• २०८१ बैशाख ८ शनिबार

बैतडीका १० वटै स्थानीय तहमा अत्यधिक मदिरा कारोबार, महिला असुरक्षित

kharibot

बैतडी / बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ ।

महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताए ।

आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि समाजमा काम गर्न समस्या भएको उनले बताए । शिवनाथका महिला रक्सीका कारण निकै पीडत बनेकाले उनीहरुको आवाज सुन्दै मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्दा परेको उनले बताए ।

“समाजमा राम्रो काम गर्न निकै चुनौती रहेछ,” उनले भने, “दिनभरि महिला बारीको काममा व्यस्त भए पनि साँझ घरमा ढुक्कसँग बस्न पाएका छैनन् ।” ग्रामीण भेगका महिलाले आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उनले बताए ।

सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्द मदिराका कारण महिलाले निकै कष्ट खेपिरहेको बताए  । मदिराका कारण महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले उनीहरुले नै अभियान सञ्चालन गरेको उनले बताए ।

“महिला आफैँ मदिरा बन्द गर्न आन्दोलनमा उत्रिएका छन्,” उनले भने ।

डिलासैनी, सुर्नयाँ गाउँपालिकालगायत जिल्लाका अन्य स्थानीय तहमा समेत मदिराका कारण महिला हिंसामा परेका छन् । “महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेको छैन,” दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वर्ती कार्कीले भने । महिलामाथि हुने हिंसामा अझै कमी आउन नसकेको उनले भने ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुंग्याउने गरिएको छ । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका ८० भन्दा बढी मुद्दा दर्ता भएको भए पनि सबै मिलापत्रमा टुंगिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै