• २०८१ बैशाख १२ बुधबार

यौन उत्पीडनमा परेर मौनता तोड्नेहरु ‘टाइम पर्सन अफ द इयर २०१७’ घोषित 

kharibot

उत्तर अमेरिका । टाइम म्यागजिनले ‘द साइलेन्स ब्रेकर्स’ अर्थात् मौनता तोड्नेहरुलाई यस वर्षको टाइम वर्ष व्यक्ति बनाएको छ । यस वर्ष अमेरिकामा चर्चित फिल्म निर्माता हार्वे वेइनस्टेइनको यौन अत्याचारबारे खुलासा भएपछि उनीबाट पीडित अभिनेत्रीहरुले आफूविरुद्धको अपराधको भण्डाफोर गरेका थिए । 

उक्त भण्डाफोर अभियानकै रुपमा अगाडि बढेपछि यौन उत्पीडनमा परेका महिलाहरुले आफूविरुद्ध दुष्कर्म गरेको भन्दै पत्रकारिता, समाज, राजनीति र फिल्म क्षेत्रका तथाकथित गन्यमान्य पुरुषहरुलाई नंग्याइदिएका थिए । सो क्रम अहिले पनि अमेरिकामा जारी छ । सामाजिक सञ्जालमा मिटु ह्यासट्यागमा यसबारे खुलासाहरु भइरहेका छन् । यस आन्दोलनले चर्चित राजनीतिज्ञ, पत्रकारलाई समेत अप्ठ्यारो बनाएको छ भने कतिपयले जागिरबाट हात नै धुनुपरेको छ । कतिपय थुनामा पर्नुका साथै कतिपय अदालतको तारिख धाउन व्यस्त हुनुपरेको छ । 

प्रसिद्ध टाइम म्यागजिनले २०१७ को टाइम्स वर्षव्यक्तिका १० दाबेदारहरुको नाम सोमबार नै सार्वजनिक गरेको थियो । सन् १९२७ देखि टाइमले हरेक वर्ष पर्सन अफ द इयर भनेर विश्वका चर्चित, शक्तिशाली व्यक्ति, समूहलाई उनीहरुको चर्चाको कारण राम्रो वा नराम्रो जे होस्, वर्षव्यक्ति छनोट गर्दै आएको छ । त्यसो त मिटु ह्यासट्याग दशकअगाडि नै अधिकारवादी ताराना बुर्केले सृजना गरेकी थिइन् । टाइमको सम्पादक एडवार्ड फेल्सेन्थलले बुधबार मौनता तोड्ने अभियन्ताहरुलाई टाइम वर्षव्यक्ति घोषणा गरेका हुन् । 

टाइम म्यागजिनले निम्नलिखित १० नाम टाइम वर्षव्यक्तिका लागि छानेको थियो —

जेफ बेजोस

यी अमेजनका सीईओ यस वर्ष विश्वकै धनी व्यक्ति घोषित भएका थिए ।

द ड्रिमर्स

पढ्न भनेर निश्चित समयावधिको लागि अमेरिका गएका आप्रवासी विद्यार्थीहरुलाई सपनेबाज अर्थात् ड्रिमर्स भनिएको हो । उनीहरु आफ्नो आमाबाबुसँग अमेरिका गए पनि उनीहरुको भविष्य धरापमा परेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन सरकारले पूर्वराष्ट्रपति बाराक ओबामाले ड्रिमर्सका लागि सुरु गरेको डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स प्रोग्राम रद्द गरे उनीहरुको भविष्य धरापमा पर्ने देखिएको छ । केही डेमोक्रेटहरुले गभर्नमेन्ट शटडाउनको धम्की दिँदै वैधानिक ड्रिमर्सको समस्या समाधान गर्न चेतावनी दिँदै आएका छन् ।

प्याट्टी जेन्किन्स

द वन्डर वुमन फिल्मकी निर्देशकले यस वर्ष हलिउडमा तहल्का पिट्दै थुप्रै बक्स अफिस कीर्तिमान तोडेकी छिन् । पहिलो हप्तामा नै कुनै महिला निर्देशकले निर्देशन गरेको फिल्मले एक सय मिलियन डलरको कमाइ गर्न सफल भएपछि उनको चर्चा चुलिएको हो ।

किम जोंग उन

कम्युनिष्ट देश उत्तर कोरियाका तानाशाह भनेर चिनिने उनकै कारण विश्वमा आणविक युद्धको भय फैलिएको छ । आफू सत्तामा आएपछि यिनको पुर्खामा कसैले नगरेको एकपछि अर्को आणविक परीक्षणले अमेरिका र उत्तर कोरिया युद्धको करिब करिब नजिक पुगेका छन् भने छिमेकी देशलाई समेत चिन्ता बढाएको छ ।

कोलिन काइपर्निक

अमेरिकी यी खेलाडी खेल्नुअघि बज्ने राष्ट्रगानका बेला घुँडा मारेर रंगभेदी असमानताको विरोध गरेकै कारण चर्चामा छन् । यिनले सुरु गरेको यो अभ्यास वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पको सत्तागमनपछि अन्य खेलाडीले पनि सुरु गरेका छन् । सोही मुद्दालाई लिएर ट्रम्पले खेलाडीको तीव्र विरोध गर्दै अमेरिकाविरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै आएका छन् ।

#metoo मुभमेन्ट (विजेता)

यौनिक आक्रमण (सेक्सुअल ह्यारासमेन्ट)को विरोधले यतिखेर अमेरिका हल्लिएको छ । हलिउड उद्योगमा फिल्म निर्माता हार्वे वेइनस्टेइनको कर्तुत मिडियामा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिटु मुभमेन्ट ह्यासट्याग भएर चर्चित बनेको हो । हलिउडका अन्य सेलिब्रेटी महिला अभिनेत्रीले समेत यसपछि अन्य प्रतिष्ठित व्यक्तिहरुले आफूमाथि यौनिक आक्रमण गरेको आरोप लगाउँदै मिडियामा एक पछि अर्को गरी सार्वजनिक गर्नथालेका छन् । अहिले पनि यो क्रम जारी छ । हलिउडबाट सल्किएको यो लुकेको अपराध अब अमेरिकी मिडियामा पनि पुगेको छ । धेरै पत्रकारहरुले यौनिक आक्रमण गरेको आरोपपछि राजीनामा दिने र बर्खास्तीमा पर्ने क्रम सुरु भएको छ । यसबाहेक अमेरिकी राजनीतिज्ञहरुमाथि पनि मिटु मुभमेन्ट पुगिसकेको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलाम

३२ वर्षका यी राजकुमारले भ्रष्टाचार गरेको भन्दै राजपरिवारकै सदस्यलाई नजरबन्दमा हालिदिएका छन् । साउदी अरबमा उनी एकाएक सक्रिय भएपछि विश्वव्यापी रुपमा उनको चर्चा बढेको छ । 

डोनाल्ड ट्रम्प

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प २०१६ को वर्षव्यक्ति समेत हुन् । उनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल बिताएका छन् भने चुनावमा रसियाले हस्तक्षेप गरी उनलाई जिताएको भनी विपक्षीले आरोप लगाउँदै आएका छन् । यसबाहेक उनले पूर्वराष्ट्रपतिले गरेका हरेक काम उल्ट्याउनेदेखि विभिन्न देशसँगको व्यापार सम्झौता तोड्ने, जलवायु परिवर्तनसम्बन्धी पेरिससम्झौताबाट हात झिक्नेलगायतका राष्ट्रसंघीय सम्झौतासमेत तोडेका कारण उनको खास चर्चा छ ।

सि जिनपिंग

यी हुन् चीनका राष्ट्रपति । आफ्नो पहिलो पाँच वर्षे कार्यकालले यिनलाई चर्चाको शिखरमा पुर्याएको छ । सत्तामा रहँदा राम्रो गरेकै कारण यिनको सि जिनपिंगवादलाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर माओत्सेतुंगपछि दोस्रो नम्बरमा राखेपछि राष्ट्रपति सी अहिले चर्चित बनेका छन् ।

रोबर्ट म्युलर

अमेरिकामा अहिले यिनैको चर्चा छ । राष्ट्रपति ट्रम्प शक्तिशाली भए पनि गत वर्षको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरी ट्रम्पलाई जिताएको विपक्षीको आरोपपछि ट्रम्प एडमिनिस्ट्रेसनले नै विशेष अनुसन्धान आयोग बनाएको थियो र त्यसैका नेतृत्वकर्ता हुन् म्युलर । उनले ट्रम्प टिम र रुसका पदाधिकारीको मिलेमतोको सूक्ष्म अनुसन्धान गरिरहेका छन् भने ट्रम्पका निकटवर्तीहरु उनको निशानामा पर्ने देखिएको कारण यिनको चर्चा चुलिएको हो ।

उक्त १० मध्ये मिटु अभियानले टाइम वर्षव्यक्ति हुने अवसर पाएको हो । यो अहिले सामान्य आन्दोलनमात्र नभई महिलावादी आन्दोलन पनि हो, यसले लैंगिक असमानता, विभेद र महिलाविरोधी अत्याचारको भण्डाफोर गरिरहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै