• २०८१ बैशाख १३ बिहीबार

सप्तरी र सिरहामा पनि मतगणना सुरु

kharibot

सप्तरी/सिरहा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ ।

जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीचको छलफलपछि दिउँसो १ बजेदेखि मतगणना कार्य शुरु भएको प्रजिअ पाण्डेले बताए ।

मतगणना गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भइरहेको छ । साथै, सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । मतगणना कार्य सर्वप्रथम सप्तरी निर्वाचन क्षेत्र नं २ बाट शुरु भएको बताउँदै त्यसपश्चात अन्य निर्वाचन क्षेत्रको पनि शुरु हुने बताइएको छ ।

सप्तरी जिलमा चार प्रतिनिधिसभा र आठ प्रदेशसभाका लागि १५२ उम्मेदवार रहेको बुझिएको छ । सप्तरी जिल्लामा बिहीबार सम्पन्न मतदानमा ६० प्रतिशत मतदान भएको थियो ।

सप्तरी निर्वाचन क्षेत्र नं २ मा संघीय समाजवादी फोरमका उपेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का उमेश यादव र स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा रहेको छ ।

सिरहामा पनि सुरु

यस्तै दोस्रो चरणअन्तर्गत हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना कार्य सिरहामा शुरु भएको छ ।

सदरमुकाम सिरहास्थित चन्द्र माविमा दिउँसोे १२ः३० बाट क्षेत्र नं ३ को मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ वटा निर्वाचन क्षेत्र रहेको सिरहाको अन्य क्षेत्रको मतगणना पनि केही बेरपछि शुरु गरिने तयारी भएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

बिहान ८ बजेबाट नै मतगणना गर्ने तयारी गरिए पनि दलीय प्रतिनिधि ढिलाइ गरी आएकाले मतगणनामा ढिला भएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

सिरहामा प्रतिनिधिसभा सदस्यतर्फ ६१ जना र प्रदेशसभातर्फ १२३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र २ जना तेस्रो लिंगीसमेत गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । हिजो सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै