• २०८१ बैशाख ७ शुक्रबार

भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित

kharibot

नयाँदिल्ली ।  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित भएका छन्  ।  पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को पुस्ताले गर्न लागेको बताए । “राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने “यो ऐतिहासिक घटना हो,” उनले थपे ।  

झण्डै दुई दशक देखि पार्टीको नेतृत्व गर्दै आएकी ७१ बर्षीय सोनीया गान्धीले राहुललाई अध्यक्षको पद हस्तान्तरण गरेकी हुन् । गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो । 

राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री भएका थिए । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आउनु भएकोमा अहिले अध्यक्ष बनाइएको हो । 

उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्नेछन् । 

भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए। 
“धेरै बर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सिमा छैन,” लामो समयदेखि काँग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने । 

सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै