• २०८१ बैशाख ७ शुक्रबार

अर्को ग्रहमा जीवनको खोजी गर्दै नासा, आगामी नयाँ दुई मिसनको गन्तव्य तय 

kharibot

आर्टिष्ट कन्सेप्ट : नासाले शनिको उपग्रह टिटानमा ड्रोनजस्तै स्पेसक्राफ्टहरु धेरै क्षेत्रमा उडाएर जीवनको अनुकूलताको खोजी गर्ने जनाएको छ । तस्बिर : नासा

अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले अन्तरिक्ष अनुसन्धानलाई झन् तीव्र पार्ने भएको छ । यसअघि नासाको क्यासिनी उपग्रहले शनिग्रहसम्म पुगेर विश्राम लिएको थियो । उक्त मिसनबाट हौसिएको नासाले आगामी दिनमा दुईवटा नयाँ अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको हो । 

नासाले आफ्नो अर्को सोलार सिष्टम मिसनलाई अझ परिष्कृत पार्ने भएको छ । यो पहिलेका प्रोजेक्टभन्दा महत्वपूर्ण र अनुसन्धान गहिराइसम्म पुग्ने गरी हुने बताइएको छ । नासाको अर्को मिसन यसअघि यसको स्पेसक्राफ्ट पुगेको ग्रहमै जाने तय गरिएको हो ।

नासाले अर्को मिसन कहाँ जाने र के गर्ने भनी योजना तर्जुमाका क्रममा दुईवटा गन्तव्यको पहिचान गरेको छ । जसअनुसार नासाका वैज्ञानिकहरुले शनिग्रहको चन्द्रमा टिटान अथवा पुच्छ्रेतारा ६७पी/चुर्युमोभ–जेरासिमेनकोलाई अब सुरु गरिने मिसनको गन्तव्य बनाउने भएका हुन् । यो घोषणा बुधबारमात्रै प्रेस टेलिकन्फरेन्समार्फत गरिएको हो । 

यस मिसनलाई ड्रागनफ्लाइ मिसन अर्थात् झिंगा/पुतली मिसन भनिएको छ । 

कस्तो मिसन हो ड्रागनफ्लाई ? 

यो मिसनअन्तर्गत नासाले ड्रोनजस्तै यान शनिको ठूलो चन्द्रमा प्रक्षेपण गरिनेछ । नासाका अनुसार यो प्रक्षेपण सन् २०२५ मा गरिनेछ । उक्त यान सन् २०३४ मा शनि (स्याटुर्न)को चन्द्रमा टिटानमा अवतरण गर्नेछ । नासाको क्यासिनी हुयेजेन्स मिसनले यसअघि नै शनिको चन्द्रमा टिटानमा तरल अवस्थामा रहेका इथेन र मिथेनको नदी र तालहरु रहेको देखाइसकेको छ । वैज्ञानिकहरुले टिटानको उक्त वातावरणमा जीवनको कत्तिको सम्भावना रहेको वा नरहेकोबारे विस्तृतमा अनुसन्धान गर्नेछन् । 

लाउरेलमा रहेको जोन होप्किन्स अप्लाइड फिजिक्स ल्याब्रोटरीकी नेतृत्वकर्ता अन्वेषक एलिजावेथ टर्टलका अनुसार वैज्ञानिकहरुले त्यहाँ प्रिबायोटिक केमिष्ट्री (जीवनसम्बन्धी अनुकूलता)को अध्ययन गर्नेछन् । 

अर्को गन्तव्य कोमेट 

  • कोमेटको स्पर्श  ! कोमेट एष्ट्रोबायोलजी एक्स्प्लोरेस स्याम्पल रिटर्न (सीएईएसएआर) मिसनले कोमेटबाट पृथ्वीमा नमूना संकलन गरी पठाउने सम्भावना बढेको छ । 

टिटानबाहेक नासाका वैज्ञानिकहरुले कोमेटलाई समेत अर्को गन्तव्य छानेका छन् । जसलाई उनीहरुले कोमेट एष्ट्रोबायोलजी एक्सप्लोरेसन स्याम्पल रिटर्न (सीएईएसएआर) मिसन भनेका छन् । यसमै जाने तय भए उनीहरुको यो मिसन सन् २०२५ को अन्त्यतिर उक्त कोमेटमा पुग्ने गरी स्पेसक्राफ्ट प्रक्षेपण गर्नेछन् । उक्त कोमेट ६७पीको सतहबाट एक सय ग्राम नमूना संकलन गरिनेछ र यो सन् २०३८ सम्ममा पृथ्वीमा फर्किनेछ । यसको नक्सांकन रोसेटा एयरक्राफ्टले गरेको थियो । कोर्नेल युनिभर्सिटीका अन्वेषक स्टेभेन स्क्वेयर्सले रोसेटाको म्यापिंग कार्यले नाटकीय रुपमा उक्त कोमेटमा गएर यसका टुक्रा संकलन गर्न सकिने खुलाए । 

सन् २०१९ बाट फन्डिंग सुरु हुने 

नासाले दुवै प्रोजेक्टका लागि फन्डिंग (कोष सञ्चालन) सुरु गर्ने भएको छ । यस्तो कोष सन् २०१९ को जुलाईदेखि सुरु हुनेछ । यसबाहेक नासाले अन्य दुई मिसन पनि सञ्चालन गर्नेछ । शनिकै अर्को चन्द्रमा एन्सेलाडुसमा जीवनको संकेतको खोजी रहेको एउटा मिसन र अर्को मिसन भने पृथ्वीको नजिकको ग्रह शुक्रमा अवतरण गर्ने हो । तर यी दुवैका लागि कस्तो प्रविधि र कति खर्च लाग्ने र यसको तयारी कसरी गर्ने भन्नेमा भने नासाको सामु चुनौती रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै