• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपिएफ

kharibot

फाइल तस्बिर

पोखरा । पोखरा रंगशालामा आज सम्पन्न ३१औँ पुरुष र २१औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफ क्लब विजयी भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा भएको पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनल खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २५–१२, २५–२३ र २५–१५ ले पराजित गरी प्रथम भएको हो । 

यस्तै, महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले मध्यमाञ्चललाई २५–१८, २५–१४, २५–१० ले पराजित गरी प्रथम भएको थियो । 

प्रतियोगिताको पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ नेपाल पुलिस क्लब तेस्रो भएका थिए । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले नगद रु ५० हजार, रु ३० हजार र रु २० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र महिलातर्फ एपिएफ क्लबकी सरस्वती चौधरी सर्वोत्कृष्ट भई नगद जनही रु २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । 

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले प्रतियोगितामा विजयी टिम र खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै पोखरामा खेलकुदका पूर्वाधार निर्माणमा आवश्यक पर्ने रकम उपलब्ध गराउने बताए । 

उनले मन्त्रालयले यस क्षेत्रको विकासमा मागेजति बजेट उपलब्ध गराउन तयार रहेको र त्यसको अनुगमन र रेखदेख भने राष्ट्रिय खेलकुद परिषद् र स्थानीय खेलकुद समितिले गर्नुपर्नेमा जोड दिए । 

राज्यमन्त्री चौधरीले सो अवसरमा यस क्षेत्रको खेलकुदको विकासमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरेका थिए । 

नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । गत पुस ११ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल पुलिस, नेपाल आर्मी र एपिएफ क्लबका टिमले भाग लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै