भुटनीदेवी खवास : जमिनदारकी छोरी, प्रधानपञ्चकी बुहारीदेखि सांसद्सम्म

खरीबोट

भुटनीदेवी खवास

काठमाडौँ  ।  २०२४ सालमा मोरङ जिल्लामा जन्मिएकी भोटेनीदेवी खवास बाबुआमाकी जेठी छोरी हुन् । चार भाइ, तीन दिदीबहिनी, बाबुआमा र हजुरबा आमासहितको ठूलो परिवारमा जन्मिएकी भुटनीदेवीले जीवनमा धेरै संघर्ष गर्दै आएकी छिन् । 

त्यतिबेलाको समयमा चौधरी समुदायमा जन्मिई, हुर्किई राजनीति गरेर सभासद् बन्दासम्म उनको जीवनमा धेरै दुःखका क्षण आएका छन् । छोरी मान्छेले खाने, लाउने, बोल्नेजस्ता सामान्य कुरामा समेत रोक लगाउने त्यो समयमा टोलमै आफूले ७ कक्षा सम्म पढेको र पछि १० सम्मको पढाइ प्राइभेट (निजी) विद्यालयबाट पढेकी भोटेनीदेवी भन्छिन्, ‘आफूलाई मनमा लागेका सामान्य कुराहरु भन्न त डराउनुपर्ने त्यो समयमा पढ्ने, लेख्ने कुरा त धेरै बाहिरको थियो तर मैले थोरै भए पनि पढ्न पाए यही नै ठूलो कुरा हो ।’ त्यति बेलाको समयमा बाबु जमिनदार भएकै कारण थोरै भए पनि आफुले पढ्न पाएकोमा उनी खुसी छिन् ।

घरनजिकैको स्कुलमा ७ कक्षासम्मको अध्ययन गरेकी भोटेनीदेवी आर्थिक अवस्था सुरुमा राम्रै भए पनि बाबु तथा काकाहरु छुट्टिएपछि भने उनको परिवारको आर्थिक अवस्था कमजोर हुनथाल्यो । अरुका छोरीहरु पढ्न नजाने तर आफू मात्र पढ्न जाने गरेकाले वरिपरिमा छिमेकीहरुले धेरै कुरा काटेको उनी सम्झिन्छिन् । भन्छिन्, ‘ठूली भ’की छोरी पढाउन थालेको भन्दै गाउँलेले कुरा काटेपछि मैले पनि पढ्न छोडिदिएँ ।’ सानै उमेरमा विवाह गर्ने चलन रहेकाले सबैको सानैमा विवाह हुन्थ्यो त्यतिबेला । उतिबेला थोरै भए पनि पढ्न पाएकोमा सन्तुष्ट छिन् भोटेनीदेवी । विशेष गरी महिलाहरुका लागि साँच्चै कठिन समय थियो त्यो । केटाहरुले जस्तो स्वतन्त्रता केटीहरुले पाउँदैनथे । ७ कक्षा पढेपछि विवाह बन्धनमा बाँधिएकी भोटेनीदेवीले १० कक्षासम्म विवाहपछि नै प्राइभेटमा पढिन् रे !

ससुरा प्रधानपञ्च भए पनि उनले घरमा खासै स्वतन्त्रता अनुभव नगरेको सुनाइन् । तर उनी आफू ७ कक्षा पढेकै कारण ससुराले खोलेको सानो किसानको समूहको अगुवा बन्न भने पाइन् । बोल्ने खालको मान्छे अरु नभएकाले मात्रै उनलाई अघि सारिएको थियो । ‘७ कक्षा पढेकै थिएँ, सक्छुजस्तो पनि लाग्यो’, त्यतिबेलाको आत्मविश्वासबारे भोटेनीदेवीले भनिन्, ‘जुन मेरो जीवनकै टर्निङ प्वाइन्ट बन्यो ।’ यही सहभागिताबाट नेपाली राजनीतिमा भुटनीदेवी जोडिनपुगिन् । फलतः यसमा उनले सफलता पनि पाउँदै गइन् र उनी दुई पटकसम्म सांसद्जस्तो गरिमामय पदमा पुग्न सफल भइन् ।

२०३६ सालदेखि नेपाली कांग्रेसमा लागेकी उनी विस्तारै साना किसानको सदस्यदेखि महिला संघ, जिल्ला सदस्य हुँदै अहिले दुईपटक सांसद् समेत बनिसकेकी छिन् । यो सफलता पाउन उनले धेरै संघर्ष गर्नुपरेको छ । तीन सन्तानकी आमा साना बच्चाबच्ची छोडेर समिति गठन गर्न जाँदा उनलाई सुरु सुरुमा ठूलो समस्या परेको थियो । श्रीमान् र ससुरा उनको राजनीतिक करियरको सहयोगी बने पनि सासू र अन्य  पारिवारिक सदस्यको सहयोग भने उनले पाइनन् । सोही कारण साना छोराछोरी छोडेर दिनभरि हिँड्ने, घरमा केही काम नगर्ने भन्दै उनले धेरै गाली पनि खानुपरेको तीतो अनुभव सुनाइन् ।

उनले भनिन्, ‘त्यो उमेरै त्यस्तै हो कि मलाई छोराछोरी छोडेर हिँडेँ, समय दिन सकिनँ भन्नेमा कुनै पछूतो थिएन ।’ तर अहिले भने ती दिन सम्झिँदा उनलाई कहिलेकाहीँ दुःख लाग्छ । आफ्नो व्यस्तता भएको त्यो समयमा छोराको खुट्टामा निस्केको सानो घाउको समयमै उपचार गर्न नसक्दा हालसम्म पनि छोराको खुट्टा राम्रो नभएकोमा पछुतो लागेको उनी सुनाउँछिन् । भन्छिन्, ‘यदि समय दिनसकेको भए, छोरोको खुट्टा ठीक हुन्थ्यो होला तर समय दिन सकिनँ अहिले धेरै चिन्ता लागेको छ ।’

माइत र घरमा आर्थिक अवस्था राम्रै भए पनि उनको व्यक्तिगत जीवन दुःखपूर्ण थियो ।  वर्षमा जम्मा दुईवटा सारीमात्र लाएर वर्ष कटाएको अनुभव उनीसँग छ । त्यसो त उनका छोराछोरीले समेत राम्रो लाउन र मिठो खान नपाएको उनको भनाइ छ । यी कुरा सुनाइरहँदा भुटनीदेवीको आँखा रसाउन पुगे । सानो आवाजमा भनिन्, ‘दुःखै दुःखमा बित्यो जिन्दगी !’

२०६२÷०६३ सालको जनआन्दोलनमा जेल जीवन समेत बिताएकी उनी २०६४ मा संविधानसभाको पहिलो निर्वाचनमा सांसद् बनिन् । पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि पुनः दोस्रो पटक ०७० सालमा भएको चुनावपछि भुटनीदेवीले फेरि एकचोटि सांसद बन्ने सौभाग्य पाइन् । यसबाट निकै खुसी भएकी भोटेनीदेवीलाई पार्टीले खट्ने कार्यकर्ताको मनोभाव बुझेको महसुस भएको बताइन् । उनले राजनीतिमा खटेको राम्ररी देखेका उनका छोराछोरी भने आमाको हालत देखेर राजनीतिमा नलाग्ने बताउने गरेका छन् ।

भावी योजना

लामो समय आफू भोकै बसेर पनि पार्टीको लागि उनले काम गरिन् । पार्टीले मूल्याङ्कन पनि गरेको बताउने उनी अब देश र जनताका लागि पनि केही गर्नुपर्ने सोच पलाएको बताउँछिन् । उनलाई विशेषतः समाजमा पछाडि परेका महिलाहरुको आर्थिक अवस्था सुधार्नेतिर काम गर्ने रहर छ । महिलाहरु माथि उठ्न उनीहरुको आर्थिक अवस्था नै बलियो हुनुपर्ने देखेकी उनले महिलाहरुलाई सीपमूलक तालिमअन्तर्गत, मुडा, स्विटर, झोलुङ्गो, झोला, तन्ना, सिरानी बुन्ने, प्राङ्गारिक मल बनाउने लगायतका सीप सिकाउने तथा रेडक्रसको सहयोगमा खसी, कुखुरा पालनजस्ता आयआर्जनका काममा सघाएकी छिन् ।

आफ्नो तर्फबाट गरेको सहयोगले गाउँका महिलाहरुको आर्थिक उन्नति भएको उनले बताइन् । यसकै लागि उनले गाउँबासीबाट धन्यवाद समेत पाएकी छिन् ।  समाजमा बेरोजगारी बढ्दै गएकाले आफूले सधैँ रोजगारी कसरी दिन सकिन्छ भन्ने कुरामा चासो राख्ने गरेको उनको भनाइ छ । महिलालाई विशेष सीप तथा रोजगारी दिनसके लैङ्गिक विभेद समेत हट्ने उनको विश्वास छ ।

तलबबाटै धेरै काम गरे

दुई पटक सांसद् भइसकेकी भोटेनीदेवीले आफ्नै तलबले समाजमा धेरै काम गरेकी छिन् । मसानघाटदेखि स्कुलसम्म बनाउन उनले आफ्नो तलब नै खर्च गरेकी छिन् । सांसद् कोषबाट पाउने रकमको सहयोगले महिला सञ्जालको काम गर्ने, आफ्नो ठाउँको बाटो तथा पुल बनाउन पहल गर्ने र सिँचाइको लागि काम गर्ने उनको सोच छ । लामो समयदेखि पैनीले गरेको कटान व्यवस्थित गर्र्र्ने समेत उनको इच्छा छ । आफैँले पढेको स्कुलमा भवन, पुस्तकालय भवन बनाउने जस्ता निर्माणमा उनले व्यक्तिगत रुपमै पनि धेरै सहयोग गरेकी छिन् ।    

रुचि

विवाह गरेकै ताका श्रीमानसँग फिल्म हेर्न जाने गरेकी उनले लामो समय भइसकेको छ फिल्म हेर्न छोडेको । उनलाई राष्टप्रेमले ओतपोत नारायण गोपालका गीतहरु मन पर्ने गरेको सुनाइन् । भन्छिन्, ‘मलाई नारायण गोपालका राष्ट्रप्रेमी गीत साह्रै मन पर्छ ।’

दुःख पाइन् तर हरेस खाइनन्

जीवनमा धेरै दुःख पाए पनि भोटेनीदेवीले कहिल्यै हरेस खाइनन् । यहाँसम्म आइपुग्नुको रहस्य पनि यही नै हो । तर उनलाई दुःखले भने जहिल्यै पछ्याइरह्यो । जब उनको श्रीमानलाई क्यान्सरले यो संसार अनि उनको साथबाट लग्यो, त्यसले उनको मनमुटुमा अमिट चोट पुर्याएको छ ।

(खरीबोट डटकमका लागि कविता घिमिरेले मोरङबाट कांग्रेसको प्रतिनिधित्व गरेकी सांसद भोटेनीदेवीखवाससंग गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

भुटनीदेवी खवास : जमिनदारकी छोरी, प्रधानपञ्चकी बुहारीदेखि सांसद्सम्म

काठमाडौँ  ।  २०२४ सालमा मोरङ जिल्लामा जन्मिएकी भोटेनीदेवी खवास बाबुआमाकी जेठी छोरी हुन् । चार भाइ, तीन दिदीबहिनी, बाबुआमा र हजुरबा आमासहितको ठूलो परिवारमा जन्मिएकी भुटनीदेवीले जीवनमा धेरै संघर्ष गर्दै