काठमाडौँ । डा. गोविन्द केसीले आफ्नो १४औ अनशन सुरु गरेका छन् ।
डा केसी सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध फेरि अनसनमा बसेका हुन् । डा. केसी सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर अनसनको घोषणा गरेका हुन् ।
‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले बताए ।
आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आक्रोसित डा. केसी चौधौं पटक अनसन बसेका हुन् ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेका गलत फैसलाको फेहरिस्त अगाडी राख्दै डा. केसीले प्रधानन्यायाधीश पराजुलीले मेडिकल माफियालाई सहयोग गरेको आरोप लगाएका छन् ।