• २०८१ बैशाख ७ शुक्रबार

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो

kharibot

फाइल तस्विर

इटहरी ।  कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । 

अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए । 

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । 

पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिए । यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । 

उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन ।  यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । 

यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ । इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ । 

अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै