म्युजिक थेरापीको आविष्कार गर्ने बाँसुरीवादक दुर्गा प्रसाद खतिवडाको लक्ष्य

खरीबोट

बाँसुरीवादक दुर्गा प्रसाद खतिवडा

काठमाडौँ । दुर्गा प्रसाद खतिवडा बाँसुरीवादनमा स्नातकोत्तर गर्ने नेपालकै पहिलो बाँसुरीवादक हुन् । २०२९ मंसिर २ गते इलामको तत्कालीन शान्तिपुर गाविस हाल रंग गाउँपालिकामा मध्यमवर्गीय परिवारमा बुबा पदमलाल खतिवडा र आमा टंक कुमारी खतिवडाको कोखबाट जन्मिएका हुन् । धार्मिक पृष्ठभूमिको उनको परिवार भएकै कारण भजनकीर्तन र संगीतमा उनको रुचि सानैदेखि बढ्दै गयो । देवीगञ्ज प्राविमा प्राथमिक शिक्षा लिएका उनले करफोक उमाविबाट एसएलसी पास गरेका थिए । संगीतमा पहिलेदेखि नै रुचि भएका उनमा रहेको बाँसुरी मोहले आज उनलाई नेपालकै नम्बर वान बाँसुरीवादक बनाइदिएको छ ।   

सानै उमेरमा आमाले जंगलमा बाँस काटेर बनाइदिएको पिपिरी बाजाबाट सुरु भएको संगीतसँगको साइनो अहिले भारत, नेपाल हुँदै युरोप र अमेरिकासम्म फैलिएको छ । संगीत भनेपछि हुरुक्कै हुने उनको भेट कक्षा ८, ९ मा पढ्न थाल्दादेखि नै राम्रा संगीतकारसँग भयो । पूर्वका कुबेर राई, मानसिंह थुलुङदेखि गोपाल योञ्जनसम्मलाई भेटेर उनले आफ्नो प्रतिभा सुनाए । आफूले बाँसुरी बजाएको देखेर गोपाल योञ्जनले अंगालो हालेको खतिवडालाई आजैजस्तो लाग्छ । योञ्जनबाट उनले बाँसुरी सिक्ने प्रेरणामात्रै पाएनन्, बरु भारतका प्रख्यात बाँसुरीवादक हरिप्रसाद चौरसियासँग भेट्नु भन्ने मार्गनिर्देशन नै पाए । यही नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

कार्यक्रममा प्रस्तुति दिंदै खतिवडा । तस्बिर : खतिवडाको फेसबुक


बाबुको खल्तीबाट चार सय चोरेर भारत भागेँ

संगीतप्रतिको मोहले रन्थनिएका दुर्गाप्रसाद २०५० साल माघ २७ मा एसएलसी दिएपछि फागुन १० गते घर छोडेर भागे । घरबाट संगीत सिक्न जाऊ भनेर पठाउने वातावरणै नभएकाले बाबुको खल्तीबाट ४०० रुपैयाँ चोरेर राति १ बजे घर छोडेको उनी बताउँछन् । त्यतिबेला उनी १ सुट कपडा, दुईवटा बाँसुरी, हात्तीछाप चप्पल र सुक्र्याउने झोला (डोरीवाला झोला, थैलीमुखे) बोकेर मध्यराति करफोक हुँदै पशुपतिनगरसम्म हिँडेको हिँड्यै पुगेको उनको अनुभव छ । सिलिगुडी, पटना हुँदै उनले मुम्बईसम्म पुग्न सफल भए । बाटामा बाँसुरी बजाउँदै जाँदा रेलको डब्बामा मान्छे भेला भएर १०÷२०÷५० रुपैयाँ दिएको उनलाई याद छ । यसबाट उनले ७÷८ सय रुपैयाँ संकलन गरे, जसले केही दिनको गर्जो टार्न सफल भए उनी ।  

मुम्बई पुगेपछि खतिवडालाई अर्कै संसार पुगेजस्तो अनुभव भयो । चिल्ला रोड, गगनचुम्बी महलहरुको संसार पहिलोचोटि देखेको नेपालको पहाडी ठिटोलाई अर्कै ग्रह पुगेजस्तो भान भयो । ती मान्छेले आफूसँगै जान आग्रह गरे पनि उनले मानेनन् र आफ्नो व्यवस्था मिलाउँछु भन्दै रेलबाट ओर्लेर हिँडे । त्यतै कतैको अम्बे मन्दिरमा पुगे । त्यहाँ एक जना नेपालीसँग भेट भयो । केही दिन उनी त्यही मन्दिरमा बसे । दिउँसो  काम खोज्दै पनि हिँडे । समुद्री किनारमा पर्यटकहरुसँग बाँसुरी बजाए । कतै कतै काम पनि गरे ।

साधुसँगको भेट र संगीत सिकाइको यात्रा

त्यसपछि संगीत सिक्ने ठाउँको खोजी गर्न थाले । तर मुम्बईमा भनेजस्तो सिक्ने ठाउँ भेटेनन् । हिन्दी खासै आउँदैनथ्यो । पछि सिक्दै गए । दुई महिनासम्म मुम्बई घुम्दा पनि नभएपछि एक जना साधुको संगतमा चण्डीगढ आइपुगे । ती साधुले चण्डीगढ विश्वविद्यालयमा संगीत सिक्ने व्यवस्था मिलाइदिने बताएका थिए तर पढ्नको लागि त प्लस २ अर्थात् १२ पास गरेको मान्छेले मात्रै पाउने रहेछ । उनले एसएलसी मात्रै दिएको कारण पढ्न पाएनन् ।  गढवालका नेपाली पनि बुझ्ने ती साधु सदानन्दले उनलाई दिल्लीमा लगेर अल इण्डिया रेडियोका डाइरेक्टर सतिशचन्द्र बर्मासँग साधुले चिनजान गरिदिए ।

चिरपरिचित गायकसँग खतिवडाले १ वर्षजति संगीत सिके । एक दिन डाइरेक्टर बर्मालाई हार्टअट्याक भयो । उनका छोराहरुले अमेरिका जान भनेपछि खतिवडाका गुरु बर्मा अमेरिका जाने भए । अमेरिका गए पनि बर्माले फोन गरेर उच्चकोटिका अर्का गुरु मथुरा, वृन्दावन बस्ने पण्डित विदुर मल्लिकसँग सम्पर्क गराइदिए । त्यहाँ अर्का नथिसिंहजी महाराज सन्तसँग भेट भयो । उनीसँग संगीत सिक्न थाले । अल इण्डिया रेडियाका डाइरेक्टरले रिकमेण्ड गरेको भनेपछि उनले राम्रै सम्मान र स्थान पाए । उनले सुरुमा गायन सिके । त्यसैलाई उनी बाँसुरीमा कन्भर्ट पनि गर्थे । छ महिनाजति सिकेपछि विदुरमल्लिकको गुरुकुलमै बस्नथाले । खाने सिक्ने व्यवस्था पनि भयो । घरानेदार हिसाबले विदुरमल्लिकसँग संगीत सिक्न थाले ।

त्यसपछि पहिलोचोटि खतिवडा २०५३÷०५४ तिर काठमाडौं आए । रेडियो नेपालमा धार्मिक कार्यक्रम चलाउने पुरुषोत्तम सापकोटासँग भेट भयो र उनले खतिवडालाई धार्मिक कार्यक्रममा पनि बाँसुरी बजाउने अवसर दिएको उनी सुनाउँछन् । त्यसपछि माइग्रेसन बनाएर पुनः भारततिरै लागेका उनले वृन्दावनबाट आईएससी गरे भने भातखण्डे संगीत विश्वविद्यालय लखनौबाट संगीतमा पनि आइ.ए गरे । मुख्य विषय बाँसुरी पढे पनि वृन्दावनबाट फिलोसफी लिएर स्नातक पनि गरे । त्यसपछि दिल्ली आए । अल इण्डिया रेडियोमा प्रतियोगिता जिते । रेडियोमै मथुरा आकाशवाणीमा काम गरे । क्लासिकलदेखि लाइटसम्म दुवै बजाउँथे उनी ।

पछि दिल्ली आएर दिल्ली विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरे । बाँसुरीको साधना छोडेनन् । बाँसुरीबाट पनि ब्याचलर (स्नातक) सकाए ।
बनारस हिन्दू विश्वविद्यालयबाट अब संगीतमै केही गर्नुपर्छ भन्ने सोच आएपछि होस्टल बसेर बाँसुरीमा एमए गरे । अध्ययन स्वाध्ययन गरे । त्यसपछि पुनः हरिप्रसाद चौरसियासँग संगीत सिक्न पुनः मुम्बई हानिए । डेढ वर्ष अध्ययन गरे । बनारसमा उनको डा. प्रह्लादनाथ, श्रीराम चक्रवर्ती (सितारवादक), श्रीकृष्ण चक्रवर्ती, छनुलाल मिश्र, रामकुमार मिश्र, विनोद लेलेजस्ता संगीतकार, तबलावादक, सितारवादकहरुसँग भेट भयो । सन् २००१, २००२, २००३ सम्म बनारस बसे । त्यसपछि घर आए ।

देशमै केही गरौँ भन्ने लाग्यो

अबचाहिँ देशमै केही गरौँ भन्ने लागेर उनी नेपाल आए । चार महिना घर बसे । ३०÷३१ वर्षका उनी पुनः काठमाडौं आए । ललितकला क्याम्पसमा बाँसुरी वादन पनि खोलौँ भन्दा करिकुलम आदिको समस्याले नपाएको उनी बताउँछन् । नेपालबाट पहिलोपटक बाँसुरीमा डिग्री गरेका खतिवडा मात्रै एक जना थिए । पछि सन् २००६ मा उनले पिंगलास्थानमा नेपाल संगीत विद्यालय खोलेर पढाउन थाले । २००८ मा सिर्जना कलेज अफ फाइन आर्ट कलेजमा प्लस टुमा बाँसुरी मेजर विषय राख्न सफल भए । नेपालमा पहिलोचोटि बाँसुरीमा एकेडेमिक पढाउन सुरु भयो त्यहाँ । पहिलो लटमा १२ जना विद्यार्थी निस्किए र तिनै १२ जनालाई ललितकलामा ब्याचलर पढाउन सुरु गर्नखोजे पनि राजनीति धेरै भएका कारण ललितकलामा सम्भव नभएको उनको भनाइ छ । पुनः सिर्जना कलेजमै त्रिविविकै सम्बन्धनमा ब्याचलर सुरु भयो । २ वर्ष सिर्जनामा पढाएपछि ललितकलाले पनि खोल्ने कुरा भयो । र हाल उनी ललितकलामा पनि अध्यापन गर्छन् । नेपालको इतिहासमा बाँसुरीलाई एकेडेमिक अध्ययनका लागि स्थापित गर्न खतिवडा सफल भएको बताउँछन् ।  

विदेश अनुभव

पहिलो विदेश अनुभव युरोपबाट लिएका खतिवडा सन् २००७/००८ मा एउटा प्रोजेक्ट गर्न युरोप गएका थिए । युरोपियन युनियनको उक्त प्रोजेक्ट दक्षिण एसिया र अफ्रिकाका बच्चाहरु (अनाथ)को लागि थियो । त्यसमा उनले काम गरे । त्यसबाट आएको रकम नेपालको सिभिन नामक गैरसरकारी संस्थाले नेपालका अनाथ बालबालिकाको लागि खर्च गर्छ । उनले तीन महिना त्यो प्रोजेक्टमा काम गरे । खतिवडाले नर्वे, स्विडेन, फ्रान्स, जर्मनीमा कार्यक्रम समेत गरेका छन् । २००९ र २०१० मा उनी श्रीलंका, जापानको भ्रमणमा गएका उनले नेपालको प्रतिनिधिको रुपमा विश्व संगीत सम्मेलनमा भाग लिएर आफ्नो प्रस्तुति समेत दिएका छन् । नर्वेमा बाँसुरी र नेपाली पूर्वीय संगीतबारे पढाउन भिजिटिङ प्रोफेसर भएर पनि गएका उनले नर्वे, स्विडेन र फ्रान्सका युनिभर्सिटीमा पढाउने मौका पाए ।

पाश्चात्य संगीतसँग पूर्वीय संगीतको ट्याली

युरोप भ्रमणकै क्रममा उनले पाश्चात्य संगीतका जाज एण्ड ब्लुज सिम्फोनी, अर्केष्टाहरुसँग पनि बजाए । यस क्रममा उनलाई विश्वकै ठूलो अर्केष्टासँग बाँसुरी बजाउने सौभाग्य समेत मिल्यो । नर्वेको विश्वकै ठूलो अर्केष्टा क्रिश्चियन्टनमा १ सय ३० जनासँग ग्रामी अवार्डद्वारा सम्मानित आर्टिष्ट आनब्लियर ग्रिनसँग पनि मौका पाए । मेटालिक, कन्सल्ट फ्लुट आदि सिकेका कारण खतिवडालाई उनीहरुसँग बजाउँदा गाह्रो भएन । नर्वेको राजदरवारमा समेत गएर बजाउने अवसर पाएका खतिवडाले त्यहााको किंग हराल्डलाई बाँसुरी वादन सुनाएका थिए ।

नेपाली गीतसंगीतसँग जोडिए

काठमाडौं आएपछि नेपाली संगीतसँग जोडिन उनलाई धेरै गाह्रो भयो । बाहिरबाट एकेडेमिक रुपमै पढेर आएको हुँदा यहाँ स्थापित भएकाले मन पराएनन् । उनले सुरुमा जब कन्सर्ट गरेर आफ्नो काम देखाए त्यसपछि उनीप्रति मानिसहरु आकर्षित भए । श्रोताहरु बढे । तबलावादक अतुल गौतमबाट धेरै माया पाएको उनको अनुभव छ । अच्युतराम भण्डारी, डा. ध्रुवेशचन्द्र रेग्मी, होमनाथ उपाध्यायजस्ता हस्ती संगीतकारले उनलाई एकैचोटि स्वीकार्नुभएको उनी सम्झिन्छन् । उनीहरु उनको वादनशैलीप्रति नतमस्तक भए । पहिलोचोटि नेपाल आएको यो प्रतिभालाई नेपाली संगीतमै जोगाइराख्नुपर्छ भनेर उनीहरुले खतिवडालाई कार्यक्रमहरुमा सँगै लैजानथाले । यतिकैमा उनले आफ्नो स्थान नेपाली संगीत क्षेत्रमा बनाउन सफल भए । जागिरविनै बाँच्न सक्ने भए उनी । यही सिलसिलामा उनी युरोपदेखि अमेरिकासम्म जाने र आउने गरे ।

तीनवटा एल्बम

संगीत सिक्नकै लागि ठूलो संघर्ष गरेका खतिवडाका तीनवटा एल्बम छन् । पहिलो शुभसन्ध्या(०६१) रहेको छ । यसमा राग र ध्वनिहरु छन् । रागमा जोग, गोरखकल्याण र भैरवी सुन्न पाइन्छ । ठुमरी र धुनहरु पनि यसमा छन् । त्यसको ३÷४ वर्षपछि युरोपबाट अर्को एल्बम ‘मिटिंग इन द माउन्टेन’ निस्कियो उनको । नर्वेका कलाकारसँग मिलेर नर्वेबाटै निकालियो । नर्वेजियन र नेपाली म्युजिकलाई फ्युजन गरेर निकालियो । यसमा युरोपियन र नेपाली लोकधुन समावेश छन् । सारंगीमा श्याम नेपाली, तबलामा जीवन राई, मादल प्रेमसागर, नर्वेबाट स्वेन स्टुवार्ट, क्लर्क फिलिपले पनि योगदान गरेका छन् । नर्वेको एथ्निक म्युजिक क्लबले लन्च गरेको हो । यो एल्बम त्यो वर्षकै उत्कृष्ट संगीत एल्बम समेत भयो । यो एल्बमलाई नेपालबाट म्युजिक नेपालले लन्च गरेको छ । तेस्रो एल्बम सन् २०१० मा सन्तुष्टि नामको तेस्रो एल्बम निकालियो । रागवादन, राग हंशोधनी, सनसेट इन द सी र बाँकी धुनहरु छन् । चौँथो एल्बमको तयारी हुँदै छ । त्यसो त उनी नेपालमा बाँसुरी वादनको शिक्षा नामको किताब पनि निकाल्दै छन् भने त्रिभुवन विश्वविद्यालयबाटै बाँसुरीमा पीएचडी पनि गर्दै छन् । अब उनको चौँथो एल्बम आउने तयारीमा छ ।  

म्युजिक थेरापीको आविष्कार गर्ने लक्ष्य

२०७० मा ४० वर्षको उमेरमा केही ढिलो विवाह गरेका उनलाई संगीतको क्षेत्रबाट मानव कल्याण गर्ने सोच छ । संगीतलाई चिकित्साशास्त्रसँग जोडेर म्युजिक थेरापीको आविष्कार गर्न उनी रिसर्च गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘संगीतलाई म्युजिक थेरापी, म्युजिक साइकोथेरापी अनि म्युजिकसाइकोलजीको अध्ययन गर्दै छु ।’ यसका लागि उनी हाल द स्कुल अफ मद्रास चेन्नई भारत र अष्ट्रियाको युनिभर्सिटीबाट म्युजिक थेरापीबारे पढिरहेका छन् । विशेषतः म्युजिकले मानिसलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा नै उनको अध्ययन क्षेत्र हो । मानिसभित्र संगीत कसरी पस्छ भन्ने अध्ययन अनुसन्धान गरिरहेका उनले संगीत र अन्तरात्मा जोडिने प्रक्रिया बुझ्न चाहेका छन् । म्युजिक एण्ड मेडिटेसनको अध्ययनमा लागेका उनलाई संगीतले दिने आनन्दबाट धेरै रोग निको हुने विश्वास पनि छ  । यसका लागि नेपाली संगीत क्षेत्रबाटै यसको अध्ययन गरिरहेको उनी बताउँछन् ।  

(खरीबोट डटकमका लागि नवराज रेग्मीले बाँसुरीवादक खतिवडासँग गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

म्युजिक थेरापीको आविष्कार गर्ने बाँसुरीवादक दुर्गा प्रसाद खतिवडाको लक्ष्य

काठमाडौँ । दुर्गा प्रसाद खतिवडा बाँसुरीवादनमा स्नातकोत्तर गर्ने नेपालकै पहिलो बाँसुरीवादक हुन् । २०२९ मंसिर २ गते इलामको तत्कालीन शान्तिपुर गाविस हाल रंग गाउँपालिकामा मध्यमवर्गीय परिवारमा बुबा पदमलाल खतिवडा र