• २०८१ बैशाख ८ शनिबार

पार्टी एकीकरणबारे कुनै शर्त र प्रस्ताव सार्वजनिकरुपमा नराख्न नेताहरुलाई ओलीको निर्देशन 

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकताका विषयमा सार्वजनिक रुपमा कुनै विचार व्यक्त नगर्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार साँझ आफ्नै निवासमा भएको पार्टीको स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । 

बैठकमा ओलीले आइतबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकतालाई गति दिने सम्बन्धमा भएको समझदारी र पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा ‘ब्रिफिङ’ गरेका थिए ।

ओलीले बैठकलाई सम्बोधन गर्दै भने – ‘दुवै पार्टीले अवलम्बन गर्दै आएका नीति र त्यसको सत्यता पुष्टि हुँदै गएको छ, त्यसकै आधारमा एकता हुने हो । पार्टी एकता नेतृत्व तहबाटै सुविचारित ढंगले अघि बढिरहेको हुनाले अनुमान गर्ने, आ–आफ्नै ढंगले प्रस्ताव अघि सार्ने, कसैले पनि पोजिसन (अडान) लिएर, यो हुनुपर्छ, त्यो हुनुपर्छ भन्दै छलफलै नभएका प्रस्ताव सार्ने कुराले एकतालाई सघाउ पुर्‍याउँदैन । त्यसैले तपाईंहरू सबै जिम्मेवार बन्नुस्, छलफलै नभएका विषयहरूलाई मनोगत आधारमा बाहिर लगेर एकता प्रक्रियामा असहजता पैदा गर्ने काम नगर्नुस् । हामी निर्णायक बिन्दुतर्फ अघि बढिरहेका छौँ । निकट भविष्यमै पार्टी एकता सम्पन्न हुन्छ, निश्चिन्त हुनुस्।‘

त्यस्तै बैठक पछि सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै पार्टीबीच निकट भविष्यमै एकीकरण भएर एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने कुराप्रति निश्चिन्त हुन, यस सम्बन्धमा विभिन्न ढंगले व्यक्त हुने कुनै पनि भ्रम, अफवाह या अनुमानबाट प्रभावित नहुन सिंगो पार्टीपंक्ति र आमनेपाली जनतालाई यो बैठक आह्वान गर्दछ,’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेस्र्याउने कुराले एकताको प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता टुंग्याउन मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले दुईवटा कार्यदल बनाउने तयारी भएको जानकारी गराएका थिए । दुवै पार्टीका नीति, सिद्धान्त र वैचारिक पक्ष मिलाउन र केन्द्रदेखि तल्लो कमिटीसम्म सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल बनाएर एकता संयोजन समितिले एकता प्रक्रियालाई गति दिने बैठकमा ओलीको भनाइ थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै