• २०८१ बैशाख ४ मंगलबार

युवा तथा खेलकुद मन्त्री केसीद्वारा हिटिङ पुलको सिलान्यास

kharibot

तस्विर : खरीबोट

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले सिलान्यास गरेका हुन् ।

दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईंको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत अनुमान गरिएको पुल हातामा तीन वटा मुख्य ब्लक रहनेछन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ ।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ । त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्गलगायत निर्माण गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले हाम्रो जस्तो बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो कुरा भएको बताउदै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशन दिए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसंग सम्झौता भएको बताउदै संघको २५÷३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गरे । उनले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अवगत गराए । उनले पूर्वाधारका कारण दक्षिण एसियाली खेलकुद नरोकिने बताउदै अन्य पूर्वाधारहरु पूरा हुने क्रममा र केहि बन्ने क्रममा रहेको बताए ।

"अरु कारणले रोकियो भने थाहा भएन । तर पूर्वाधारकै कारणले साग रोकिन्न । रंगाशालालाई मात्र देखाएर केहि भाको छैन भन्न मिल्दै ।" सदस्य–सचिव विष्टले भने– "कराते र तेक्वान्दो हल निर्माण पूरा हुने क्रममा छन् । सागलाई नै लक्षित गरेर अउडिटोरेयिम, मिडिया सेन्टरलगायतका पूर्वाधार बन्ने क्रममा छन् । रंगशालाको मर्मत सम्भार पनि चाँडै पूरा गर्नेछौं ।"

सदस्य–सचिव विष्टले नवनियुक्त मन्त्रीज्यूमा खेलकुद स्पिरिट उच्च भएकाले उहाँकै कार्याकालमा निर्माण कार्यले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले हिटिङ पुलको निर्माणले खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने भएकाले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्न धारणा व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय निकायबाट पनि २५ बाई २५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने आश्वासन प्राप्त भएको जानकारी गराउदै पौडी संघको वर्षौंदेखिको सपना साकार हुन लागेको बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै