• २०८१ बैशाख ७ शुक्रबार

भक्तपुर–२ मा नेमकिपाको धरौटी जफत

kharibot

भक्तपुर ।  भक्तपुरमा पक्कड जमाएका नेपाल मजदूर किसान पार्टीबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको धरौटी जफत भएको छ । 

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य (क) का उम्मेदवार सरोजराज गोसाई र (ख) का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो । 

निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको धरौटी रकम फिर्ता लिन कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेर राईले जानकारी दिए। १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने उनले बताए । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं. २ मा कूल मतदाता ८३ हजार ९३० रहेको र तीमध्ये कूल ६४ हजार ४५३ मत गणना भएका थिए । गणना भएका मतमध्ये नेमकिपाका थापा मगरले जम्मा ५ हजार ४७१ मत मात्रै प्राप्त गर्नुभयो । यसक्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका महेश बस्नेत र प्रदेशसभा सदस्य (क) मा शशीजंग थापा र (ख) मा राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।  

नेमकिपासँगै विवेकशील साझा, नेकपा (माले), राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशील साझाबाहेकका दलले ३०० मत पनि कटाउन सकेनन् । 

सोहि क्षेत्र प्रदेशसभा सदस्य (क) मा कूल ४४ हजार ८६ मतदाता रहेको र तीमध्ये ३३ हजार ९०१ मत गणना भएको थियो । मत गणनाको परिणामलाई हेर्दा नेकपा एमाले र नेपाली काँग्रेसबाहेक अन्य दलले धरौटी बचाउन सकेनन् । 

प्रदेशसभा (ख) मा पनि एमाले र काँग्रेसले मात्रै धरौटी बचाएका छन् । उम्मेदवारी दिने दलहरूमध्ये नेमकिपा, विवेकशील साझा, संघीय समाजवादी फोरम, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, र नेपाल दलित पार्टीको धरौटी जफत भएको छ । 

क्षेत्र नं. १ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य (क) र (ख) मा नेमकिपा, एमाले र काँग्रेसको मात्रै धरौटी बचेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल, तथा सोहि क्षेत्रको प्रदेशसभा सदस्य (क) मा एमालेका हरिशरण लामिछाने र (ख) मा नेमकिपाकै सुरेन्द्रराज गोसाई विजयी भएका छन् । 

प्रतिनिधिसभातर्फ विवेकशील साझा, एराप्रपा (राष्ट्रवादी), नयाँ शक्ति, चुरेभावर लोकतान्त्रिक पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्र्चाले धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशिल साझाबाहेकका दलले ३०० मत पनि कटाउन नसकेको कार्यालयका प्रमुख राईले जानकारी दिए । 

प्रदेशसभा सदस्य (क) मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका डिपी ढकालले ७८३ मत मात्रै प्राप्त गरेका छन् भने ढकालसँगै विवेकशील साझा, राप्रपा, नेपाली काँग्रेस (वि.पि.) नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्र्चाले ५०० मत पनि कटाउन नसकेपछि धरौटी जफत भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै