• २०८१ बैशाख ७ शुक्रबार

विवेकशील साझा पार्टीले छान्यो प्रदेश ३ का तीन सांसद्हरु 

kharibot

काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश सभातर्फ प्रदेश ३ मा तीन जनालाई समानुपातिकतर्फ सांसद चयनका लागि निर्वाचन आयोगलाई नाम बुझाएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले छानेका रमेश पौड्याल, शोभा शाक्य र विराज भक्त श्रेष्ठको नाम बिहीबार निर्वाचन आयोगमा पठाइएको पार्टीले जानकारी दिएको हो । 

प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्डअनुरुप रही समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौँथो ठुलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दै छ । यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख २४ हजार चार सय ४२ मत प्राप्त गरेको थियो । 

पार्टीले छानेकामध्ये रमेश पौड्याल सिन्धुपाल्चोकका हुन् । ३९ वर्षीय पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डसस्थित वागनिगन युनिभर्सिटीबाट विकास व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् ।

 त्यस्तै शोभा शाक्य ललितपुरकी हुन् । उनी गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् । यस्तै     विराज भक्त श्रेष्ठ काठमाडौंका हुन् । काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै