• २०८१ बैशाख ८ शनिबार

सलमान-कट्रिनाको ‘टाइगर जिन्दा है’ को बक्स अफिसमा रेकर्ड

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ ले भारतीय बक्स अफिसका कैयौ रेकर्ड तोडेको छ । 

रिलिजको तेस्रो दिन भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी ११४ करोड व्यापार गरेको ‘टाइगर जिन्दा है’ ले चौथो दिन ३६.५४ करोड व्यापार गरेको छ । बलिवुडका फिल्म समिक्षक तरन आदर्शले फिल्मले चार दिनमा १५१.४७ करोडको व्यापार गरेको जानकारी दिएका छन् ।

भारतीय मिडियाका अनुसार ‘टाइगर जिन्दा है’ ले भारतमा मात्र होइन विदेशी बक्स अफिसमा पनि राम्रो कमाई गरेको उल्लेख गरेका छन् । विदेशमा पहिलो तीन दिनमा ५० करोड व्यापार गरेको बताइएको छ । 

फिल्मले आफ्नो सेटेलाइट अधिकार ९५ करोडमा, डिजिटल अधिकार ४० करोडमा र फिल्मको म्युजिक अधिकार १५ करोडमा बिक्रि गरेर फिल्मको लागत उठाइसकेको बताइएको छ ।
भारतमा करिब ४६ सय प्रिन्टमा रिलिज भएको छ भने अधिकांश शो हाउस फुल चलिरहेको उल्लेख गरिएको छ । बलिवुडका फिल्म विश्लेषकहरुले सलमान खानको अहिलेसम्म धेरै ब्यापार गरेको फिल्म बजरंगी भाइजानको ३२४ करोडको रेकर्डलाई तोड्ने विस्वास गरिएको छ । 

सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा है’मा लगभग ५ वर्षपछि सलमान खान र कट्रिना कैफको जोडीलाई देख्न सकिन्छ । 
निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरले पनि धेरै रेकर्ड बनाइसकेको छ । 

आदर्शका अनुसार फिल्म १३० करोडको लगानीमा बनेको र फिल्मको प्रमोशनमा करिब २० करोड खर्च भएको छ । यसरी हेर्दा फिल्मको कुल खर्च १५० करोड रहेको बताइएको छ । यशराजको ब्यानरमा बनेको यस फिल्ममा सलमान र कट्रिनालाई एक्शन अवतारमा देख्न सकिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै