• २०८१ बैशाख ७ शुक्रबार

दुर्लभ मानिएको डङ्गर गिद्धले दुई बच्चा कोरल्यो

kharibot

फाइल तस्बिर

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमास्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डङ्गर गिद्धले अण्डा कोरल्न थालेका छन् । प्रजनन केन्द्रका गिद्धले यस मौसममा १७ वटा अण्डा पारेकामा दुई वटा अण्डा कोरलेर बच्चा निकालेको हो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले गिद्धको दुई वटा गुँडमा बच्चा देखिएको बताउनुभयो । गिद्ध रहेको ठाउँमा मानिस जान बन्देज गरिएको छ । त्यहाँ जडान गरिएको सिसी क्यामराबाट बच्चा देखिएको उहाँले बताउनुभयो । दुर्लभ मानिएको गिद्धको बच्चा कोरल्नुलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । 

गतवर्ष गिद्धले १५ वटा अण्डा पारेकामा नौ वटाबाट मात्रै बच्चा कोरलिएको थियो । तीमध्ये आठ वटा जीवितै छन् । । 

खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्धमध्ये २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिनुभयो । आठ वटा बच्चाको लिङ्ग पहिचान हुन सकेको छैन । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने खड्काले बताउनुभयो । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डिएनए परीक्षण गरी लिङ्ग पहिचान गरिँदै आएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डङ्गर गिद्ध संरक्षण गर्न थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छाडिने योजना छ ।  सन् २०१७ मा पाँच वटा, सन् २०१८ र २०१९ मा चार–चार वटा गरी १९ वटा गिद्ध प्रकृतिमा छाड्ने योजना बनाइए पनि सन् २०१७ मा छ वटा मात्रै प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाडिएका गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । 

अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाडिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गिद्ध प्रजनन केन्द्रमा गिद्धको बच्चा कोरल्नुलाई प्रजाति संरक्षणमा महत्वपूर्ण उपलब्धिका रुपमा आफूहरुले लिएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै