कायम गर्दा त्यस्तो ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सो विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो नगरेकोले देखिएको खुल्न आएको छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को बर्खिलाप कार्य भएबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको दफा ७फ को उपदफा (१) ले खण्ड (ख) को उल्लंघन गरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७फ. को खण्ड(ख) बमोजिम अग्रवाल सेक्युरिटिज प्रा.लि.लाई दस लाख जरिवाना गरिएको छ ।

यसैगरी नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डको तहकिकात अधिकारीको प्रतिवेदन अनुसार शेयर कारोबार गर्दा ग्राहकको स्पष्ट पहिचान कायम हुने गरी विवरण राख्नुपर्नेमा सो नराख्नुका साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन, सो अन्र्तगत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानून बमोजिम संस्थालाई तोकिएको कार्यहरु गर्नु गराउनु पर्नेमा सो नगरेको, ग्राहकको पहिचान यकिन गर्ने गराउने र अभिलेख दुरुस्त राख्न लगाउने कार्य नगरेको, सरल वा बृहद ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायतका सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो कार्य नगरेबाट सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को दफा ४, दफा १८ र दफा १९ को बर्खिलाप कार्य गरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७फ को खण्ड (ख) बमोजिम धितोपत्र दलाल व्यवसायी श्री हरि सेक्युरिटिज प्रा.लि.लाई दश लाख जरिवाना गरिएको छ । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखी उक्त व्यवस्थाहरुको पालना नगरेकोले धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज प्रा. लि. र अग्रवाल सेक्यूरिटिज प्रा.लि. लाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येक कम्पनीलाई पचास हजार जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ । धितोपत्र सम्बन्धी सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई रु. पचास हजार जरिवाना गरिएको छ ।

साथै सिप्रवी सेक्यूरिटिज प्रा.लि.तथा सोका सम्बन्धित कार्यकारी प्रमुखले यस्तो कारोवार सम्बन्धमा शुरुवाती जानकारी पार्ई यस घटनालाई उजागर गरी बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेतलाई दृष्टिगत गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपुर्याएकोले संस्थालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम रु. पचास हजार जरिवाना गर्नुका साथै धितोपत्र सम्बन्धि ऐनको उपदफा (४) बमोजिमको अवस्थाको पालनामा प्रयाप्त ध्यान नदिएकोले संस्थाका सम्बन्धित कार्यकारी प्रमुखलाई नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सचेत गराएको छ ।

बोर्डले हालसाल बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दे लगेको परिप्रक्ष्येमा सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत पहिलो कारवाही भएको छ । साथै  धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारवाहीलाई पनि सशक्त बनाउँदे लगिएको छ । यस्ता कारबाहीबाट सम्पत्ति शुद्धीकरण तथा धितोपत्र सम्बन्धी कसूरहरुको न्यूनिकरण भई दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने र बजारका सम्बद्ध पक्षहरुमा ऐन नियमको पालना तर्फ थप सजगता आउने बोर्डको अपेक्षा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै