• २०८१ बैशाख १२ बुधबार

पहिरो र बाढीपीडित अन्धकारमा

kharibot

बाबियाचौर, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बाढी र २ बँैसरीका पहिरोपीडित बस्दै आएको टहरामा विद्युत् सुविधा नभएपछि अन्धकारमा रात कटाउन बाध्य भएका छन् । 

टहरामा विद्युत् र खानेपानीको प्रमुख समस्या छ । विद्युत् सुविधा नहुँदा छिमेकी गाउँमा गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता छ । दाताले टहरामा जडान गरेको सोलार टुकीले काम गर्न छाडेपछि उनीहरु मट्टितेलको टुकीको भरमा रात कटाउन बाध्य भएका छन् । 

खानेपानी र विद्युत् अभावमा दैनिक जीवनयापन कष्टकर बनेको पहिरोपीडित भेमबहादुर गर्बुजाले बताउनुभयो । विसं २०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले भगवतीको बैँसरी गाउँ पुरिँदा २७ परिवार घरबारविहीन भएका थिए । 

यसैगरी २०७३ साल भदौ १७ गते राति बेगखोलामा आएको बाढीले बस्ती बगाएपछि ११ घर विस्थापित भएका थिए । टहरामा बस्दै आएका पहिरो र बाढीपीडितले स्थायी बसोबासको व्यवस्था मिलाउन माग गर्दै आएका छन् । बँैसरीको घर पुरिएपछि पिप्लेको राहुपारेस्थित बेनी–जोमसोम सडकको छेउमा रहेको सामूहिक टहरामा सात घरपरिवार पहिरोपीडित बस्दै आएका छन् । चार घरपरिवार पहिरोले पुरिएको पुरानै ठाउँमा अस्थायी टहरा बनाएर बसेका छन् । केही बेनी, पोखरा गएर कोठा भाडा लिएर बसेका छन् । 

अन्य ठाउँमा घरजग्गा नभएका पीडितलाई अहिले बसोबास गरेकै अथवा नयाँ उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । बेगखोलाको बाढीले बसोबास गर्दै आएको घरजग्गा बगाएपछि त्यहाँका ११ परिवार स्थानीय एक व्यक्तिको पाखो जग्गामा पालको टहरा हालेर बसेका छन् । 

तत्कालीन अवस्थामा प्रशासन, रेडक्रस र विभिन्न संघसंस्थाले आकस्मिक राहत सामग्री उपलब्ध गराए पनि त्यसपछि कसैले वास्ता नगरेका बाढीपीडित अतिमाया बुढाथोकीले बताउनुभयो । उनीहरुको बसोबासका लागि बेगखोला कल्याणकारी समाज बेलायतले नगदसमेत जुटाएको भए पनि जग्गा अभावमा काम अघि बढ्न सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै