• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ महानगरमा सार्वजनिक शौचालयको अभाव, के गर्दै छ महानगरपालिका ?

kharibot

काठमाडौं । देशको राजधानी समेत रहेको काठमाडौँ महानगरमा बस्ने मानिसको जनसंख्या लाखौँ छ । यसका अतिरिक्त रोजगारी र पढाइका लागि बस्ने मानिसको जनसंख्या उत्तिकै हाराहारीमा छ ।

जनसंख्याको चापाचाप भएको राजधानीमा सार्वजनिक शौचालय कति होला ? तपाईंलाई लाग्ला यत्रतत्र सयौँ सार्वजनिक शौचालयहरु होलान् । तर कतै केही कामको सिलसिलामा देशकै राजधानीमा हिँड्दै गर्दा शौच गर्नु परिहाल्यो भने तपाईंले सहजै पाउनुहुन्न सार्वजनिक शौचालय । यसका लागि कि होटल, कि रेष्टुराँ छिर्नैपर्छ । किनभने महानगरभित्र पुगनपुग १२ वटाजति मात्रै छन् सार्वजनिक शौचालय ।

सार्वजनिक भन्दै पैसा असुल्दै महानगर

रत्नपार्क, भद्रकाली मन्दिरपरिसरबाहेक केही केही आकाशेपुलमुनि सार्वजनिक लेखेर टाँसिएका शौचालय त छन् तर त्यसको रेखदेखमा भने महानगरको ध्यान गएको देखिँदैन ।

डुङडुङती गन्हाउने अवस्थाका शौचालयमा २ मिनेट बस्दा पनि निस्सासिने स्थिति छ । सुविधा दिनभन्दा पनि पैसा असुल्न खडा गरिएको पासोजस्तै छ महानगरभित्रका शौचालयको हालत । ती शौचालय प्रयोग गरेबापत छोटो समयको रु. ५ र लामो समयको रु. १० रुपैयाँ उपभोक्ताले तिर्दै आएका छन् ।

ती शौचालयमा पैसा असुल्न मानिस राखिएको छ तर सरसफाइ गर्न र सफा पानीको व्यवस्थापन भने छैन । भन्ने बेलामा सार्वजनिक भन्ने तर पैसा पनि असुल्ने काम महानगरले गरिरहेको छ । ‘निःशुल्क सार्वजनिक शौचालय नै सञ्चालन गर्न नसकेको महानगरले कसरी कुदाउला काठमाडौंमा मोनोरेल ?’, एक सर्वसाधारणले भने, ‘न पानीको सुविधा छ, न सरसफाइको ! पैसाचाहिँ भाग्ला कि भनेर ढोका खोल्न नपाउँदै तिर्नुपर्छ ।’

देशकै राजधानीजस्तो ठाउँमा एक दर्जन पनि पुगनपुग शौचालय रहेको जानकारी दिन्छन् काठमाडौं महानगरका सहप्रवक्ता नमराज ढकाल । उनले २० लाख मानिस काठमाडौँ महानगरमा बसोबास गरिरहेको जानकारी दिए । ढकालका अनुसार यो संख्या भनेको अस्थायी र स्थायी दुवै मानिसको हो । ‘घरबाट बाहिर निस्किँदै गर्दा शौच लागे के गर्ने ?’, यसले महानगरको इज्जत नबढाउने महानगरकै एक अधिकारीले जानकारी दिए ।

सार्वजनिक शौचालयबाट एक लाख १९ हजार असुल्दै समाजकल्याण परिषद्

त्यसो त समाज कल्याण परिषद्ले सबै कुरा हेर्ने भृकुटीमण्डप परिसरमा दुईवटा सार्वजनिक शौचालय छन् । समाज कल्याण परिषद्को हाता भृकुटीमण्डप परिसरमा रहेकामध्ये एउटा शौचालयको दुर्गति माथि उल्लेख गरेभन्दा कम छैन तर ती शौचालयमा पनि पैसा असुलिँदै आएको छ । पैसा असुलेअनुसार सुविधा दिए पनि उपभोक्ताले सन्तुष्टि राख्ने ठाउँ हुने एक उपभोक्ताले गुनासो गरे ।

त्यस्तै राष्ट्रिय सभाकै सम्मुखमा भर्खरै सञ्चालनमा आएको छ अपांगमैत्री सार्वजनिक शौचालय । यो शौचालयबाट मात्रै समाज कल्याण परिषद्ले मासिक एक लाख १९ हजार रुपैयाँ असुल्दै आएको छ । आशा राई र उनका श्रीमानले टेण्डर पारेर यो शौचालय चलाइरहेका छन् । तर एक लाख छ हजारमा टेण्डर पार्न सफल भए पनि मासिक एक लाख १९ हजार यो दम्पतीले परिषद्लाई बुझाउँदै आएको छ । शौचालयमा परिषद्ले इनार त खनिदिएको छ तर त्यसबाट माथि पानी तानेबापतको शुल्क र तीनवटा विज्ञापन बोर्डको शुल्क समेत जोडेर परिषद्ले दम्पतीबाट अतिरिक्त शुल्क असुल्दै आएको हो ।

यो दम्पती बिहानैदेखि शौचालयमा हुन्छन् । यो शौचालय प्रयोग गरेबापत उपभोक्ताले छोटो समयको रु. ५ र लामो समयको रु. १० रुपैयाँ तिर्दै आएका छन् । गत भदौ महिनाबाट यो शौचालय सञ्चालनमा आएको हो । सार्वजनिक शौचालय भनिएका कारण कतिपय उपभोक्ताले पैसा नै नतिर्ने राई दम्पतीको भनाइ छ । त्यस्तै अपांग मैत्री पनि भएका कारण अपांगता भएका व्यक्तिहरु आउँदा उनीहरुबाट राई दम्पतीले पैसा लिँदैनन् ।

व्यस्त ठाउँमा भएका कारण राई दम्पतीलाई महंगै भए पनि परिषद्लाई बुझाउन सकेका छन् । यसबाट उनीहरुलाई कुनै फाइदा भने भएको छैन । केही फाइदा होला भनेर उनीहरुले शौचालयमा टेण्डर हाले पनि परिषद्को चर्को लुटले उनीहरु आजित भएका छन् । मासिक ६० हजारजति भाडा भए आफूहरुलाई सजिलो हुने उनीहरुको गुनासो छ ।

फाइदा नभएपछि उनीहरुले शौचालय सफा गर्ने मानिस समेत राख्नसकेका छैनन् । आएको पैसाजति सबै परिषद्ले असुल्दा यस्तो भएको हो ।

महानगरले १०० वटा स्मार्ट शौचालय बनाउने

यसैबीच, सार्वजनिक शौचालयको अभाव भएको भन्दै काठमाडौँ महानगरले एक सय वटा स्मार्ट शौचालय बनाउने भएको छ । अब महानगरमा बन्ने शौचालय अपाङ्गमैत्री र स्मार्ट हुने र त्यसबाटै बायो ग्यास निकाल्ने तयारीका साथ महानगरले सार्वजनिक शौचालय निर्माणको तयारी गरेको जनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै