• २०८१ बैशाख ७ शुक्रबार

महोत्तरीका कैदी बन्दी दुई दिनदेखि भोकै

kharibot

फाइल तस्विर

बर्दिवास ।  महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । 

कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो । 

बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आफुहरुलाई माथिल्लो तलामा सारिए पनि खाना पकाउने ठाउँ र सामग्रीको अभाव भएकाले दुई दिनदेखि भोकभोकै बस्नु परेको कारागारका चौकीदारसमेत रहेका कैदी श्रीनारायण महतोले बताए । 

जम्मा १३५ कैदी राख्ने क्षमताको सो कारागारमा अहिले महिला कक्षमा आश्रित दुई बालबालिकासहित ४२ र पुरुष कक्षमा ३६० सहित जम्मा ४०२ जना कैदी बन्दी छन् । भुइँ तल्लामा रहेका कैदी बन्दीलाई माथिल्लो तलामा लैजाँदा उभिने ठाउँसम्म पाउन पनि कठिन भएको महिला कैदी ललिता सिंहले बताइन् । 

भुइँ तलामा पानी जमेपछि कैदी बन्दीलाई शौचालय जानसमेत समस्या परको बताइएको छ । आफूहरु दुई दिनदेखि भोकभोकै रहँदा पनि कोही सोधखोज गर्न नआएको कैदी थुनुवाले गुनासो गरेका छन् । 

कारागारमा पसेको बाढीले कार्यालयका सबै अभिलेख भिजेर नष्ट भएको कारागार प्रशासनले जनाएको छ । बाढीले पु¥याएको क्षति र कैदी थुनुवाको अवस्थाबारे स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा जानकारी गराइएपनि अहिलेसम्म केही व्यवस्था हुन नसकेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए । 

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर–२ मा १४ वर्षीय किशोरको बाढीले बगाएर मृत्यु भएको छ । घरबाट पानी ल्याउन चापाकल भएको ठाउँमा जाँदै गर्दा भेलमा बगेर सो बस्तीका रामकुमार ठाकुरका छोरा १४ वर्षीय विक्की ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै