• २०८१ बैशाख ८ शनिबार

मनमोहन र बीएण्डसीले सम्बन्धन पाउने गरी चिकित्सा विधेयक प्रतिवेदन बुझाइयो, डा.केसीको माग सम्बोधन नहुने

kharibot

अनशनरत डा. गोविन्द केसी

काठमाडौँ ।  सांसदले अध्ययनका लागि थप समय माग गरेपछि महिला, बालिबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा पेश भएको चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगन भएको छ । 

आज बसेको समितिको पूर्ण बैठकमा सांसदले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ सम्बन्धमा गठित कार्यदलले पेश गरेको संशोधनसहितको प्रतिवेदनमा अध्ययन गर्नुपर्ने माग गरेपछि बैठकमा विधेयक पारित हुन सकेन । 

समितिका सभापति रञ्जुकुमारी झासमक्ष कार्यदलका सदस्य जीवन परियारले सरकारबाट सम्बन्धन दिई पूर्वाधार तयार भइसकेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिने आशयसहितको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । समितिले गत जेठ २९ गते विधेयकलाई अन्तिम रुप दिनका लागि ‘चिकित्सा शिक्षा कार्यदल’ गठन गरेको थियो । 

प्रतिवेदनमा संशोधन विषय 

विधेयकमा भौतिक पूर्वाधार तयार भई अस्पताल सञ्चालन गरेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रावधान राखिएको छ । अनशनरत प्रा डा केसीले भने आगामी १० वर्षभित्र उपत्यकाभित्र कुनै पनि मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन नहुने अडान कायमै राखेका छन् । कार्यदलले हरेक प्रदेशमा सरकारले सार्वजनिक शिक्षण अस्पताल सञ्चालन गर्ने र नभएका प्रदेशमा पाँच वर्षभित्र सञ्चालन गर्ने प्रावधान पनि विधेयकमा थपेको सांसद परियारले जानकारी दिए । 

उनले भने, “विधेयकको दफा १३ मा ‘यो ऐन प्रारम्भ हुनुभन्दा पहिले आशयपत्र प्राप्त गरिसकेका र आवश्यक भौतिक पूर्वाधार बनाई मापदण्ड पूरा गरी मेडिकल, डेन्टल, वा नर्सिङ विषयको अध्यापन गराउन मेडिकल कलेजलाई ऐनबमोजिम सम्बन्धन दिन बाधा पुग्ने छैन”, भन्ने वाक्यांश थपेका छौँ ।” 

यसअघिको विधेयकको दफा १३ मा मेडिकल कलेजलाई सम्बन्धन दिइने व्यवस्था छ । काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल खोल्न नपाइने प्रावधान राखिएको छ । त्यसबाहेक विदेशी विद्यार्थीका लागि निर्धारण गरिएको सिटमा विदेशी विद्यार्थी भर्ना नभएमा नेपाली विद्यार्थीलाई भर्ना गर्दा नेपाली विद्यार्थीका लागि निर्धारण गरिएको शुल्कमा अध्ययन गराउनुपर्ने व्यवस्था थप गरिएको छ । अहिले विदेशी सिटमा विद्यार्थी भर्ना नभएमा उक्त सिट खाली हुन्र्छ । 

समितिका सभापति झाले शुक्रबारदेखि एक हप्ता संसद् बैठक स्थगत हुने भएकाले विधेयक पारित गर्न गरेको अनुरोधलाई अस्वीकार गरी सांसदले अध्ययनका लागि थप समय माग गरेका थिए । नेकपा(माओवादी केन्द्र)का निशा साहले अहिले समितिले विधेयक पास गर्नेबित्तिकै सबै समस्या समाधान नहुने भएकाले विस्तृत अध्ययन र छलफल नगरी अघि बढ्न नहुने विचार राखे ।

नेपाली काँग्रेसका मुग्दा यादवले सभापतिले एक हप्ता संसद् बन्द हुने कारण देखाउँदै आजै विधेयक पास गर भन्नु गलत हो भने । नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डेले समितिले चिकित्सा शिक्षा विधेयकमा लामो समय खर्चिएकाले धेरै लम्ब्याउन नहुने धारणा राखे । 

गम्भीर बन्दै प्रा डा केसीको स्वास्थ्य 

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले प्रा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराएकी थिइन्  । उनले भनिन्, “अहिले उहाँको मुटुको चाल बढेको छ । उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ । यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन । मिर्गौलामा समस्या देखिन शुरु भएको छ ।” यस्तै अवस्था बढ्दै गएमा अनशनपछि पनि अपांगताको खतरा रहने उनको भनाइ छ । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै