• २०८१ बैशाख ८ शनिबार

नयाँ सरकार बनाउन ओलीको कूटिलता र प्रचण्डको चतुर्‍याइँको अग्निपरीक्षा

kharibot

काठमाडौँ । आम चुनाव सकिएपछिको एक मात्रै चासो नयाँ सरकार छ अहिले समकालिन राजनीतिक बजारमा । सरकार वाम गठबन्धनले बनाउने गरी जनताले उनीहरुलाई स्पष्ट बहुमत पनि दिएका छन । 

तर वाम गठबन्धन वीचमा नै एकता र सहमतिको संभावना कमजोर भएकाले नयाँ सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्न नपाउने हुन की भन्ने आशंका र संभावनाको राजनीति पनि सतहमा नै देखिदैछ । केपी ओली वा माओवादी अध्यक्ष प्रचण्ड मध्ये प्रधानमन्त्रीमा को चम्केलान ? बहस दलीय तहमा जारी छ । तर संभवना सबैको समान झै पो देखिदैछ । 

ओलीको संभावना कति ?

चुनावी परिणाम आउदै गर्दा नयाँ सरकार ओलीको नेतृत्वमा बन्ने पक्कापक्की जस्तो भएको आँकलन गरियो । कारण वाम एकता मजबुत हुने लक्षण देखियो । एमाले स्पष्ट बहुमतमा जनताबाट स्वीकृत पनि भयो । एमालेले संस्थागत निर्णय नगरे पनि भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारियो । तर त्यो संभावनामा वाम पार्टी एकताका सकस बढेसंगै आशंकाहरु थपिएका छन ।

ओलीका लागि मुख्य तगारो अहिले प्रचण्ड नै हुन । किन भने जनताले तेस्रो हैसियतमा पुरयाएको माओवादी जता ढल्किन्छ, उतै भावी सरकार  गठनको पल्लाभारी हुने अवस्था छ । प्रचण्ड आफै एमाले र माओवादीवीच पार्टी एकता सम्पन्न गराएर छिटो छिटो एमाले अध्यक्षमा हालीमुहाली गर्न चाहन्छन । तर ओली पार्र्टी अध्यक्षदेखि प्रधानमन्त्रीमा आफै बाजी मार्न चाहन्छन । यसको लबिंग एमाले महासचिव ईश्वर पोखरेलले नै गरेपछि प्रचण्ड शसंकित भैसकेका छन ।

जनताको मत र पार्टीको चुनावी विजयका आलोकमा ओली प्रधानमन्त्रीका पहिलो दाबेदार भए पनि उनले एमाले माओवादीको पार्टी एकता र खासगरी आफ्ना काउन्टर पार्ट प्रचण्डलाई सही व्यवस्थापन गर्न नसके प्रधानमन्त्री हुन निकै धेरै माथापच्चिसी गर्नु पर्ने देखिन्छ । किन भने आफू कार्यकारी सरकार प्रमुखमा पुनः उदाउन लालायित ओलीले त्याग गर्न सक्ने आँट देखाएनन् भने पार्टी एकता संकटमा जान सक्छ । 

पार्टी एकता संकटमा जानु भनेको ओलीको सत्तारोहणको संभावना कमजोर हुनु नै हो । यसमा एमालेको मुख्य नेतृत्व हुनुका नाताले ओलीको त्यागी उदार भुमिका र योगदान कतिहदसम्म हुने भन्ने स्वयं ओलीको बोली, व्यवहार र ईमान्दारितामा निर्भर हुनेछ । ओलीले आम चुनावमा आफू पक्षधर धेरैलाई साँसद बनाएका कारण उनी एमालेभित्र नेता माधव नेपाल र झलनाथ खनालहरुको समुह भन्दा बलिया नै छन् । 

तर प्रचण्डहरुको समर्थन एमालेभित्रका माधव नेपाल र वामदेव गौतमहरुलाई छ । एमालेमा प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर नै अघि जानुपर्छ भन्ने ओलीकै समर्थकहरुको पनि जोड रहेको देखिन्छ । ओलीले प्रचण्डलाई भुमिकाबिहिन बनाउने र पार्टी एकतामा पनि जोड दिने कुटिल ओली नीति लिए भने ओली त सरकारमा जान र एकीकृत पार्टी बनाउन नै चुक्नुपर्ने अवस्था सामुन्नेमा नै छ ।

प्रचण्ड सरकार दोहोरियला ?

असंभव भनिएका वा भनिने सबै खेल राजनीतिमा संभव हुने ठानिन्छ । यस आधारमा भन्दा वाम एकता भएमा प्रधानमन्त्रीको दौडमा प्रचण्ड पछि नै छन । अघि त ओली नै छन । तर वाम एकतामा आफू भुमिकाहिन हुने अवस्था आएमा प्रचण्डको रुचि कमजोर हुने रणनीतिमा केन्द्रीत हुनेछैन । अहिले प्रचण्ड एमाले कब्जा गर्ने र ठूलो पार्टीको नेता हुनेमा रुचि बढाईरहेका छन । प्रधानमन्त्रीमा उनको रुचि कम छ ।

तर एमालेसँग पार्टी एकतामा पनि समस्या आउने र ओलीलाई निशर्त सरकार बनाउन दिने उदार नीति प्रचण्डको हुनेछ भन्ने भ्रममा कुनै ओली वा एमालेहरु छन भने त्यो उनीहरुले प्रचण्डलाई बुझ्न नसकेको अल्पवुद्धि ठहरिन सक्छ । प्रचण्डसँग आफूलाई शक्तिशाली बन्ने बाटो सहज छ । उनी गैर एमाले सरकारको सर्वसम्मत प्रधानमन्त्री प्रस्तावित हुन सक्छन । काँग्रेस सभापति शेरबहादुर देउवाले यस अघि नै प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भनि आएका खबरहरु अपुष्ट भए पनि मिथ्या भने होईनन् नै ।

प्रचण्डको शासकीय महत्वाकाँक्षा पुरा भएको छैन । तर पनि उनलाई सरकार भन्दा पार्टी एकता महत्वपूर्ण किन छ भने प्रचण्ड आफूले माओवादीको सदावहार अध्यक्ष हुदा पनि एमालेलाई जित्न र वाम दलको मुख्य हिस्सा बन्न नसकेकोमा पछुतो छ । प्रचण्ड अब माओवादीलाई ठूलो पार्टी बनाउने अभ्यासमा भन्दा ठूलो पार्टी एमाले नै आफै कब्जा गर्ने चतुर रणनितिमा छन् । यसका लागि ओली र ओलीका हार्डलाईनर समर्थक बाहेक अरु एमालेहरु पनि प्रचण्डको नेतृत्व मान्न तयार देखिएका छन् । जनादेशले पनि वाम गठन्धनलाई अनुमोदन गरेको भन्ने निष्कर्षमा ओली समुह बाहेकका एमाले नेता र कार्यकत्र्ताहरु एकमत छन भने माओवादीहरु त एकताका लागि खुट्टा उचालेर बसेका छन ।
यस परिस्थितिमा प्रचण्डले कुनै पनि जोखिम मोलेर एमाले कव्जा गर्ने रणनीतिमा जोड त दिने छन, तर आफू एमालेमा कमजोर शक्तिहीन हुने अवस्थामा काँग्रेस र राजपा नेपाल तथा

संघीय समाजवादीलाई साथमा लिएर आफै सत्ताको नेतृत्व लिने कसरत पनि अघि बढाउन सक्नेछन । ओलीले मधेशी दलहरुको साथ लिएर नयाँ सरकारको गठन अभ्यास थालेको खुलासा उनले हालै नवलपराशी भ्रमणमा गरिसकेका छन । 

यस अघि आफैले रचना गरेको ओलीसत्ता गिराउदा ओलीलाई ईगोसेन्टिक उपमा दिएका प्रचण्डको भित्री ईगो ओलीसंग मरेको नहुन सक्छ । उनले वाम एकता संकटमा परे जुनसुकै राजनीतिक वा गैर राजनीतिक कदम उठाएर ओलीको सत्तारोहण रोक्ने जोखिम उठाउन सक्छन । त्यस्तो प्रचण्ड रणनीति आएमा उनी आफै प्रधानमन्त्रीका दाबेदार बन्न असंभव छैन ।

शान्ति प्रक्रियाको बाँकी कामको पूर्णताका लागि प्रचण्डलाई या त आफ्नो एसम्यान सरकार प्रमुख चाहिन्छ, या त उनी आफै कार्यकारी भएर सत्तामा आसिन हुनैपर्छ । प्रचण्ड शक्तिहिन भएर बस्ने स्वभाव, चरित्र र धैयता भएका नेता थिएन्न, होईन्न र रहने छैन्न ।

वाह्य खेलको प्रभाव ?

वाम एकता उत्तरले गराएको र दक्षिणले नरुचाएको भन्ने अनुमान मात्रै होईन, प्रमाण नभेटिने भूधरातलीय राजनीतिक यथार्थ पनि हो । यस मानेमा ओलीलाई सत्तामा पुनरोदय गराउन उत्तरी खुफिया संस्थाहरु हात धोएर लागेकै छन् । प्रचण्डलाई वाम एकतामा चर्को दबाब पारेकै छन । तर आफू कमजोर हुने गरी माओवादी एमालेमा विलय भएको शैलीमा माओवादी वा प्रचण्ड उत्तरी रुचि पुरा गर्नैका लागि ओलीप्रति उदार र एकतामैत्री वा उत्तरी आदेश पालनाकर्ता नबन्न सक्छन् ।

दक्षिणका शक्ति केन्द्रहरुले ओलीको सत्तारोहण रोक्न खेल्ने भनेको प्रचण्डमाथि नै हो । प्रचण्ड आफूलाई उत्तर दक्षिण मिलाउन काविल नेता रहेको भ्रममा छन । तर उत्तर सधै प्रचण्डप्रति शसंकित छ भने दक्षिण प्रचण्डप्रति सधै आशावादी छ । त्यसैले ओलीलाई चुनावमा जित्न रोक्न नसकेको दक्षिणले अब प्रचण्डलाई उपयोग गरेर ओलीलाई सत्तारोहणबाट रोकेमा त्यो अनौठो नहुन सक्छ । पश्चिम र दक्षिणले बलियो चलखेल गरेमा पक्का छ सत्ताको दौडमा भारी हुने पालो प्रचण्डकै आउन सक्छ । 

मधेशी दल प्रचण्डका दाहिना ?

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका एक सदस्य अनिल झाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएर ओलीको सत्तारोहणमा मधेशी दल चुनौति र प्रचण्डका लागि दाहिना हुन सक्ने औल्याईसकेका छन । 

वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने अपुष्ट तर यथार्थपरक खबरहरुका माझ नवनिर्वाचित राजपा नेता झाको टिप्पणी एक साँकेतिक लक्षण हो, जसले दक्षिणी ईशारा के हो भन्ने बुझ्न सहजता थप्छ । पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे परस्पर विरोधी फरक फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको जति सत्य हो उति नै मधेशी दललाई सत्तामा खेल्न मैदान सहज भएको पनि यथार्थ नै हो । वामपन्थी गठबन्धन फुट्ने र फुटाउने प्रयास भैरहेका छन भन्ने आम चर्चा र राजपा नेपालका नेता झाको टिप्पणी हावा नचली पात हल्लिएको भन्ने अवस्था होईन नै । 

एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुने र त्यो खाले संभावित प्रचण्ड कदममा उनलाई ओलीलाई भन्दा सजिलो हुने पक्का छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने जस्तै विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहने वा टुट्ने गरेको छ । तर झाकै शव्दमा यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासी, जनजाति, दलित, समावेशी र संघीयताको निम्ति प्रचण्ड नै उदार नेता हुन । प्रचण्डलाई नै राजपाले सहयोग गर्नुपर्छ भन्ने झा अभिव्यक्ति ओलीका लागि मुखैको तगारो हो ।

राजपाका अन्य नेताहरुले झाले झै मुख खोलीसकेका छैनन् भावी सत्तासमीकरणका लागि । तर सत्तामा जाने मौकामा उनीहरु प्रचण्डसँग सहकार्य गर्न रुचि नै राखेको देखिन्छ । 
उता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको सहयोग पनि ओली र प्रचण्ड मध्ये रोज्नु परेमा प्रचण्डतिरै बढी झुकाव हुने पक्का प्रायः छ । किन भने मुद्धा, विचार र व्यक्तिगत संवन्ध सबै हिसाबले यादव र प्रचण्ड वैरी होईनन्, तर एमाले वा ओली र यादववीच मतान्तरहरु प्रशस्त छन । संविधान संसोधनको अपुरो मधेशी मागका हिमायती हुन प्रचण्ड भने कडा आलोचक हुन ओली ।

एकातिर वामगठबन्धन टुट्ने सम्भावनाबारे बजारियादेखि एमाले माओवादीभित्रै बहस सुरु हुनु र अर्कोतिर यही शनिवार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीबीच सत्ताकेन्द्रीत भेटवार्ता हुनु मधेशी दललाई रिझाउन ओली दौड सुरु भएको अर्थमा त प्रचण्डले नै नवलपरासीमा व्याख्या गरिसकेका छन । ओली यादव भेटमा ओलीले आफ्नो नेतृत्वको भावी सरकारमा समर्थन खोजेको फोरम नेपालको बुझाइ रहे पनि विगतमा एमालेले अस्वीकार गर्दै आएका कतिपय विषय यादव र उनका दलका लागि एमालेसंगको संभावित सत्ता सहकार्यका लागि चुनौति नै छन । 

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ प्रदेश निर्माण र प्रदेश सीमाङ्कन हेरफेर गर्न सकिने गरी संविधान संशोधन गर्न तयार हुने शक्तिसँग सहकार्य गर्न र सरकारमा सहभागी हुन हामी तयार छौं भनेर ओलीका तुलनामा प्रचण्ड उनीहरुका लागि सहज सत्तायात्री बन्ने खुलासा गरिसकेका छन । 

कुटीलता जित्ला की चतुरयाई ?

खरो बोली ओलीको पहिचान हो । अवसरवादी चतुरयाई प्रचण्डको परिचय हो । वाम वाम मिलेर समाजवादको व्यानरमुनी सत्ताको हालीमुहाली चलाउन उनीहरुले बनाएको गठबन्धन सत्ताका लागि मौका हो । तर चुनावअघिको राजनीतिसम्म एक अर्काका जानी दुश्मन रहेका कुटील ओली र अवसरवादी चतुर प्रचण्ड भावी सत्तासमीकरणमा एकले अर्कालाई निषेध वा सिध्याउने तहसम्म ओलि एभने वाम सरकार अतृप्त तृष्णा बन्ने खतरा छ । तर ओली र प्रचण्ड नै मनैदखि मिलिहाले भने उनीहरुको सत्ता साईनोको जुईनो त कसिन्छ नै काँग्रेसले भने जस्तै वाम सर्वसत्तावाद नआए पनि वाम सरकारको चुरीफरी बढ्ने नै छ । तर प्रचण्ड ओलीको मिलाप कति अस्थायी वा स्थायी हुने यसैमा उनीहरुको सत्तायात्रा निर्भर हुनेछ । 

जीत ओलीको कुटिलताको होस की प्रचण्डको चतुरयाईको, जनताका लागि भने खासै चासो होईन, तर सरकार छिटो बनोस, दीगो बनोस भन्ने नै जनचाहना हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै