मुम्बई । बलिवुडमा सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ले भारतीय बक्स अफिसका रेकर्ड तोड्ने क्रम जारी रहेको छ ।
फिल्मले रिलिज भएको सातौ दिन विहिबारसम्म २०६ करोडको व्यापार गरेको छ । बलिवुडका फिल्म समिक्षक तरन आदर्शका अनुसार फिल्मले पहिलो दुई दिनमा ५० करोड, ३ तिनमा सय करोड, ४ दिनमा १५० करोड र ७ दिनमा २०० करोडभन्दा बढी व्यापार गरेको छ ।
साथै फिल्मले यसबर्ष रिलिज भएका सबै फिल्मलाई उछिनेको छ । यस अघि अजय देवगनको फिल्म गोलमाल अगेनले गरेको २०५ करोडको ब्यापारलाई पनि सातौ दिन सलमानको टाइगर जिन्दा हैले जितेको छ ।
भारतीय मिडियाका अनुसार ‘टाइगर जिन्दा है’ ले भारतमा मात्र होइन विदेशी बक्स अफिसमा पनि राम्रो कमाई गरेको उल्लेख गरेका छन् । विदेशमा पहिलो ६ दिनमा ७० करोड भन्दा बढीको व्यापार गरेको बताइएको छ ।
यस फिल्मले आफ्नो सेटेलाइट अधिकार ९५ करोडमा, डिजिटल अधिकार ४० करोडमा र फिल्मको म्युजिक अधिकार १५ करोडमा बिक्रि गरेर फिल्मको लागत उठाइसकेको बताइएको छ ।
भारतमा करिब ४६ सय प्रिन्टमा रिलिज भएको छ भने अधिकांश शो हाउस फुल चलिरहेको उल्लेख गरिएको छ ।
सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’मा लगभग ५ वर्षपछि सलमान खान र कट्रिना कैफको जोडीलाई देख्न सकिन्छ । निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले पनि धेरै रेकर्ड बनाइसकेको छ ।
आदर्शका अनुसार फिल्म १३० करोडको लगानीमा बनेको र फिल्मको प्रमोशनमा करिब २० करोड खर्च भएको छ । यसरी हेर्दा फिल्मको कुल खर्च १५० करोड रहेको बताइएको छ । यशराजको ब्यानरमा बनेको यस फिल्ममा सलमान र कट्रिनालाई एक्शन अवतारमा देख्न सकिन्छ ।