• २०८१ बैशाख ७ शुक्रबार

एक अर्काका आकांक्षा र संवेदनशीलता, नेपाल र भारत सम्बन्धका विशिष्टता हुन् -प्रधानमन्त्री देउवा

kharibot

भारतको ७०औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा तथा भारतका विदेशमन्त्री सुष्मा स्वराज । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त सुमधुर र अमूल्य रहेको चर्चा गर्दै त्यसलाई पारस्परिक समझदारी, सम्मान र एक अर्काका आकांक्षा र संवेदनशीलताले विशिष्ट तुल्याएको बताएका छन् । 

भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा उनले दुई देशबीच विविध क्षेत्रमा व्यापक सहयोगका साथै खुला सिमानाका कारण जनस्तरको सम्पर्कले आपसी सम्बन्धको गहिराई र गहनतालाई चित्रित गरेको चर्चा गरे । 

प्रजातान्त्रिक मूल्य र मान्यताको संस्थागत विकास तथा समावेशी प्रतिनिधित्वको सुनिश्चिततासँगै नेपाली जनताले उत्साहपूर्वक विकास चाहेका र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ सबैको विकास’ अवधारणाबाट सारा नेपाली उत्साही भएका प्रधानमन्त्रीले बताए । उनले भने– गरिबी, रोगव्याध, निरक्षरता, भोकमरी, विनाश र विध्वंशबाट मुक्ति तथा दिगो शान्ति, स्थायित्व र समावेशी विकास हाम्रो साझा चाहना हो । 

नेपाल र भारतबीचको विशिष्ट सम्बन्धलाई संरक्षण, प्रवद्र्धन एवम् सुरक्षित तुल्याउन भारतका नेतासँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले दुवै देशबीच सघन संवादमा भएको बढोत्तरी तथा उच्चतम तहमा हुने राजनीतिक परामर्श र सम्पर्कले भरोसा र आत्मविश्वासका निम्ति मार्ग प्रशस्त गरेको विचार व्यक्त गरे । 

"आगामी भदौमा हुने मेरो भारत भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय नेतासँगको भेटमा आपसी चासोका विषयमा हुने विचार आदानप्रदानले युगौँ पुरानो हाम्रो सम्बन्धलाई अझ विस्तृत एवम् प्रगाढ बनाउनेछ,"उनले भने। 

प्रजातन्त्र द्विपक्षीय सम्बन्धलाई जोड्ने शक्तिशाली तत्व हो भन्दै उहाँले भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको सहभागिताको सगर्व स्मरण गरे। स्वतन्त्रता र आत्मसम्मानको महान् कार्यमा दुवै देशका जनता सँगै अघि बढ्नु अपूर्व उदाहरण भएको चर्चा गर्दै उहाँले लोकतन्त्र सार्वभौम मानव आकांक्षा, जनहित र जीवन पद्धति भएको बताए । 

नेपालको प्रजातान्त्रिक आन्दोलनलाई भारतीय स्वतन्त्रता संग्रामको उत्प्रेरणाका रुपमा चित्रण गर्दै प्रधानमन्त्रीले भारतका जनता तथा त्यहाँका नेतामा २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनीहरुबाट प्राप्त सद्भाव र नैतिक समर्थनप्रति नेपाली जनता हृदयदेखि नै आभार व्यक्त गर्छन् भने । 

जननिर्वाचित संविधानसभाबाट घोषणा भएको संवैधानिक व्यवस्थाअनुरुप प्रजातन्त्रिक प्रक्रियाको संस्थागत विकासका लागि नेपाली जनता विभिन्न तहका निर्वाचनमा लागेका जानकारी दिँदै प्रधानमन्त्रीले भारतका प्रजातन्त्रिक संस्था र तिनको परिपक्वता र स्थायित्व नेपालका निम्ति पे्ररणा भएको बताए । 

उनले जनताको समअनुकूलता र समावेशी प्रजातन्त्रले शान्ति, प्रगति र विकासका निम्ति प्रजातन्त्रिक संस्थाहरुले काम गरिरहेका बताए । भारतले आर्थिक रुपान्तरण, विज्ञान र प्रविधि, सञ्चार, अनसन्धान र नवप्रवर्तनका क्षेत्रका बितेका ७० वर्षमा गरेको प्रगति उल्लेखनीय एवं प्रेरणापद भएको बताउँदै भारतको अहिलेको प्रगति समसामयिक विश्वका लागि एउटा सशक्त उदाहरणका रुपमा रहेको चित्रण गरे । 

भारतका बाह्यमामिलामन्त्री सुष्मा स्वराजले सफल र परिपक्व ७० वर्षको भारतको लोकतन्त्र भारतीय जनताप्रति समर्पित भएको र नेपालको लोकतन्त्र पनि सफल हुने विश्वास व्यक्त गरे । उनले भारतले हासिल गरेको प्रगतिबाट छिमेकी पनि लाभान्वित हुनुपर्छ भन्ने प्रधानमन्त्री मोदीको मान्यतालाई भारतले आत्मसात् गरेको बताइन् । राजनीतिक मतभेदले विकासका कार्यमा अवरोध सिर्जना गर्न हुँदैन, स्थायित्व, समृद्धि र विकासका निम्ति सबै राजनीतिक दलका नेता एकताबद्ध हुनुपर्नेमा उनले जोड दिइन् । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक इतिहासमा स्वर्णिम अध्याय सुरु गरेर लोकतन्त्रलाई परिपक्व तुल्याउन विशेष योगदान गरेको उनले चर्चा गरिन् । उनले पूर्वप्रधानमन्त्री प्रचण्डले सहमतिअनुसार नेता देउवालाई सत्ता हस्तान्तरण गरेर राजनीतिक विश्वास र समझदारीलाई कायम गरेको सन्दर्भ जोड्दै उक्त कुरा बताएकी हुन् । 

समारोहमा नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा नेपाल–भारत सहयोग र सम्बन्धका विविध आयाम झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो । त्यसअवसरमा सभामुख, मन्त्रिपरिषद्का सदस्य, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारी, पत्रकारलगायत नेपालका प्रतिष्ठित व्यक्तिका साथै कामको शिलशिलामा रहेका भारतीय नागरिकको उपस्थिति थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै