• २०८१ बैशाख ८ शनिबार

खोटाङको हलेसीमा भएको आगलागीबाट पाँच करोडको क्षति

kharibot

खोटाङ ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मंगलबार भएको आगलागीमा रु पाँच करोड एघार लाख १५ हजार क्षति भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसीबजारका व्यवसायी मगम राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । 

महादेव गुफाको दक्षिणी क्षेत्रमा साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले मगम राईको दुईवटा घर जल्दा रु ८० लाख, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर जल्दा रु एक÷एक करोड, जगदीश दासको होलसेल पसल जल्दा रु एक करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । 

प्रनाउ थापाका अनुसार आगलागीमा आंशिक रुपमा घर क्षति भएको प्रकाशचन्द्र गिरीको रु १५ लाख, रेगिन्द्र राईको रु एक लाख, गोविन्द राईको रु पाँच लाख, सरनसरी राईको रु पाँच लाख, सरनकुमार राईको रु एक लाख ५० हजार, महानन्द राईको रु एक लाख, कृष्ण राईको रु दुई लाख ५० हजार र कम्पराज राईको रु १५ हजार क्षति भएको हो । 

आगलागीबाट पूर्णरुपमा घर क्षति भएका पाँच पीडित परिवार अहिले आफन्त तथा सुरक्षाकर्मीले बनाई दिएको कटेरामा बसिरहेका छन् । चिसो मौसम भएकाले सुरक्षाकर्मीले बनाई दिएको कटेरामा बस्न समस्या भएको पीडित परिवारले बताएका छन् । 

आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । साँझको समयमा अचानक सल्किएको आगो इलाका प्रहरी कार्यालय हलेसी र स्थानीयवासीले करिब साँढे तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । 

आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको थियो । नगरपालिकामा दमकल नहुनु र पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन ढिलाइ भएकाले धेरै क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । 

अग्निपीडितलाई बुधबार घटनास्थलमै पुगेर विभिन्न संघसंस्थाले राहत उपलब्ध गराएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै