• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरियालाई लिएर अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

kharibot

मस्को । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । 

उनीहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । 

क्रेमलिनले प्रकाशन गरेको एक विज्ञप्तिमा भनिएको छ– अमेरिकी पक्षको चाहनामा रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच बिहीबार जरुरी विषयमा छलफल भएको छ । 

सो छलफलमा तत्कालका लागि जरुरी विषयका साथै विशेषगरी कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । उक्त छलफलमा कोरियाका विषयमा मिलेर कामगर्ने बारेमा सहमति भएको थियो । 

क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– कुराकानीको सुरुमा रुसी राष्ट्रपति पुटिनले अमेरिकाको अर्थतन्त्र र अमेरिकी राष्ट्रपतिका विषयमा सार्वजनिक गरेको अभिव्यक्तिप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई धन्यवाद दिएका थिए । 

त्यसपछि उनीहरुबीच कोरियाको अवस्था प्रतिदिन झन खतरनाक हुदै गएकोले यस विषयलाई साझा चासोका रुपमा लिएर समस्या समाधानमा आपसमा मिलेर लाग्ने विषयमा उनीहरुबीच सहमति भएको पनि सो विज्ञप्तिमा जनाइएको छ । 

कोरियाको विषयमा पछिल्लो समयमा विश्वमा निकै ठूलो चासो बढेको देखिएको छ । उत्तर कोरिया वार्तामा बस्न तयार हुने सङ्केतहरु पनि मिलेका भन्दै यस विषयमा विभिन्न देशमा कुराकानी पनि भएको छ । 

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने प्रमुख एवम् राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमेनले पनि हालैमात्र उत्तर कोरियाको भ्रमण गरेका थिए ।
उनले सो अवसरमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र अन्य उत्तर कोरियाली उच्च अधिकारीसँग भेट वार्ता पनि गरेका थिए । त्यस भ्रमणलाई उत्तर कोरिया र राष्ट्रसंघले पनि महत्वपूर्ण र आवश्यक पनि भनेको छ । 

त्यस भ्रमणका क्रममा उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपका विषयमा वार्तागर्न तयार रहेको अभिव्यक्ति दिएका उनले बताएका थिए । त्यसपछि उत्तर कोरियाका बारेमा विश्वमा चासो बढेको छ । 

यदि उत्तर कोरिया शान्ति वार्ताका लागि तयार भयोभने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको पनि हालैमात्र संयुक्त राष्ट्रसंघले जनाएको थियो । 

पछिल्लो समयमा उत्तर कोरियासँग वार्तागर्न संयुक्त राज्य अमेरिका पनि तयार भएको समाचार आएको थियो । यस विषयमा उत्तर कोरियाको कुनै प्रतिक्रिया भने आएको छैन । 

बुधबार मात्र अमेरिकाले उत्तर कोरियासँग विनाशर्त वार्तागर्न तयार रहेको जनाउ दिएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएका थिए । 

बुधबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएको समाचारमा जनाइएको थियो । 

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या राष्ट्रपति ट्रम्पको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै