• २०८१ बैशाख ८ शनिबार

पुरुषलाई हराएर सांसद भएका यी महिला उम्मेदवार 

kharibot

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । 

नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित भएका छन् । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् । 

रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित भएका हुन् । 

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए । 

प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा माओवादी केन्द्रका प्रवक्ता हुन । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य हुन् । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता हुन् । 

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी हुन् । 

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए । 

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा एमाले बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो । 

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी डिना उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा थिए । उनीहरु सबै पराजित भएका छन् । 

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो । खरेल विजयी भएकी छन् । 

वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित भइन् । विजयी डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरे । मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गरे । 

सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छन् । उनले हालसम्म २६ हजार २१९ मत प्राप्त गरेका छन् । गच्छदारले २५ हजार ६२० मत ल्याएका छन् । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ । 

यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनु भएका अर्याल पराजित भएका छन् । 

तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा काँंग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिइन् ।

यसअघि समानुपातिकबाट सांसद रहेका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिएका थिए । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि छन् । 

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिएकी थिइन् । त्यसमध्ये रोकाले मात्रै विजयको झण्डा फहराए । 

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए । 

संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ । 

ललितपुर–३ बाट विजयी माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी भुसालले आफूलाई ललितपुरका जनताले विश्वास गरेको र वामगठन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको बताए । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण विजयी भएको उल्लेख गरिन् । 

उनले काँग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गरिन् । भुसालले २४ हजार ३६ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३२९ मत प्राप्त गरे । जितले आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिएकाले जिम्मेवारी पनि दिएको बताए । 

महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने देखिएको उनको भनाइ छ । 

मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बनेकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ९डीना० पराजित भइन् । उनी एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । खतिवडाले ४४ हजार ७४४ मत प्राप्त गरेर विजय प्राप्त गर्दा उपाध्यायले ३२ हजार ५५८ मत प्राप्त गरे । 

कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भइन् । मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । 

निर्वाचन प्रचार÷प्रसारको समयमा उनका पति प्रकाश दाहालको असामयिक निधन भएपछि शोकमा परेका मगरले आफूलाई कञ्चनपुरका जनताले जिताएर न्याय गरेको प्रतिक्रिया दिइन् । उनले सबै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छिन । 

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद मगरले बताइन् ।

‘संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्’ उनले भनिन् । 

‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने मतदाताको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ उनले भनिन्, ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्कोतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’ 

पूर्वी रुकुमबाट निर्वाचित रोकाले पनि जनताले दिएको अवसरलाई बढी भन्दा बढी सदुपयोग गरेर अगाडि बढ्ने बताइन् । उता प्यूठानबाट विजयी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिस्पर्धी डा गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत ल्याए ।

नवनिर्वाचित सांसद पौडेलले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण मतदाता, वामगठबन्धन तथा प्यूठानका सम्पूर्ण जनताको हितमा सधै प्रतिवद्ध भएर काम गर्ने बताइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै