• २०८१ बैशाख ७ शुक्रबार

रौतहट पुरै जलमग्न, बकैया नदीनै गाउँ पस्दा सयौँ घर डुवानमा

kharibot

तस्विर : खरीबोट

गौर ।  तीन दिनदेखि अविरल वर्षाबाट रौतहटको बकैया नदीमा आएको बाढी गाउँ पसेपछि सयौँ घरका बासिन्दा विस्थापित भएका छन् । 

देवाही गुनाही गाउँपालिकाअन्तर्गत रहेको साविक देवाही गाविस–८ र ९ का टोलमा बकैया नदीको तटबन्ध भत्काएर गाउँ पसेको हो । बकैया नदीले बाँध कटान गरेपछि देवाही गाविस–८ का करिब एकसय भन्दा बढी घर डुबानमा परेको स्थानीय शेख फुलबाबुले बताए । 

त्यसैगरी, सोही नदीले करुनिया गाविस–४ मा बाँध फुटाएर बाढी गाउँमा पसेको छ । सो गाउँमा पनि सयभन्दा बढी घर डुबानमा परेको फुलबाबुले जानकारी दिनुभयो । उक्त ठाउँमा अहिले उद्धारका लागि प्रहरी पुगेको छ । 

वर्षाको पानीले जिल्लाको पूुर्वीभेग – मत्सरी, सरुअठा, मलहनिया, समनपुुर, पश्चिमी भेगका देवाही, करुनिया, जिंगडवा, मर्यादपुर, इनरवा, मटिअर्वा, कटहरिया, कर्कच कर्मैया, भसेढवा, बडका बडेरवा, फतुुआ, हर्षाहा, लक्षमिनिया, शीतलपुर, बरगिनियालगायत चारदर्जन भन्दा बढी गाँउ डुुबानमा परेका छन् । 

अविरल पानी पर्दा बाढीले सदरमुकाम गौर, झुन्खुन्वा राजदेवी, बेलबिछवा, ब्रहमपुरी, बडहर्वा, वसतपुरलगायतका गाउँ डुबेको राष्ट्रिय जनता पार्टीका महासचिव अजय गुप्ताले जानकारी दिए । 

पानीको बाढीले गरुडाको झाँझपुल नजिकै दुुईवटा विद्युुतको पोल ढलेपछि दक्षिणी भेगमा विद्युत सेवासमेत अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले अविरल पानीले जिल्ला पुरै डुबानमा परेको तर हालसम्म मानवीय क्षति भने नभएको जानकारी दिए । 

जिल्लाको बकैया नदीको बहाब बढ्दै गएका कारण सो क्षेत्रका बासिन्दालाई सुरक्षितस्थलतर्फ लैजाने काम भइरहेको उनले बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै