• २०८१ बैशाख ७ शुक्रबार

नेइमारले बार्सिलोना छोडेपछि स्वरेजको प्रदर्शन खस्कियो !

kharibot

काठमाडौं । बार्सिलोनाका उरुग्वियन स्ट्राइकर लुइस स्वरेज यस सिजनमा गरिरहेको संघर्षका कारण क्लबलाई असर पर्न थालेको छ । 

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका स्वरेजले तीन सिजनमा पहिलो पटक गोल गर्न संघर्ष गरिरहेको पाइएको छ ।

अघिल्ला तीन सिजनमा स्वरेजको प्रदर्शन उत्कृष्ट रहेको थियो । बार्सिलोना आएको पहिलो सिजनमा स्वरेजले बार्सिलोनाका लागि ला लिगामा २७ खेल खेल्दै १६ गोल गरेका थिए भने दोस्रो सिजनमा ३५ खेलमा ४० गोल गरेका थिए । त्यस्तै अघिल्लो सिजनमा पनि ३५ खेल खेल्दै २९ गोल गरेका थिए । यस सिजनमा स्वरेजको प्रदर्शन हेर्ने हो भने उनले बार्सिलोनाका लागि ११ खेल खेल्दै ६ गोल गरेका छन् । 

अझ ला लिगा बाहेकका अन्य ७ खेलमा यस सिजनमा स्वरेजले गोल गर्न सकेका छैनन् । यसरी यस सिजनमा स्वरेजले बार्सिलोनाका लागि खेलेका कुल १८ खेलमा केबल ला लिगाका ६ गोल मात्र छन् ।

अहिले नेइमारले बार्सिलोना छोडेपछि स्वरेजको प्रदर्शन खस्किएको अनुमान गर्न थालिएको छ । नेइमार हुँदा स्वरेजको गोल औसत प्रति खेल एक गोलको थियो तर नेइमार बिना स्वरेजको औसत गोल प्रति खेल ०.५४ रहेको छ । जबकी अघिल्ला सिजनमा यो औसत लगभग हरेक खेलमा एक गोलको रहेको थियो । यस सिजनमा स्वरेजले गरेको गोल हेर्दा स्वरेजले ६ गोलका लागि ४० सट हानेका छन् । 

स्वरेजको अर्को समस्या मेसी खेल्ने ठाउको पनि देखिएको छ । मेसी यस सिजनमा धेरै जसो सेन्ट्रल पोजिशनमा खेलेको देखिएको छ जबकी यस अघि स्वरेज खेलेको देखिन्थ्यो । स्वरेजका लागि बार्सिलोनामा अब नयाँ पोजिशनबाट खेल्न र त्यँहाबाट रिजल्ट निकाल्न मुस्किल भइरहेको देखिएको छ । 

स्वरेजको घुडाको इन्जुरिले उनको खेलमा अवस्य असर गरेको छ तर नेइमारको अनुपस्थितिमा उनले गर्ने गोलमा कमि आएको भने प्रष्ट देखिएको छ । 

मेसी अहिले ला लिगामा शिर्ष गोलकर्ता रहेका छन् तर स्वरेज भने नेइमारको अनुपस्थितिबाट सबैभन्दा बढी असर पुगेका पिडित जस्तो देखिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै