• २०८१ बैशाख १३ बिहीबार

सप्तरीको खाँडोमा बाढी एक बेपत्ता, बाँध कटान तीव्र

kharibot

सप्तरीको खाँडो खोलामा बिहीबार आएको बाढीले राजविराज नगरपालिका–१० बिरौलमा निर्मित बाँध कटान गर्दै । तस्बिर : अरुणकुमार यादव,रासस

राजविराज ।  पूर्वी पहाडी जिल्लामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आज आएको बाढीले राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा निर्माण गरिएको बाँध कटान गरेको छ । यसै वर्ष खाँडो खोला आयोजनाद्वारा सो बाँध निर्माण गरिएको हो । 

यसैबीच आज आएको बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बासिन्दा बेपत्ता भएको प्रहरीले जनाएको छ । देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणमा प्रहरी र नेपाली सेनासँगै लागेका स्थानीयवासी ६० वर्षीय डोमी यादव बाँधको ढिस्कोमा पुरिएर बेपत्ता भएका हुन् । उनी खोलामा बेपत्ता रहेकाले सेना, प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको छ । 

राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा बाढीले आज बाँध भत्काएको छ । खाँडो खोलाको बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर बस्तीमा पस्ने डरले स्थानीयवासी त्रस्त भएका छन् । स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् भने बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीशिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनीया, तिलाठी लगायतका गाउँ डुबान पर्ने खतरामा रहेको छ । 

त्यसैगरी, मोहुली खोलामा समेत बाढी आएका कारण स्थानीय बासिन्दा चिन्तित भएका छन् । यसैबीच, कोशी नदीमा आएको बाढीका कारण पानीको बहाव तीव्र भएपछि कोशी ब्यारेजमा रहेको ५७ वटा ढोकामध्ये ३० वटा खुला गरिएको छ । कोशी नदी नजिकै रहेको सुनसरीको हुपुर, श्रीपुर, पश्चिम कुशाहा लगायतका ग्रामीण क्षेत्र जलमग्न भएको छ । पूर्व–पश्चिम राजमार्गको सडक छेउमा समेत पानी पसेको स्थानीय बासिन्दाले जनाएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै