‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भोट’

खरीबोट

काठमाडौँ । कीर्तिपुर–९ का ८२ वर्षिया प्रेममाया महर्जन खुसी हुँदै मतदान केन्द्रबाट बाहिरिए । ‘पहिलेभन्दा सजिलो लाग्यो, आफैँले भोट हाले मैले त’ उनले भने ।

स्थानीय तहको निर्वाचनमा नातीलाई मतदान गर्न लगाएका महर्जनले यसपटक आफैँ आफ्नो मत आफूलाई मन परेको उम्मेदवारलाई दिए । लाक्षीचोक मतदान केन्द्रमा मतदानपछि उनले भने ‘मेरो आर्शिवाद छ, मेरो भोट खेर नजाओस् ।’

किन सजिलो भयो त यसपटक भन्ने जिज्ञासामा उनले भने ‘भोट दिने कागज सानो रहेछ, चिन्ह पनि सजिलो देखिने ।’

कीर्तिपुर मावि कीर्तिपुर मतदान केन्द्रमा मतदानपछि बाहिरिएका मोहन श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता रहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभामा कम चिह्न भएका कारण पनि सजिलो भएको उनको भनाइ छ ।

समानुपातिकतर्फको मतपत्रमा अशिक्षित मतदातालाई समस्या पर्न सक्ने देखिएपनि अरु मतपत्रमा भने कोही पनि नझुक्किएको उनी बताउन्छन् । मतदान केन्द्रहरुमा मतदाताको उल्लेख्य सहभागिता छ । संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा लिइएको यसपटकको निर्वाचनमा धेरै मतदाताले चासोका साथ सहभागिता जनाएका छन् ।

एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन भएका कारण आफूले मत दिएका उम्मेदवारले जितुन् भन्ने चाहना मतदातामा देखिएको छ । ‘राजनीतिक स्थिरता हुन्छ, आर्थिक समृद्धि हुन्छ, नेपाली जनताले अब भने दुःखका दिन देख्नु र भोग्नु पर्दैन भन्ने थाहा पाएको छु हेरौ कस्तो हुन्छ,’ कीर्तिपुर पाँगा दोबाटोमा रहेको विद्याश्रम मावि मतदान केन्द्रमा लाइनमा बस्ने प्रेम कार्कीले भने, ‘उत्साहपूर्ण रुपले मतदान भइरहेको छ, देखिएको छ ।, लाइन यति लामो छ ।’

सोही मतदान केन्द्र बाहिर मतदातासँग भेटिएका मजदुर किसान पार्टीका काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं १० का उम्मेदवार हरिकुमार महर्जन मतदातामा उल्लेख्य उत्साह आफूले पाएको बताएका छन् ।

‘नयाँ तवरको निर्वाचन भएकाले पनि होला मतदाता उल्लेख्य रुपमा सहभागी भएका छन्, राम्रा एजेण्डा बोकेका उम्मेद्वार विजयी हुन्छन् भन्ने मेरो विश्वास छ’ उनले भने, ‘नेपालको संविधान कार्यान्वयन गर्न यो निर्वाचन महत्वपूर्ण छ ।’

वृद्धवृद्धादेखि अर्धवैशे उमेरका मतदातादेखि पहिलो पटक सहभागि मतदाता उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् । केही मतदाताले त राजनीतिक दलहरुबीच भएको गठबन्धनले समेत सहज बनाएको बताएका छन् ।

स्थानीय तहको निर्वाचनभन्दा मतदान गर्न सजिलो भएको कीर्तिपुर वैष्णवी मावि मतदान केन्द्रमा मत दिएका प्रकाशसिंह महर्जनले बताए । कीर्तिपुर नगरपालिका– ७ वडासदस्य उहाँले मतदाताको उत्साह देख्दा खुसी लागेको बताए ।

काठमाडौँ क्षेत्र नं– ९ कलंकीका सुन्दर शर्माले भने, ‘हामी मतदाताले आफ्नो दायित्व पूरा गरेका छौँ । अब राजनीतिक दलले हामीप्रतिको दायित्व पूरा गरे मुलुक आर्थिक समृद्धिको शिखरमा चढ्न सक्छ ।’

कीर्तिपुरका अर्का मतदाता धर्मेन्द्र बस्नेत विगतका निर्वाचनमा भन्दा सहजरुपमा मतदाता उत्साहित भएर मतदानमा सहभागी भएको बताउन्छन् । ‘स्थानीय तहको निर्वाचनमा मतपत्र पनि ठूलो थियो, धेरैले मत दिन पनि असजिलो भएको गुनासो गरेका थिए । यस पटक सहज देखिएको छ’– उनले भने ।

ललितपुर जावलाखेल मतदान केन्द्रमा पहिलो पटक मतदान गर्न आउनुभएकी सीमा उपाध्याय आफ्नो अधिकार प्रयोग गर्न आएको बताए । उनले भने, ‘मलाई त असाध्यै खुसी लागेको छ । राजनीतिक स्थिरता होस् देशभित्रै रोजगारी पाइयोस् ।’

कीर्तिपुरमा भेटिनुभएका नेकपा माओवादी केन्द्र का तर्फबाट काठमाडौँ क्षेत्र नं १० प्रदेश ‘क’ का उम्मेदवार दिलीप मर्हजन उत्साहपूर्ण तवरले मतदानमा सहभागी भएको र वाम गठबन्धनका पक्षमा उत्साह देखिएको बताए । यो राजनीतिक स्थायित्वतर्फको यात्रामा जनताको सक्रिय सहभागिता भएको उनको भनाइ छ ।

निर्वाचन पर्यवेक्षणमा खटिएका मानवअधिकारवादी नेता पद्यमरत्न तुलाधरले निर्वाचन शान्तिपूर्ण र मर्यादित भएकोमा खुसी व्यक्त गरे । उनले भने , ‘मतदाताको उल्लेख्य सहभागिता रहेको पाइएको छ । एकै वर्षमा तीन तीनवटा निर्वाचन भएपनि जनता सहजरुपमा सहभागी भएका छन् ।’

यस्तै निर्वाचन पर्यवेक्षणमा खटिएका नागरिक समाजका अगुवा वीरेन्द्र मिश्रले मतदाताको उत्साह देख्दा आफूलाई असाध्यै खुसी लागेको बताए । उनले भने, ‘मतदाता निर्भयताका साथ मतदानमा सहभागी भएका छन् ।’

राजधानीका विभिन्न मतदान केन्द्रमा मतदानका लागि लाइनमा लामबद्ध मतदाताले आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिएको बताए । उनीहरुले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मत दिएको समेत प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित समाचार

निर्वाचन ‘अभिमतको क्रान्ति’ : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन् ।  आज बालकोटस्थित आफ्नौ निवासमा अध्यक्ष ओलीलाई

निर्वाचनपछि सेयरबजारमा पहिलोपटक सुधार 

काठमाडौं । नेप्सेमा आज भने सुधार आएको छ । लगातार उच्च अंकले घटेको नेप्से आज बुुधबार भने १० दशमलव ५३ अंकले बढेर १५ सय २० दशमलव ७४ विन्दुमा चढेको छ

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई–

केपी ओलीको जिल्लामा ५ प्रतिशत मत बदर

भद्रपुर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४।७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला