• २०८१ बैशाख ६ बिहीबार

पञ्चेश्वरको गाँठो फुक्छ  र हिउँदमा पनि लोडसेडिङ्ग हुँदैन—राजदूत उपाध्याय

kharibot

राजदुत दीपकुमार उपाध्याय

काठमाडौं। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने खुलासा गरे । 

‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतको सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पु¥याउने मुख्य एजेण्डा बनेको छ,’ राजदूत उपाध्यायले भने,‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रुप दिने गरी कुराकानी हुन्छ ।’ नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा भएका सम्झौताको कार्यान्वयनलाई प्राथमिकतामा राखेर गम्भीर छलफलको एजेण्डा तय भएको बताए । प्रधानमन्त्री देउवाले सम्झौता कार्यान्वयनका लागि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अधिकारीहरूसँग प्रष्ट कुरा राख्ने उपाध्यायको भनाई थियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका समझदारीको पालना र कार्यान्वयन किन भएन भनेर प्रश्न गर्नुहुनेछ,’ उनले भने । 

प्रधानमन्त्रीको भ्रममणमा पञ्चेश्वरको डिपिआर तयार गरी काम अगाडि बढाउने मामलामा परेको गाँठो फुकाउने विषय प्राथमिकतामा रहेको बताए । दुई देशबीच सहमति नबन्दा महाकाली सन्धीको २२ वर्ष बित्दा पनि यस अन्र्तगतको पञ्चेश्वर परियोजनाको डिपिआर बन्न नसक्नुले दुवै देशलाई घाटा परेको बताए । छ हजार सात सय २० मेगावाट विजुली उत्पादन गर्ने आयोजना बन्न जति ढिलो हुन्छ उति नोक्शान हुने उल्लेख गर्दै अब टुंग्याउने गरी सहमति गरिने स्पष्ट पारे । पञ्चेश्वर परियोजना ढिलो गर्न नहुमा भारत समेत सचेत रहेको राजदूत उपाध्यायको भनाई थियो । पञ्चेश्वरमा नमिलेको नदीको सीमा सम्बन्धि समस्या टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिने बताए । उनले भने,‘ भारत र बङ्गलादेशबीच सीमानदीका विषयमा माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटी अनुसार नेपाल र भारतबीच पनि सहमति बनाउनेबारे छलफल बढेको छ ।’ 

अरुण तेस्रो आयोजना निर्माणको शिलान्यास गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताए । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने वातावरण बनिरहेको जानकारी गराए । नेपाल र भारतको अर्थतन्त्रमा दुरगामी असर पार्ने आयोजना जतिसक्दो छिटो निर्माण गर्न भारतले तत्परता देखाएकाले यसको शिलान्यासपछि कामले गति लिने बताए । उनले भने,‘अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल आउने पक्का भइसकेकाले छिट्टै मिति घोषणा हुन्छ ।’ 

माथिल्लो कर्णालीको निर्माणमा लगानी सुनिश्चित गर्नेबारे पनि काम अगाडि बढिरहेको उपाध्यायले बताए । भारत सरकारल त्यसका लागि पनि गम्भीरता देखाइरहेकाले छिटोभन्दा छिटो लगानी सुनिश्चित हुने बताए । 

साक्षात्कारमा राजदूत उपाध्यायले आउँदो हिउँदमा लोडसेडिङ्ग नहुने गरी भारत विजुली दिन तयार भएको बताए । नेपालमा लोडसेडिङ्ग लगभग अन्त भइसकेको र त्यसमा भारतको विशेष सहयोग रहेको बताए । उनले भने,‘आउँदो हिउँदमा लोडसेडिङ्ग नहुने गरी जति विजुली चाहिन्छ भारत दिन तयार भइसकेको छ । हामीले त्यसबारे प्रस्ताव राख्नेछौं ।’ अबको केही वर्ष भारतबाट विजुली आयात गरी लोडसेडिङ्ग हुन नदिने र त्यसपछि नेपाल आफै जलविद्युतमा आत्मनिर्भर भई लोडसेडिङ्गमुक्त हुने बताए । भारतसँग मिलेर ठूला जलविद्युत आयोजना निर्माण भएपछि नेपाल विद्युत निर्यातबाट समृद्ध मुलुकको सूचीमा पुग्ने उपाध्यायको भनाई थियो । 

सन् १९५० को सन्धी पुनरावलोकन कहिले टुंगिन्छ भनी सोधिएको प्रश्नमा यसबाट दुवै देशको प्रबुद्ध समूह इपिजीमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताए । 

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतले नेपालको जलविद्युत विकासबाट दुवै देशको हित हुनेगरी काम बढाएकोमा आफू उत्साही भएको बताए । नेपालको विकास र राजनीतिक स्थायित्वका लागि भारतीय प्रधानमन्त्री मोदीले गम्भीरता देखाउने गरेकाले आफू आशावादी रहेको उनको भनाई थियो । दुई देशबीच नमिलेका विषय मिलाउनेबारे मोदीले निर्देशन दिइसकेकाले धमाधम समस्या समाधानको पहल भइरहेको बताए । सीमा समस्या समाधानका लागि दुवै देश गम्भीरताका साथ लागेको बताए । 

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा व्यापार घाटा न्युनकिरणबारे विशेष छलफलह हुने बताए । व्यापार घाटाले नेपालको अर्थतन्त्रमा नकरात्मक असर परेकाले देशको आर्थिक हितसँग जोडिएको विषय प्राथमिकतामा रहने बताए । उनले भने,‘अहिले भारतसँगको व्यापार घाटा खरबौँको भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि भ्रमण केन्द्रित हुनेछ ।’ भारतले नेपालले भोगिरहेको व्यापार घाटा न्युनीकरणका लागि सहयोग गर्ने संकेत गरेको जानकारी गराए । आयात निर्यातमा नेपाल भोग्नुपरेको समस्या समाधानमा समेत भ्रमणमा छलफल गरी टुंगोमा पुगिने बताए ।  

नेपालको अहिलेको मुख्य एजेण्डा आर्थिक समृद्धि भएकाले भारत भ्रमणमा पनि अर्थतन्त्रका विषयलाई अग्रस्थानमा राखेर एजेण्डा तय गरिने बताए । नेपालमा भारतको लगानी बढाउनका लागि नेपाल सरकारले जग्गा र विजुली उपलब्ध गराउनुपर्नेमा उपाध्यायको जोड दिएका छन् । भारतका लगानीकर्ताहरू नेपालमा लगानीका लागि इच्छुक रहेकाले नेपालले त्यो अवसर गुमाउन नहुने बताए । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र विहारका मुख्यमन्त्री नितिश कुमारसँगको भेटमा नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा जनाएको बताए ।

नेपालको नदीले आसपासका बासिन्दालाई दुःख दिएको भन्दै अबका दिनमा नदीलाई अभिषापका रुपमा नभई बरदानका रुपमा प्रयोग गर्नसक्नुपर्नेमा दुवै प्रदेशका मुख्यमन्त्रीहरु सकारात्मक रहेको उपाध्यायले बताए । उनले भने,‘नेपालका नदीहरू वरदान हुन् यसको समयमै सदुपयोग गरी आर्थिक लाभ लिनसक्नुपर्छ ।’ जलविद्युत्मा लगानीका लागि पिपिए गर्न उत्तर प्रदेश र विहार राज्य सरकार तयार रहेकोले त्यसबाट नयाँ आर्थिक सम्भावनाको ढोका खुल्ने बताए । विहारमा आफ्नै उत्पादन नभएकाले नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा प्रकट भएको बताए ।  

भारत नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि आवश्यक वातावरणको निर्माण नेपाल सरकारले गर्नुपर्ने उनीहरुको माग रहेको उपाध्यायले बताए । अब नेपालमा अवरोध हुँदैन भन्ने जिम्मेवारी नेपाल सरकारले लिने वित्तिकै भारत लगानी गर्न तयार रहेको उनको भनाई छ । 

भारतसँग पेट्रोलियम पाइपलाईन विस्तारका लागि सम्झौता भएर काम अगाडि बढिसकेको जानकारी दिदै उपाध्यायले अब भारतसँग प्राकृतिक ग्याँस र खाना पकाउने ग्याँसका लागि पनि सम्झौता हुने जानकारी दिए । भारतको समृद्धीबाट नेपालले लाभ लिन सक्ने बताउँदै सकारात्मक सोचका साथ सबै अगाडि बढ्नुपर्ने बताए । भारतसँगको सबै समझदारी र त्यसको कार्यान्वयनका लागि नयाँ खाका बनाएर दुई देशको सरकारबिच र आवश्यकता अनुसार विजनेश टु विजनेश तहमा समन्वय गर्नुपर्नेमा उपाध्यायले जोड दिए ।

अरुण तेस्रो शिलन्यासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला नेपालका प्रमुख पर्यटकीय स्थलहरु लुम्बिनी, जनकपुर, मुक्तिनाथ, पाथिभरा लगायतका ठाउँमा समेत भ्रमण गराउने विषयमा छलफल भइरहेको राजदुत उपाध्यायले बताए । पर्यटन प्रवद्र्धनका लागि मोदीको भ्रमण कोसेढुंगा सावित हुने आशा व्यक्त गरे । नेपालका तीर्थस्थल भ्रमणका लागि मोदी निकै इच्छुक भएको बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै