• २०८१ बैशाख ११ मंगलबार

मिटु मुभमेन्टको आगो हलिउड हुँदै बलिउडमा पनि सल्कियो !

kharibot

तस्बिर : BBC

दक्षिण एसिया । एक बलिउड अभिनेत्रीलाई हवाइ यात्राको दौडान सताएको अभियोगमा भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बीबीसीका अनुसार गत वर्षको सर्वाधिक लोकप्रिय फिल्म दंगलबाट अभिनय सुरु गरेकी नायिका जाइरा वसिम (१७) लाई प्लेनमा सुतिरहेको अवस्थामा जथाभावी खुट्टाले शरीरमा छोएर सताएको अभियोगमा अर्धबैंसे पुरुषलाई पक्राउ गरेको हो ।

एयर विस्ताराबाट नयाँ दिल्लीबाट मुम्बई जानेक्रममा उनीमाथि आइतबार यस्तो घटना भएको थियो । सो घटनापछि एयरलाइनको वसिमले आलोचना गरेकी थिइन् । उनले इन्स्टाग्राममा यस घटनाबारे खुलासा गरेकी थिइन् ।

उक्त पुरुषले आफू सुतिरहेको अवस्थामा खुट्टाले उनको शरीरको पछाडिको तलदेखि माथिसम्मको भागमा बारम्बार छोएर सताएको बताइएको छ । अभिनेता आमिर खानको फिल्म दंगलले बलिउडमा अहिलेसम्मकै सबैभन्दा धेरै पैसा कमाएको थियो ।

उनको यो आफूविरुद्धको अत्याचारको खुलासासँगै हलिउडमा चलेको मिटु मुभमेन्टको प्रभाव बलिउडमा पनि देखिएको छ । नोभेम्बरको सुरुतिर न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वे वेइनस्टेनले अभिनेत्रीहरुमाथि यौनजन्य हिंसा, बलात्कार गर्ने गरेको खुलासा गरेपछि सामाजिक सञ्जालमा मिटु मुभमेन्ट नै चलेको थियो ।

सोही कारण अमेरिकामा यौन हिंसा गर्ने राजनीतिज्ञ, पत्रकार, फिल्म निर्माता, अभिनेतालगायतका व्यक्तिहरुले जागिरबाट हात धुनुपरेको छ भने कतिपय तारेख धाउन थालेका छन् । '#metoo' मुभमेन्टकै कारण यस वर्षको टाइम वर्ष व्यक्ति यौनजन्य हिंसाको भण्डाफोर गर्नेहरूलाई दिइएको थियो ।

यता एयरलाइन्सले वसिमलाई आवश्यक सरसहयोग गर्न पूर्ण तयार रहेको बताएको छ । यस खाले व्यवहारप्रति एयरलाइन्सले शून्य सहनशीलता राख्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै